पाकिस्तानले कालो दिन मनाउने,द्विपक्षीय व्यापारिक सम्बन्ध तोड्ने र सेनालाई सतर्क रहन आग्रह

विश्व साउन २३ २०७६ ekhabarnepal
Downgrading of diplomatic relations with india


भारतले जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा र स्वायत्तता प्रदान गरेको संविधानको धारा ३७० निष्प्रभावी घोषित गरेसँगै पाकिस्तान रुष्ट देखिएको छ ।

तनावमा रहँदै आएको भारत–पाकिस्तान सम्बन्धमा यसले गम्भीर असर पर्ने देखिएको छ । र यसको प्रमाण पनि आइसकेका छन् । पाकिस्तानले भारतसँगको कूटनीतिक सम्बन्ध सीमित गर्ने तथा द्विपक्षीय व्यापारिक सम्बन्ध तोड्ने घोषणा गरेको छ ।

प्रधानमन्त्री इमरान खानको अध्यक्षमा बसेको पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिको बैठकले भारतसँगको द्विपक्षीय व्यापार सम्झौता रद्द गर्ने घोषणा गरेको हो । सो बैठकमा प्रधानमन्त्री खानसहित विदेश मन्त्री, रक्षा मन्त्री, गृह मन्त्री तथा सेना र गुप्तचर नियकाका अधिकारी सामेल थिए।

पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले बैठकपछि जारी गरेको वक्तव्यमा भनिएको छ, ‘बैठकमा कश्मीरको स्वायत्तताका विषयमा भारत सरकारका तर्फबाट एकतर्फी तथा गैरकानूनी रुपमा गरिएको घोषणाको विषयमा छलफल भयो ।’

बैठकमा भारत प्रशासित जम्मू–कश्मीर तथा नियन्त्रण रेखाको अवस्था बारे पनि छलफल भएको जनाइएको छ । यहि बैठकले भारतसँगको राजनीतिक सम्बन्ध सीमित गर्ने र व्यापार सम्बन्धी निलम्बित गर्ने निर्णय लिएको हो ।

पाकिस्तानले दिल्लीमा रहेका आफ्ना राजदूतलाई चाँडै फिर्ता बोलाउने जनाएको छ । यस्तै इस्लामावादमा रहेका भारतीय राजदूतलाई पनि चाँडै फिर्ता जान भनिने सरकारी अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानले कश्मीरको विषय संयुक्त राष्ट्रसंघ तथा राष्ट्रसंघीय सुरक्षा परिषदमा उठाउने निर्णय पनि गरेको छ ।

पाकिस्तानको स्वतन्त्रता दिवस अगस्ट १४ का दिन कश्मीरीका साथ एकता प्रदर्शन गर्ने र भारतको स्वतन्त्रता दिवस अर्थात अगस्ट १५ लाई कालो दिनका रुपमा मनाउने निर्णय पनि बैठकले गरेको छ।

प्रधानमन्त्री इमरान खानले मानवअधिकार उल्लंघनका सम्बन्धमा भारतविरुद्ध सबै कूटनीतिक सम्बन्धहरुको प्रयोग गर्न निर्देशन दिएको पनि जनाइएको छ । प्रधानमन्त्री खानले सेनालाई सतर्क रहन भनेका छन् ।

पाकिस्तानका दुवै सदनको संयुक्त सत्रमा बुधबार भारतले संविधानको धारा ३७० निष्प्रभावी घोषित गरेको प्रति निन्दा गरिएको थियो ।

पाकिस्तानले भारतीय विमान तथा भारत आउने विमानका लागि आफ्नो एक हवाई मार्ग पनि बन्द गरेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top