सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या दीर्घकालीन रुपमै समाधान हुन्छ ः महासचिब पौडेल

राजनीति साउन २२ २०७६ ekhabarnepal
67751574 867800513585191 510516881002594304 n


बुटवल, साउन २२ । बुटवल उपमहानगरपालिका वडा नम्बर २ मा नमुना वडा कार्यालय भवन निर्माण भएको छ । एक करोड ४० लाखमा निर्मित भवनको प्रतिनिधिसभा सदस्य तथा पूर्व अर्थमन्त्री एवं नेकपा महासचिव विष्णुप्रसाद पौडेलले एक समारोह बीच बुधबार उद्घाटन गर्नुभयो । तीन तलाको व्यवस्थित यो भवन प्रदेशकै नमुना रहेको बताइएको छ । 
भवनको उद्घाटन गर्दै प्रतिनिधिसभाका सांसद तथा पूर्व अर्थमन्त्री पौडेलले संघीयताको कार्यान्वयनलाई प्रभावकारी बनाउने काममा जनताको पहिलो र आधारभूत सरकारका रुपमा रहेको स्थानीय तहले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । 
सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्यालाई दीर्घकालीन रुपमै समाधान गर्नेगरी काम भइरहेको उल्लेख गर्दै नेता पौडेलले कानुन र विधि बनाउने काम तीव्र भइरहेको बताउनुभयो ।
कोदाले र बिटौरी जग्गाका विषयमा रहेको समस्यालाई पहिले समाधान गर्नुपर्ने भन्दै वडाका केही नागरिक अगुवाहरुले ध्यानाकर्षण गराएपछि नेता पौडेलले उक्त समस्याको समाधानको काम अगाडि बढिसकेको र केही समयमा नै समाधान हुने प्रष्ट पार्नुभयो । 
सेवाग्राहीलाई सहज र छरितो सेवा प्रवाह गर्न आग्रह गर्दै उहाँले सुहासनको असली अनुभूति हुनेगरी काम गर्न स्थानीय तहका सबै जनप्रतिनिधिलाई निर्देशन दिनुभयो । बुटवलको विकासका लागि आफु केन्द्रित रहेको उल्लेख गर्दै उहाँले सबैलाई न्याय र सुशासनको अनुभुति गराउने गरी तीनै तहका सरकारले समन्वयमा काम गर्ने पनि उल्लेख गर्नुभयो । 
प्रदेश सांसद तथा पूर्व नगर प्रमुख भोजप्रसाद श्रेष्ठले मानव सेवा आश्रम सञ्चालन, ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना र सञ्चालन, मेयर युवा इलम कार्यक्रम, उपप्रमुख महिला उद्यमशिलता विकास कार्यक्रम देखि पूर्वाधार विकासका क्षेत्रमा बुटवल उपमहानगरपालिकाले नमुना काम गरिरहेको भन्दै प्रशंसा गर्नुभयो । उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बुटवलको विकासका लागि प्राथमिकताका आधारमा योजना छनौट गरिएको र सोही अनुरुप विकास निर्माणका कामहरु अगाडि बढाइएको बताउनुभयो । 
उहाँले सेवाग्राहीलाई सहज र छरितो सेवा प्रवाह गर्नकै सबै वडाहरुलाई व्यवस्थित गर्न लागिएको बताउनुभयो । 
कार्यक्रममा समाजसेवी महेश्वरप्रसाद श्रेष्ठ, ज्येष्ठ नागरिक मञ्चका चन्द्रप्रसाद पन्थीलगायतले ज्येष्ठ नागरिकको सम्मान गरेर बुटवलले हौसला बढाएको बताउनुभयो ।
 वडा अध्यक्ष रमेश नेपालको सञ्चालनमा भएको कार्यक्रममा वडा समितिका सदस्य खगिसरा गुरुङले स्वागत गर्नुभएको थियो । 
ज्येष्ठ नागरिक मिलन केन्द्रको शिलन्यास


यसैबीच बुटवल उपमहानगरपालिकाको सोही वडामा ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना हुने भएको छ । मिलन केन्द्रको नयाँ बन्ने भवनको प्रतिनिधिसभा सदस्य तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलन्यास गर्नुभयो । करिब २० लाखको लागतमा बन्न लागेको भवन त्यस वडाका ज्येष्ठ नागरिकहरुका लागि उपयोगी हुने अपेक्षा गरिएको उपप्रमुख गुमादेवी आचार्यले बताउनुभयो । 
बुटवल उपमहानगरपालिकाले नगरका सबै १९ वटै वडाहरुमा ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालन गर्ने र त्यहाँ ज्येष्ठ नागरिकको अनुभव आदान–प्रदानका साथै नियमित स्वास्थ्य चेकजाँच गर्ने सम्मको व्यवस्था मिलाउन लागेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो । 
 

प्राप्त प्रतिकृयाहरू

To Top