मणिमुकुन्दसेन उद्यानको अध्यक्षमा पुनः लुइँटेल

समाज असार ३० २०७६ ekhabarnepal
1

बुटवल,असार ३०  ।  

मणिमुकुन्द सेन उद्यान संरक्षण समिति (फुलबारी) को कार्यसम्पादन समिति अध्यक्षमा खेमप्रसाद लुइँटेल पुनः निर्वाचित हुनु भएको छ । सोमबार भएको समितिको १२ औं साधारणसभा तथा चौथो अधिवेशनले लुइँटेलको अध्यक्षतामा निर्विरोध नयाँ नेतृत्व चयन गरेको हो । त्यस्तैगरी उद्यानको उपाध्यक्षमा बाबुराम पोखरेल र माधव नेपाल, महासचिवमा रमेशप्रसाद नेपाल, सचिवमा महेन्द्रप्रसाद लिगल र कोषाध्यक्षमा माधवप्रसाद श्रेष्ठ चयन हुनुभएको छ । 
त्यस्तैगरी खुला सदस्यमा गौतमलाल शाक्य, राजुप्रसाद लिगल, महिला सदस्यमा भगवती बस्याल र सीता खनाल चयन हुनुभएको छ । जनजाति सदस्यमा मिलेन्द्र श्रेष्ठ, उत्पीडित सदस्यमा जोगलाल विश्वकर्मा, लेखा समिति संयोजकमा लोकराज शर्मा र सदस्यमा लिलबहादुर विश्वकर्मा चयन भएको निर्वाचन समितिले जनाएको छ । लेखा सदस्य दुई जना चयन गर्नुपर्नेमा उम्मेदवारी फिर्ता भएकाले एक जना मात्र निर्विरोध भएको र थप एक जना कार्यसम्पादन समितिको प्रथम बैठकले टुंग्याउने गरी निर्वाचन प्रक्रिया सकिएको हो । फूलबारीको विधानमा दुई जना सदस्य अध्यक्षले मनोनयन गर्ने प्रावधान छ । 
सोमबार साधारणसभा उद्घाटन कार्यक्रममा प्रदेश नम्बर पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले फुलबारीको विकासका लागि प्रदेश सरकार सधै सहकार्य गर्न तयार रहेको बताउनुभयो । उद्यानमा जीर्ण अवस्थामा रहेको मणिमुकुन्द सेन राजाको दरबारको संरक्षण गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले प्रदेशभित्र रहेका यस्ता पार्कहरुले पर्यटन विकासमा ठूलो टेवा पु¥याउने बताउनुभयो । 
उद्यानका अध्यक्ष खेमप्रसाद लुइँटेलले उद्यानको गुरुयोजना तयार गरिएको जानकारी दिँदै आगामी दिनमा सोही अनुसार भौतिक निर्माण तथा पार्कहरुको सौन्दर्यकरणका कामहरु अगाडि बढाइने बताउनुभयो । उद्यानको विकासका लागि आवश्यकता अनुसार विभिन्न संघ–संस्थासँग समन्वय र सहकार्य गर्ने नीतिका अघि बढिएको उहाँले प्रष्टाउनुभयो । 
उद्यानका संस्थापक अध्यक्ष तथा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले फुलबारीलाई प्रदेश ५ कैं उत्कृष्ट पार्कको रुपमा विकास गरिने बताउनुभयो । यसैगरी बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले फुलबारी बुटवलको गहना भएको भन्दै यसको विकास लागि नगरपालिका सधै तयार रहेको बताउनुभयो । कार्यक्रमका वक्ताहरुले लुइँटेल नेतृत्वको समितिले उद्यान विकासका धेरै काम गरेको भन्दै प्रशंसा गरेका थिए । विकासका काम गर्दा दिगो रुपमा गर्नुपर्ने भन्दै उनीहरुले फूलबारी आन्तरिक मात्र होइन बाह्य पर्यटकको केन्द्र बन्दै गएको बताएका थिए । उद्यानका उपाध्यक्ष बाबुराम पोखरेलको स्वागत तथा महासचिव रमेश नेपालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

प्राप्त प्रतिकृयाहरू

To Top