प्रदेश सरकारको अर्को टोली फेरि चीन जाने

राजनीति साउन ६ २०७६ ekhabarnepal
Pardesh5 cm office

 
बुटवल साउन ६ ।
 आउँदो भदौमा प्रदेश ५ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी चीन भ्रमणमा जाने भएका छन्। सोमबार बसेको प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले भदौ १० गतेदेखि १६ गतेसम्म चीनको गान्सु प्रान्तको भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको हो। मन्त्री गिरीको नेतृत्वमा ९ सदस्यीय टोली चीन भ्रमणमा जाने छ। 

भ्रमण टोलीमा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपाने, प्रदेश सांसदहरु सरस्वती गौतम, निर्मला क्षेत्री, बाबुराम गौतम तथा  डा. सागर न्यौपाने र कर्मचारी गरि ९ सदस्य रहेका छन्।

मन्त्रिपरिषद बैठकले भ्रमणको खर्च स्वीकृत गरेको छ। मुख्यमन्त्री शंकर पोखरेल असार १६ देखि २५ गतेसम्म चीनका विभिन्न प्रान्त घुमेर आएका थिए। त्यसलगत्तै फेरि प्रदेश सरकारको तर्फबाट अर्को टोली चीन भ्रमणमा निस्कन लागेको हो। मुख्यमन्त्री केही दिनअघि मात्रै भ्रमण गरेर फर्केकाले मन्त्री गिरीको नेतृत्वमा टोली जाने तय भएको सरकारका प्रवत्ता एव भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए। 

बैठकले सैनामैना नगरपालिका र चीनको गान्सु प्रान्तबीच भगिनी सम्बन्ध कायम गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ। 
यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयले तयार पारेको खानेपानी सरसफाई तथा स्वच्छदता (वास) कार्यविधि स्वीकृत गरेको छ। यो कार्यविधि अनुसार खानेपानीको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न सहयोग पुग्ने सरकारको दावी रहेको छ। प्रवक्ता चौधरीले एप्समार्फत कहाँ खानेपानीको आवश्यकता कति र कस्तो छ भनेर तथ्यांक संकलन गरेर योजना लागू गर्ने बताए।

यसैगरी प्रदेश सरकारले शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्ट) हरुलाई अनुमती दिन सक्ने गरि शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी कार्यविधिलाई स्वीकृत गरेको छ। यो कार्यविधि अनुसार विभिन्न देशका लागि लिइने भाषा परीक्षा सञ्चालन गर्ने शैक्षिक निकायहरुले प्रदेशबाट अनुमति लिनसक्ने छन्। 

प्राप्त प्रतिकृयाहरू

To Top