लोकसेवा आयोगका अध्यक्ष भट्टराईले सपथ लिए

राजनीति साउन २८ २०७६ ekhabarnepal
1565697856loksewa

बुटवल, साउन २८

प्रदेश नंं ५ को लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष प्राध्यापक डिलाराम भट्टराईले पद तथा गोपनियताको सपथ लिएका छन् । 
अध्यक्ष भट्टराईलाई प्रदेश प्रमुख उमाकान्त झाको कार्यालयमा उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधिश रमेश पोखरेलले मंगलबार सपथ ग्रहण गराएका हुन् ।


भट्टराईलाई गत साउन २३ गते प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरेका थिए । 
लोकसेवा आयोगका तीन सदस्य पदाधिकारीमध्ये अध्यक्षलाई मुख्यमन्त्री नेतृत्वको समितिले सिफारिस गर्ने व्यवस्था छ । मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्षी दलको नेता रहेको समितिको सिफारिसमा प्रदेश प्रमुख झाले भट्टराईलाई आयोगको अध्यक्षमा नियुक्त गरेका थिए ।
अर्घाखांचीको सन्धिखर्क नगरपालिका वडा नं. १० का स्थायी बासिन्दा भट्टराई महेन्द्र बहुमुखी क्याम्पस दाङका गणित विभागका प्रमुख थिए ।


सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख झा, मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश सभाका सभामुख पूर्ण बहादुर घर्ति सहित प्रदेशका सबै मन्त्री, प्रदेशका प्रमुख सचिव, योजना आयोगका पदाधिकारीहरु, प्रदेश मन्त्रालयका सचिवहरु सहित उच्च अधिकारी तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


लोकसेवा गठनसँगै प्रदेश ५ मा कर्मचारी नियुक्तीको बाटो खुलेको छ । प्रदेशमा करिब १ हजार ५ सय दरबन्दी खाली रहेको छ । आवश्यक पदहरुमा केही महिनाभित्रै लोकसेवाले विज्ञापन खुलाउने जनाएको छ ।


यस्तै लोकसेवा आयोगको मुख्य कार्यालय बुटवलमै राख्ने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको छ । आयोगको कार्यालय मन्त्रीपरिषद् बैठकले तोक्ने व्यवस्था अनुरुप मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले हाटबजारस्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयकै छेउमा रहेको भवनमा लोकसेवा आयोगको कार्यालय तोकेको हो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top