बलवहादुर आचार्य
पृष्ठभूमि
नेपाली समाज सामन्तवादी समाजवाट रुपान्तरण भई पुँजीवादी समाजमा प्रवेश गरेकोछ । सामन्तवादी समाजको राजनैतिक पक्ष पूर्ण रुपमा अन्त्य भएको छ भने समाजको कतिपय क्षेत्रमा आर्थिक उत्पादन प्रणाली पुँजीवादी उत्पादन प्रणालीमा रुपान्तरण हुन सकेको छैन भने सामाजिक तथा साँस्कृतिक पक्षहरुमा सामन्ती सोच प्रवल रहेकोछ ।
यस प्रारम्भिक अवस्थामा रहेको पुँजीवादी समाजलाई समाजवादी समाजमा रुपान्तरण गर्नु नै नेपालका कम्युनिष्ट पार्टीको अधिकतम लक्ष्य हो ।
समाज के हो ?
निश्चित भूगोल, उक्त भूगोलमा बस्ने मानव समुदाय र सो स्थानमा बस्ने मानिसहरुले जीवन निर्वाहका लागि गरिने आर्थिक कृयाकलापको समुच्चय रुप नै समाज हो ।
समाजको उत्पादन प्रणाली भनेको के हो ?
समाजको उत्पादन प्रणाली भन्नाले मूलतः उत्पादक शक्ति र उत्पादन सम्वन्धको योग हो । उत्पादक शक्ति भन्नाले १. श्रम, कामदार २. श्रम गर्ने बस्तु जमिन, कारखाना तथा कार्यथलो जहाँ मानिसहरुले आफ्नो श्रमको प्रयोग गर्दछन । ३. श्रमको साधान अर्थात औजार मेसिन तथा प्रविधि । उत्पादन सम्वन्ध भन्नाले मूलत स्वामित्व तथा उत्पादित बस्तुको उपभोग गर्ने अधिकारको कुरा हो । समाजमा भएका यहि उत्पादन सम्वन्धका आधारमा त्यो समाज के हो र समाजमा कसको अगुवाई छ भन्ने कुरा निर्धारण हुन्छ । समाजको रुपान्तरण भनेको मूलत यहि उत्पादन सम्वन्धको परिवर्तन नै हो ।
हालसम्मका मानव समाजहरु कस्ता कस्ता थिए ?
समाजको विकासको मूल आधार भनेको समाजमा उत्पादन शक्तिको विकासमा भर पर्ने विषय हो । यहि उत्पादन शक्तिको विकासको आधारमा मानव समाज विभिन्न चरणमा विकास हुदै आएको छ । यहि आधारमा मानव समाज आदीम साम्यवादी समाज , दास युगिन समाज, सामन्ति समाज, पुँजीवादी समाज, समाजवादी समाज हुदै बैज्ञानिक साम्यवादमा रुपान्तरण हुने कल्पना गरिएकाएको छ ।
आधुनिक समाजका मुख्य खम्वाहरु के के हुन ?
राजनीति, अर्थतन्त्र, समाज व्यवस्था र सँस्कृतिहरु आधुनिक मानव समाजका मुख्य अंगहरु हुन । शुरुमा समाजको प्रारम्भिक अवस्थामा यी पक्षहरु एकै ठाउँवाट संचालिन हुन्थ्यो भने मानव समाजको विकासक्रमसंगै समाजका विभिन्न अंगहरुको पनि विशिष्टिकरण हुदै आएको छ । कुनै पनि समाजको आमूल रुपान्तरणका लागि हामीले यी ४ वटै पक्षहरुमा रुपान्तरणको आवश्यकता हुन्छ । कुनै पनि समाजमा राजनीति रुपान्तरण सवै भन्दा छिटो हुन्छ भने त्यस पछिको रुपान्तरण आर्थिक हुन्छ भने सामाजिक तथा साँस्कृतिक रुपान्तरका लागि समाजले धेरै लामो दुरी तय गर्नु पर्ने हुन्छ । हामीहरु अहिले सामन्ती समाजको रुपान्तरण गर्दै पूँजीवादी समाजमा प्रवेश गरे पनि समाजमा आर्थिक रुपान्तरणको गति सोही रुपमा नभएका कारण हामीमा आर्थिक रुपान्तरणको अनुभूति सोही अनुपातमा हुन सकेको छैन । त्यसमा पनि साँस्कृतिक रुपान्तरणको पक्षमा त रुपान्तरणको अनुभूति ज्यादै कम देखिन्छ । त्यसैले रुपान्तरणको यो नियमलाई पनि हामीले आत्मसाथ गर्दै समाज रुपान्तरणको अभियानमा लाग्न आवश्यकछ समाज रुपान्तरणको
समाज रुपान्तरणको माक्र्सवादी सिद्धान्त के हो ?
निषेधको निषेध माक्र्सवादी सिद्धान्तको समाज रुपान्तरणको महत्वपूर्ण नियम हो । कुनै पनि समाजमा रुपान्तरण हुँदा समाजको रुपान्तरण जिरोवाट शुरु हुने र जिरोमा अन्त्य हुने हुदैन् । पुरानो समाजको गर्भवाटै नै नयाँ समाजको विकास हुन्छ । यसरी विकास भएको नयाँ समाजले पुरानो समाजलाई क्रमशः निषेध गर्दै समाज रुपान्तरण हुन्छ । समाजको रुपान्तरणमा मूलतः तिनवाट पक्षहरु हुन्छन ः
१. त्याज्य पक्ष ः कुनै पनि बस्तुमा समयको गतिसंगै काम नलाग्ने अव्यवहारिक पक्षहरु लोप भएर जान्छ ।
२. संयोजक पक्ष ः बस्तुको रुपान्तरणमा दुई वटा अवस्थाको वीचमा पुलको रुपमा काम गर्ने गर्दछ ।
३. नयाँ पक्ष ः बस्तुको रुपान्तरणको अवस्थामा बर्तमान समयको प्रतिनिधित्व गर्ने नवीन पक्ष । यी तिनवटा पक्षहरुको समिश्रण नै बस्तुको रुपान्तरणको नियम हो । यो नै समाज विकासको माक्र्सवादी सिद्धान्तको नियम हो । यसै नियमलाई क.मदन भण्डारीले पनि आत्मसाथ गरी हाम्रो नेपाली समाजको रुपान्तरणको तीन वटा चरण हुन्छ भन्दै सामन्तवादका विकृति तथा अवशेषहरुको अन्त्य, जनवादी समाजको सुदृढिकरण र समाजवादमा प्रवेशको चरणको व्याख्या गर्नु भएको थियो । यही सार्वभौम नियमलाई तपाई हामीले समाजका हरेक रुपान्तरणहरुमा विश्लेषण र प्रयोग गर्न सक्दछौं ।
वर्तमान नेपाली समाज काँहा छ ?
यतिबेला नेपाली समाज सामन्ती समाजवाट रुपान्तरण भई मूलतः पूँजीवादी समाजमा रुपान्तरण भएको छ । यतिबेला नेपाली समाज न त पुर्ण रुपमा सामन्ति समाजवाट मूक्त छ न त परंपरागत पूँजीवादी समाजको रुपमा अगाडी बढेकोेछ न त समाजवादी समाजको वाटोमा नै अगाडी बढेको छ । बास्तवमा नेपाली समाज यतिवेला मूलतः पूँजीवादी समाजमा विकसित भई रहेता पनि समाजमा सामन्ति समाजका अवशेषहरु र समाजवादी समाजका भ्रुणहरु रहेको त्रिकोणीय मिश्रित अवस्थामा रहेको छ ।
नेपाली समाजमा समाजवादका आधारहरु
यतिवेला नेपाली समाजले सामन्ति समाजका अवशेषहरुको अन्त्य गर्ने, पूँजीवादी उत्पादन प्रणालीलाई विकासित गर्ने तर यसको उत्पादन सम्वन्धलाई उत्पादक शक्तिलाई विकसित गर्दै उत्पादनको स्वामित्वलाई समाज र विशेष गरी पछि परेको क्षेत्र र समुदायको हितमा परिचालन गरी समाजवादी समाजको आधारहरु तयार गर्ने दिशामा केन्द्रित गर्नु पर्ने अवस्था र दायित्वमा रहेको छ । यतिबेला राज्यका संचालकहरु पूँजीवादी उत्पादन प्रणालीको विकास गर्ने नाममा आफै पूँजीवादी सोचको दलदलमा फस्ने खतरावाट भने समाजलाई बचाउन जरुरी छ ।
नेपाली समाजलाई समाजवाद उन्मुख अर्थतन्त्र तर्फ रुपान्तरण गर्न कृयाशील भएका नेकपाको नेतृत्वमा संचालित सवै सरकारहरुले विकासका बजेटहरु बनाउँदा सामाजिक क्षेत्रमा लोककल्याणकारी कार्यक्रमहरुलाई बृद्धि गर्ने, नेपालका साधनश्रोतहरुको अत्यधिक सदुपयोग गरी राष्ट्रिय पूँजीको विकास गर्दै स्वाधिन र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, पछि परेको क्षेत्र तथा समुदायहरुलाई विकास निर्माणका कार्यमा प्राथमिकता दिने, संपूर्ण नेपालीहरुलाई गाँस, वाँस, कपास, शिक्षा, स्वास्थ्य तथा रोजगारीजस्ता आधारभूत क्षेत्रमा क्रमशः ग्यारेन्टी गर्ने र नेपाली समाजमा समाजवादी सँस्कृतिको विकास गरी आर्थिक उत्पादन र स्वामित्वमा सहभागी बनाउदै वर्तमान व्यक्तिवादी स्वामित्वमा आधारित नेपाली समाजलाई रुपान्तरण गर्दै सामाजिक वा सामुहिक स्वामित्वमा आधारित समाजवादी समाजको आधार तयार गर्ने कार्यदिशा हो ।
अझ यसलाई छोटकरीमा भन्दा समाजवादी समाज भनेको समाजका हरेक नागरिकलाई उनीहरुको जीवन निर्वाहका लागि हरेक क्षेत्रमा समान अवशर पाउने सामाजिक व्यवस्थाको निर्माण गर्ने र व्यक्तिवादी स्वामित्वलाई समाजिक वा सामुहिक स्वामित्व रहने प्रणालीमा रुपान्तरण गर्ने कार्यदिशा तर्फ अगाडी बढाउनु नै समाजवाद उन्मुख समाजको निर्माणको कार्यदिशा पनि हो ।
प्राप्त प्रतिकृयाहरू