पुष्पलालको विचारकै जगमा आजको उपलब्धि

राजनीति साउन ७ २०७६ ekhabarnepal
Puspalal

दीपक श्रेष्ठ

काठमाडौँ, साउन ७ गते । 
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठका विचार, सिद्धान्त र नीतिहरू सात दशकपछि पनि उत्तिकै सान्दर्भिक, मननीय र मार्गदर्शक रहेका छन् । 
दूरदर्शी नेता पुष्पलालसँग लामो सहकार्य गर्नुभएका ९० वर्षीय लक्ष्मीभक्त उपाध्याय भन्नुहुन्छ, “मुलुकको राजनीतिक परिवर्तन पुष्पलालकै विचार, सिद्धान्त र नीतिका आधार टेकेरै भयो । उहाँ जतिका इमानदार नेता मुलुकले पाउन सकेन । ”
वि.सं. २००८ मा पुष्पलालसँग कम्युनिस्ट पार्टीको सदस्यता लिएदेखि उहाँसँग सहकार्य गर्नुभएका लक्ष्मीभक्त भन्नुहुन्छ, “नेपाली क्रान्ति, वर्गीय मुक्ति र कृषि क्रान्तिको मौलिक आन्दोलनको खोजीमा पुष्पलालले योगदान दिए । ”
दिल्ली सम्झौताको विरोधकै क्रममा २००८ सालमा नेकपा प्रतिबन्धित भएपछि पुष्पलाल भूमिगत हुनुभयो । मुलुकको राजनीति अन्योलग्रस्त अवस्थामा थियो । राणाशाही हटे पनि मुलुकको राज्य प्रशासनयन्त्र राणाकै हातमा थियो । जनता अधिकारविहीन थिए । दरबारले पनि दलहरूलाई खेलाएर सत्ताको साँचो आफ्नो हातमा पार्ने दाउमा थियो । मुलुकको यो परिस्थितिलाई सही दिशामा ल्याउन मोर्चाको अवधारणा पुष्पलालले ल्याएर सङ्घर्षलाई अगाडि बढाएको उपाध्याय स्मरण गर्नुहुन्छ । 
भारत निर्वासनमा रहनुभएका पुष्पलाल २००९ सालमा भूमिगत रूपमा नै नेपाल आएर नेपाल कम्युनिस्ट पार्टी, नेपाल प्रजापरिषद् र राष्ट्रिय काँग्रेससहित जातीय 
(राष्ट्रिय) जनतान्त्रिक संयुक्त मोर्चा गठन गर्न सफल हुनुभएको थियो । टङ्कप्रसाद आचार्य संयोजक र पुष्पलाल सचिव रहेको मोर्चाले संयुक्त सरकार, संविधानसभा, समानुपातिक निर्वाचन प्रणाली, समावेशी सहभागिता, जनजीविका, राष्ट्रियता र राजनीतिक हकअधिकारका लागि सङ्घर्ष अगाडि बढाएको उपाध्याय स्मरण गर्नुहुन्छ । 
बीपी कोइराला नेतृत्वको जननिर्वाचित सरकार अपदस्त गरी २०१७ साल पुस १ मा दलहरूमाथि प्रतिबन्ध लगाएपछि रुसमा रहेका नेकपाका तत्कालीन महासचिव डा. केशरजङ्ग रायमाझीले समर्थन गरे । त्यसको कटु आलोचना गर्दै संसद् पुनस्र्थापनाको मागलाई पुष्पलालले जोडदार रूपमा उठाउनुभयो । 
विघटित संसदको पुनस्र्थापनाका लागि काँग्रेससँग मिलेर सङ्घर्ष अगाडि बढाउनुपर्छ भन्ने मान्यता पुष्पलालको रहेको उपाध्याय बताउनुहुन्छ । पञ्चायत व्यवस्था विरुद्ध काँग्रेससहित लोकतान्त्रिक शक्ति मिलेर संयुक्त जनआन्दोलन अगाडि बढाउनुपर्ने पुष्पलालको मान्यताले ४६ सालमा आएर पूर्णता पाएको थियो । 
भारतमा निर्वासित रहेर नेपाली कम्युनिस्ट आन्दोलनको रक्षाका लागि पुष्पलालले गर्नुभएको सङ्घर्षबारे उपाध्याय यसरी स्मरण गर्नुहुन्छ, “२०१७ साल फागुनमा भारतको दरभङ्गामा नेकपाको केन्द्रीय समितिको विस्तारित बैठक बस्यो । एक महिनासम्म लम्बिएको बैठकमा विघटित संसद्को पुनस्र्थापना, नेपाली काँग्रेससँग संयुक्त मोर्चाको वकालत पुष्पलालले गर्नुभएको थियो । ”
विस्तारित बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि पुष्पलालले २०१८ साल माघ १२ गते एउटा अपिल जारी गर्नुभयो । सो अपिलमा पञ्चायत विरोधी शक्तिहरूको मोर्चा बनाएर काँग्रेससहितको सहभागितामा आन्दोलनमा जानुपर्ने विचार राखिएको उपाध्याय बताउनुहुन्छ । 
सामन्तवादको अन्त्य र गणतन्त्र प्राप्तिका लागि पुँजीवादी दललाई पनि सँगै लैजानुपर्छ भन्ने पुष्पलालको वैचारिक जगमै वाम एकता र सङ्घर्ष भएको बताउनुहुन्छ, बामबुद्धिजीवी लोककृष्ण भट्टराई । ऋषि कट्टेल नेतृत्वको नेकपाका उपाध्यक्ष लोकनारायण सुवेदी पुष्पलालको विचार छाडेर कम्युनिस्ट बन्न नसकिने निष्कर्ष निकाल्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “नेपाली किसानको समस्या समाधान नगरी र जल, जमिन र जङ्गल किसानको स्वामित्वमा नलगेसम्म मुलुकमा वास्तविक लोकतन्त्र आउँदैन भन्ने धारणा पुष्पलालको थियो । ”
दीर्घकालीन कृषि क्रान्तिबाट मात्र नेपाली किसान समस्या समाधान हुने निष्कर्ष पुष्पलालको थियो । सुवेदी भन्नुहुन्छ, “सहकारीमार्फत चक्लाबन्दी खेती, मूल्य निर्धारण र किसानको उत्पादन राज्यले खरिद गरे मात्र कृषि अर्थतन्त्र बलियो हुने धारणा उहाँको थियो । ”
लोकतन्त्रदेखि गणतन्त्र प्राप्तिको आन्दोलनहरू वामपन्थी र काँग्रेसको सहकार्यबाटै सफल भएको सन्दर्भमा मात्र होइन कृषि क्रान्तिबाट मुलुकको समृद्धि खोज्ने हो भने पुष्पलालले निर्दिष्ट गरेको दीर्घकालीन कृषि क्रान्तिको बाटोमा मुलुक जानुपर्ने धारणा, बामपन्थी नेता एकलाल श्रेष्ठको छ । 
उहाँ भन्नुहुन्छ, “राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्रान्तिका सवालमा पुष्पलालले दिएका विचार, नीतिबाट पछाडि हटेर मुलुकले समृद्धि प्राप्त गर्न सक्दैन । समाजवादको बाटो देखाएको संविधानको सफल कार्यान्वयनका लागि वामपन्थी र काँग्रेसले पुष्पलालका नीति बुझ्नुपर्छ । ”

गो. प.वाट

प्राप्त प्रतिकृयाहरू

To Top