रुपन्देहीका पम्पहरुमा डिजल र पेट्रोलको गुणस्तर सही 

समाज असार ३१ २०७६ ekhabarnepal
1

 

निरा गौतम रासस

रुपन्देही,असार ३१ 
 रुपन्देहीका पेट्रोल पम्पहरुमा गुणस्तरीय पेट्रोलियम पदार्थको विक्री हुने गरेको पाइएको छ । विभिन्न कार्यालय तथा संघ सस्थाहरुले गरेको अनुगमनका क्रममा पम्पहरुमा डिजल र पेट्रोलको नाप तौल र गुणस्तर सही भएको पाइएको हो । हिजो र  अस्ति अनुगमन पछी आज प्रतिवेदन सार्वजनिक गर्दै उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका नारायण भट्टराईले अनुगमन गरिएका सबै पेट्रोल पम्पहरुमा डिजल र पेट्रोलको नाप तौल ठिक भएको जानकारी दिनुभयो ।
उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, वाणिज्य कार्यालय, नाप तौल तथा गुणस्तर विभाग, आयल निगम ,जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र पत्रकार महासंघका प्रतिनिधि सहितको टोलीले गरेको अनुगमनका क्रममा रुपन्देहीका पेट्रोल पम्पहरुमा गुणस्तर राम्रो भएको पाइएको हो ।
टोलीले रुपन्देहीको ओमसतीया गाउँपालिका ४ स्थित मोहित आयल फिलिङ सेन्टर, ओमसतियाकै हरिकृष्ण आयल सप्लायर्स ,सिद्धार्थ नगरपालिका १ स्थित नवजीवन स्टोर्स ,बुटवल रामनगर स्थित अशोका सप्लायर्स, श्री रिपुमर्दिनी पेट्रोल पम्प र बुटवलको नेपालगञ्ज रोडमा रहेको बुटवल डिजल सेन्टरमा अनुगमन गरेको हो । नाप तौल तथा गुणस्तर विभागका प्रमुख मनोज कुमार पोखरेलका अनुसार प्रति ५ लिटरमा जाँच गर्दा १५ मिलिलिटर कमी र २५ मिलिलिटर बढी हुनुलाई सामान्य मानिन्छ । यो भन्दा कम भएमा ठगी गरेको ठहरीने प्रमुख पोखरेलले बताउनुभयो ।
अनुगमन गरिएका सबै पम्पहरुमा डिजल र पेट्रोलको नाप तौल र गुणस्तर सही भएको आयल निगमका सहायक प्रबन्धक गोविन्द प्रसाद ज्ञवालीले बताउनुभयो । “ डिजल र पेट्रोलको गुणस्तर ठिक छ तर पम्पहरुलाई अझै व्यवस्थित गर्न जरुरी छ ।” उहाँले भन्नुभयो ।


पेट्राल पम्पहरुको गुणस्तर सही भएपनि अधिकांशमा सुरक्षा उपकरणहरु भने नभएको पाइएको छ । सुरक्षाका हिसाबले अत्यन्तै संबेदनशिल मानिने पेट्रोल पम्पहरुमा विपद् वा आगलागीका घटनाहरुबाट बच्न प्रयोग हुने सुरक्षा उपकरणहरु तयारी अवस्थामा राख्न निर्देशन  दिइएको जिल्ला प्रशासन कार्यालयका अधिकृत झबिलाल भट्टराईले जानकारी दिनुभयो ।“ अधिकांश पेट्रोल पम्पहरुमा सुरक्षा उपकरणहरु नभएको पाइयो ।” उहाँले भन्नुभयो । अनुगमन गरिएका पेट्रोल पम्पहरुमा शौचालयको व्यवस्था भएपनि व्यवस्थित नभएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयका अधिकृत भट्टराईले  लैङ्गिकमैत्री  र अपांगमैत्री शौचालयको व्यवस्था गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।  
जिल्ला प्रशासन कार्यालयका अधिकृत भट्टराई, नाप तौल तथा गुणस्तर विभागका प्रमुख मनोज कुमार पोखरेल र कर्मचारी रमेश प्रसाद पाण्डे, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका नारायण भट्टराई र राजकुमार घिमिरे, आयल निगमका सहायक प्रबन्धक गोविन्द प्रसाद ज्ञवाली र केशब प्रसाद गौतम, वाणिज्य कार्यालयका मंगला शर्मा, नेपाल प्रहरीका एन बि थापा लगायतको टोलीले पेट्रोल पम्पहरुमा स्पष्ट देखिने गरी बोर्डको व्यवस्था गर्न समेत निर्देशन दिएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top