जम्मुकश्मिरलाई दिइएको विशेष राज्यको मान्यता खारेज, ठूला नेता नजरबन्दमा

विश्व साउन २० २०७६ ekhabarnepal
Bharat

नयाँदिल्ली,साउन २० । भारत सरकारले उत्तरी राज्य जम्मुकश्मिरले पाउँदै आएको विशेष राज्यको मान्यतालाई खारेज गर्ने निर्णय गरेको छ । भारत शासित जम्मुकश्मिरमा राजनीतिक संकट गहिरिँदै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदी निवासमा आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

नेसनल कन्फरेन्सका नेता उमर अब्दुल्ला, पीडीपी अध्यक्ष मेहबुबा मुफ्ती र जम्मु कास्मिर पिपल्स कन्फरेन्सका अध्यक्ष सज्जाद लोनलाई उनीहरूकै घरमा नजरबन्द गरिएको हो।

आइतबर राति नाटकीय रूपमा घटनाक्रम विकास भएको बीबीसीले उल्लेख गरेको छ।

बीबीसी हिन्दीका अनुसार संविधानको धारा १४४ लागू गरेर श्रीनगरमा मानिसहरूको आवतजावत बन्द गराइएको छ।

बैठकले दफा ३७० खारेज गर्ने गरी भारतको संविधानमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । मन्त्रिपरिषद्को बैठकलगत्तै जम्मुकश्मिरको सुरक्षाव्यवस्थामाथि छलफल गर्न सुरक्षासमितिको बैठक बसेको थियो । 
उक्त धाराले जम्मुकश्मिरलाई विशेष राज्यको मान्यता दिएको थियो । यसका अतिरिक्त सरकारले जम्मुकश्मिरलाई दुईवटा अलग केन्द्र शासित राज्यमा विभाजन गर्ने निर्णय समेत गरेको छ । जसअनुसार अब जम्मुकश्मिर तथा लदाख दुईवटा केन्द्र शासित राज्य भएका छन ।

मन्त्रिपरिषद्को बैठक लगत्तै शुरु भएको राज्यसभाको बैठकमा गृहमन्त्री अमित शाहले विपक्षीको विरोधबीच दफा ३७० खारेज गर्ने सम्बन्धमा संकल्प प्रस्ताव पेश गर्नुभएको छ । संसदको दुवै सदनमा उक्त प्रस्ताव पारित भए भारतीय राष्ट्रपतिले हस्तारक्षर गरेसँगै जम्मकश्मिरले पाउँदै आएको विशेष राज्यको अधिकारको अन्त्य हुनेछ । उक्त धारामा रक्षा, विदेश मामिला, अर्थ र सञ्चारबाहेकका कानून लागू गर्नु परेको खण्डमा केन्द्र सरकारले राज्य सरकारको सहमति चाहिने व्यवस्था छ ।

मोदी सरकारको यो निर्णयको विपक्षीहरुले तीब्र विरोध गरेका छन । राज्यसभामा विपक्षी दलका नेता गुलाम नवि आजादले दफा ३७० खारेज गर्ने सरकारको निर्णयले भारतको संविधानको हत्या गरेको बताउनु भयो । त्यसैगरी जम्मुकश्मिरकी पूर्व मुख्यमन्त्री महबुबा मुफ्तीले ट्विट गर्दै सरकारको निर्णय गैरकानूनी र लोकतन्त्रको कालो दिन भएको बताउनुभएको छ । उहाँले यो निर्णयले दुष्परिणाम निम्त्याउने चेतावनीसमेत दिनुभएको छ ।

संकट गहिरिदै गएपछि जम्मुकश्मिरका पूर्वमुख्यमन्त्रीहरु उमर अब्दुल्लाह र महबुबा मुफतीलाई आइतबार मध्यरातदेखि नजरबन्द गरिएसँगै त्यहाँ राजनीतिक अस्थिरता थप बढ्न सक्ने देखिएको छ । यसका साथै इन्टरनेट, फोन सेवा सबै बन्द गरिएको छ । सरकारले शैक्षिक संस्थाहरु अनिश्चितकालसम्मका लागि बन्द गर्ने आदेश दिइसकेको छ । पर्यटकहरुलाई पनि चाँडोभन्दा चाँडो उपत्यका छाड्न भनिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार श्रीनगर र आसपासका क्षेत्रमा दंगा प्रहरीलाई तैनाथ गरिएको छ । आइतबार मध्यरातदेखि लागू हुने गरी श्रीनगरमा निषेधाज्ञा लागू गरिएको छ । धारा १४४ अनुसार उक्त निषेधाज्ञा जारी भएसँगै मानिसहरुलाई भेला हुन, जुलुस तथा बैठक गर्न रोक लागेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top