तापमान वृद्धिले तिलहरी चरा सङ्कटमा

समाज साउन ७ २०७६ ekhabarnepal
Chara

काठमाडौँ, साउन ७ गते । 
हिमालमा बस्ने तिलहरी चरा यतिबेला बचेरा हुर्काउन व्यस्त छन् । फुस्रो खरानी रङको यो चराको घाँटीमा महिलाले तिलहरी लगाएझैँ कालो रङले घेरिएकोे हुन्छ । 
रातो लामो चुच्चो (ठुँडो) र रातै खुट्टाले अरूभन्दा फरक देखिन्छ । त्यसैले पनि यसको नाम चिलहरी चरा भन्ने गरिन्छ । बढ्दो तापक्रमका कारण तिलहरीलाई बचेरा कोरल्नै हम्मे पर्ने गरेको छ । करिब चार हजारदेखि चार हजार दुई सय मिटरमाथिका हिमाली भेगका हिउँ नदी छेउछाउ र खुला टापुमा यिनले अण्डा पार्छन् । तापक्रम बढ्दै जाँदा तिलहरीको जीवनचर्यामै असर परेको चरा अध्ययनकर्ता बताउँछन् । 
चराविद् डा. हेमसागर बरालले भन्नुभयो, “हिउँ नदीको बहाब बढ्दा र हिउँ पग्लेर हिउँपहिरो जाँदा तिलहरीका अण्डा पुरिने र बगाउने गरेको छ, कतिपय बेला बचेरा नै पनि बगाइदिने गरेको पाइएको छ । ” जलवायु परिवर्तनको असर परेमा यो चरालाई त्योभन्दा माथि जाने ठाउँ छैन, तल झर्न सक्दैन, त्यसैले अनुकूलनमै पनि तिलहरीलाई समस्या परेको उहाँ बताउनुहुन्छ । त्यसैले भविष्यमा यो लोप हुने अवस्थामा पुग्न सक्ने खतरा बराल औँल्याउनुहुन्छ । 
तिलहरीका बारेमा दुईपटक अध्ययन भइसकेको छ । प्रजनन गर्ने बेला तिलहरीलाई अन्य बेलाभन्दा बढी आहारा जरुरत पर्छ । बचेरा कोरलेपछि पनि आहारा बढी चाहिन्छ । तापक्रम वृद्धिले हिमालका नदी र तलाउमा हुर्कने कीरा तथा लार्भाको प्रजनन र हुर्काइ ढिला वा चाँडो हुँदा तिलहरीको आहरमा सङ्कट आउने गरेको अर्का चराविद् डा. तुलसी सुवेदी बताउनुहुन्छ । 
उहाँका अनुसार बच्चा अलिक हुर्केपछि हिउँदताका भने तिलहरी जाडोका कारण करिब नौ सय मिटर आसपास स्थानमा बसाइँ सर्छ । तिलहरीको सङ्ख्या नेपालमा २५० आसपास रहेको अनुमान छ । हिमाली भेगमै पाइने हिउँ कुखुरा पनि बढ्दो तापक्रमका कारण सङ्कटमा परेको छ । ठूलो डाँफेलाई पनि तापक्रम बढेपछि अझ माथिल्लो भेगमा जानुपर्ने बाध्यता आइपरेको चराविद् बरालको निष्कर्ष छ । 
कीरा फटेङ्ग्रा खाएर बाँच्ने चरा बढीजसो माथिल्लो भेगमा सर्न थालेको उहाँ बताउनुहुन्छ । हिमाली भेगको सबैभन्दा माथि बाह्रै महिना बस्ने चरा अल्पाइन ट्रस्ट हो । पाँच हजार मिटरमाथि हिमालमा यसले बच्चा कोरल्छ । त्यस्तैगरी बरालका अनुसार चिसो पानीमा निर्भर चराको बसाइँ पनि तल्लो भेगबाट पहाडी भेगमा सर्न थालेको छ । धमिराको बच्चा निस्कने बेला अधिकांश चराले बच्चा कोरल्छ तर धमिराको बच्चा निस्कन ढिला भएपछि आहारा खोज्दै चरा पहाड उक्लन थाल्छन् । 
त्यस्तै मौसमको उतारचढावले कहिले बढी पानी पर्ने, कहिले असिना पर्ने, बाढी आउने क्रम रहँदा पनि सहजताका लागि चरा पहिलेको थातथलो छाडेर सुरक्षित स्थानमा जान थालेको पाइएको उहाँले बताउनुभयो । तराईमा बस्ने झोडे गोकुल जातको कोइली काठमाडौँमा धेरै देखिन थालेको छ । तराईमा बस्ने जुन बकुलाको एक प्रजाति पोखराका पहाडमा देखिन थालेका छन् । 
तामे लहाँचे, टुन्टुक घाँसे फिस्टे पहाड र काठमाडौँ आसपास बस्न थालेको छ । तराईमा पाइने नेपालकै सबैभन्दा ठूलो कर्रा सुगा काठमाडौँमा भेटिएको जानकारी बरालले दिनुभयो । “तराई भेगमा पाइने हुटिट्याऊ नै तिलिचो तालमा भेटिए, फ्लाइ केचर र अर्जुन नट चरा पनि माथिल्लो भेग जाने क्रम बढेको छ,” अर्का चराविद् टीकाराम गिरीले भन्नुभयो । 
अर्जुन नट चरा साउनबाट बच्चा कोरल्नकै लागि चिसो खोज्दै पहाड उक्लने गरेको उहाँ बताउनुहुन्छ । आहारा र बच्चा कोरल्नका लागि उपयुक्त मौसम चरा आफैँलाई थाहा हुन्छ । 
चरालाई मौसम अनुकूल नभएको विश्वास हुन्छ, उसले माथिल्लो भेगमा आफ्नो नयाँ बासस्थानको खोजी गर्न थाल्छ । हिमाली क्षेत्रमा प्रति १० वर्षमा ०.५ डिग्री तापक्रम बढिरहेको अध्ययनले देखाएको छ । विभिन्न देशबाट नेपालमा बसाइँ सरी आउने घुमन्ते चराले पनि पछिल्लो समय आफ्नो बसाइ क्षेत्र पहाडी भेगमा बढाउन थालेका छन् । 
कतिपय चराले बसाइ छोट्याउनु, चाँडो आएर चाँडै फर्कनु र ढिला आएर चाँडो फर्कनु आदि पनि तापक्रम वृद्धिको परिणाम भएको विज्ञहरूको अनुमान छ । नेपालमा ८८६ प्रजातिको चरा पाइन्छ । विश्वमा १६८ प्रजातिका चरा आईयूसीएनको सङ्कटापन्नको सूूचीमा परेका छन् । नेपालमा पाइनेमध्ये ४४ प्रजातिका चरा त्यस सूचीमा छन् ।
गो. प.वाट

  

 

प्राप्त प्रतिकृयाहरू

To Top