रासायनिक विषादीको जोखिममा जनस्वास्थ्य

बिचार असार २९ २०७६ ekhabarnepal
Mode of entry of pesticides


सिमृन काफ्ले

कृषि क्षेत्रमा रासायनिक विषादीको अत्यधिक प्रयोग यतिबेला नेपालमा मात्र नभई विश्वभरि नै चिन्ता र सरोकारको विषय बनेको छ। आर्थिक वर्ष ०७४/७५ को तथ्यांकअनुसार नेपालमा ६ सय मेट्रिक टन (खास विष) विषादी आयात भएको छ, जुन करिब ७५ करोड रुपैयाँ बराबरको हो। नेपाल आयात हुने विषादीमध्ये ८५ प्रतिशत विषादी तरकारीमा प्रयोग हुने गरेको पाइन्छ। 

विसं २०७४ मा नेपाल जनस्वास्थ्य प्रतिष्ठानले जिल्ला समन्वय समिति कार्यालय, चितवनसँगको समन्वयमा करिब ६ महिना लामो अध्ययनबाट चितवन जिल्लाका ९३ प्रतिशत कृषकले रासायनिक विषादी प्रयोग गर्ने गरेको पाइएको छ। तीमध्ये ५० प्रतिशतभन्दा बढी कृषकले १० वर्षदेखि रासायनिक विषादी मात्र प्रयोग गरिरहेका छन्।

प्रायः कृषकले किरा मार्न, रोग लाग्न नदिन एकै बालीमा २० पटकभन्दा बढी पनि विषादी प्रयोग गर्ने गरेको भेटियो। आश्चर्य त के भने, १० वर्षभन्दा लामो समयदेखि विषादी प्रयोग गरिरहेका भए तापनि धेरैजसो कृषकलाई आफूले प्रयोग गर्ने विषादी कत्तिको खतरनाक छ भन्ने केही हेक्का छैन। त्यस्तै, विषादी प्रयोग गर्दा सुरक्षित पहिरन लगाउने कृषकहरु नगन्य छन्।

विषादीको मानव स्वास्थ्यमा असर 
विषादीले मानव स्वास्थ्य र वातावरणमा पार्ने असर भयाभह छ। विषादीको संर्सगमा आएपछि तत्काल छालामा एलर्जी हुने, आँखा पोल्ने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने, पेट दुख्ने, शरीर शिथिल हुने जस्ता समस्या देखिन्छन्। एक अध्ययनका अनुसार चीनमा बर्सेनी ५ लाख व्यक्ति विषादीको संसर्गमा आएर बिरामी पर्ने गरेका छन्, जसमध्ये ५ सय जनाले प्रत्येक वर्ष ज्यान गुमाउँछन्।

विषादी विभिन्न माध्यमबाट शरीरभित्र प्रवेश गर्दछ जस्तै छालाबाट, आँखाबाट, श्वास फेर्दा र विषादी प्रयोग भएको वा विषादीको अवशेष बाँकी रहेका खानेकुरा खाएमा। कतिपय विषादीले आमाको गर्भ र दूधबाट पनि बच्चाको शारीरिक र मानसिक विकासलाई असर गर्छ। यसरी लामो समयसम्म विषादीको संसर्गमा आएपछि विभिन्न किसिमका क्यान्सर (रक्तक्यान्सर, मस्तिक्स, मिर्गौला, पित्तथैली, फोक्सो र छाला सम्बन्धीका क्यान्सर) हुने सम्भावना बढ्ने अध्ययनहरुले प्रमाणित गरिसकेका छन्। विषादीकै कारणले गर्दा प्रजनन् क्षमतामा समेत ह्रास आउने, सुस्त मनस्थिति र अङ्गभङ्ग भएका बच्चा जन्मने हुन्छन्। 

नेपालमा विषादीको प्रयोगबाट हुने आत्महत्या र विषादीबाट हुने आकस्मिक दूर्घटनाका प्रहरी रेकर्ड तथा अस्पताल रेकर्डका तथ्याकंबाहेक समुदायमा विषादीको प्रयोगबाट देखिएका स्वास्थ्य समस्याहरु, यिनीहरुको चाप र भारको कुनै लेखाजोखा हुने गरेको छैन। हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एचएमआइएस) मा पनि यस विषय रेकर्ड गर्नका लागि कुनै स्थान राखिएको छैन।

त्यस्तै स्थानीय स्वास्थ्यकर्मीहरुका अनुसार यस विषयमा स्वास्थ्य क्षेत्रबाट पर्याप्त अभिमुखीकरण पनि दिइएको छैन। विषादीको संसर्गमा आएर उक्त स्वास्थ्य समस्या देखिएको हो कि भनेर सोध्ने प्रचलन र यस विषयसँग दिनुपर्ने परामर्श सेवा न्युन रहेको छ।

विषादीले वातावरणमा पार्ने असर 
विषादीले स्वास्थ्यमा पार्ने नकारात्मक प्रभाव डरलाग्दो त छँदैछ, यसले प्राकृतिक रुपमा फाइदा गर्ने जीवहरुलाई पनि नष्ट गर्छ। अत्यधिक र अव्यवस्थित विषादी प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास ल्याउँछ, हाम्रो वायु, पानीका मुहानहरुलाई दुषित बनाउँछ। समग्र पर्यावरणलाई नै यतिधेरै क्षति गर्ने रासायनिक विषादीको अन्दाधुन्ध प्रयोगबारे कृषि एवं जनस्वास्थ्यका वैज्ञानिकहरुले चिन्ता व्यक्त गर्न थालेका छन्। यस्तो भयाभह स्थितिलाई रोक्न धेरै देशहरुले विषादी प्रयोग सम्बन्धी कडा कानुन ल्याइराखेका छन्। यस सन्दर्भमा भारतको सिक्किम राज्यले सन् २०१६ मा विषादीलाई प्रतिबन्ध नै लगाएको छ।

विषादीको लेबल/रङ 
विषादीको छनोट गर्दा लेबल अनिवार्य हेर्नुपर्छ। तर धेरै कृषकहरु विषादी बिक्रेताले जे विषादी दिए त्यही ल्याएर प्रयोग गर्ने गरेको बताउँछन्। विषादीको अवशेष हावा, पानी र माटोमा कति समय रहिरहन्छ र यसले मानव र पर्यावरणलाई कस्तो असर गर्छ भन्ने आधारमा विषादीको लेबललाई चार तहमा विभाजन गरिएको छ– रातो, पहेँलो, निलो र हरियो।

यी लेबलमध्ये सबैभन्दा बढी खतरनाक विषादी रातो लेबलको हो। नेपालमा जिङ्क फोस्फाइड (मुसा मार्ने विषादी) बाहेक रातो लेबलका विषादीहरु नेपालमा किनबेच र प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ। तर खुला सिमाना र फितलो अनुगमनका कारण यस्ता विषादीहरु बजार र गाउँघरमा देखिने गरेका छन्। रातो लेबलपछिको खतरनाक विषादी पेहेँलो लेबलको हुन्छ। नेपालमा हाल सबैभन्दा बढी प्रयोग हुने विषादी पहेँलो लेबलको हो। निलो लेबलको विषादी भने पहेँलो लेबलभन्दा सुरक्षित मानिन्छ। त्यसपछि हरियो। यी चार प्रकारका विषादीमध्ये हरियो लेबल भएको विषादी तुलनात्मक रुपमा सबैभन्दा बढी सुरक्षित मानिन्छ। यद्यपि विषादी विष नै भएकाले यसको प्रयोगमा व्यापक सर्तकता अपनाउनुपर्छ।

विषादीको अवषेश र पर्खनुपर्ने समय 
विषादीका दुई वटा विषेशता हुन्छन्। पहिलो, केही खतरनाक विषादी हाम्रो शरीरमा प्रवेश गरेपछि अन्य तरल पदार्थजस्तो नाश भएर जाँदैन। दोस्रो, विषादीको अवशेष जम्मा भएर मानिस र प्रकृतिका ठूलाठूला जीव र पशुपछीलाई झन् धेरै असर गर्छ। तसर्थ, बालीनालीमा विषादी प्रयोग गर्नै परेमा यसको नकारात्मक असर केही हदसम्म घटाउन विषादी प्रयोगेपछि केही समय अनिवार्य पर्खिनुपर्छ। यस समयलाई प्रतीक्षा अवधि पनि भनिन्छ।

फरकफरक विषादीको पर्खिनुपर्ने समय फरकफरक हुन्छ। रातो र पहेँलो लेबलका विषादीहरु धेरै खतरनाक हुने भएकाले यिनको पर्खिनुपर्ने समय लामो हुन्छ। प्राय विषादीको बट्टामै पर्खिनुपर्ने समयका बारेमा लेखिएको हुन्छ। उक्त सूचना राम्रोसँग पढेर प्रतीक्षा अवधिको पालना गर्नुपर्छ अर्थात् विषादी प्रयोगपश्चात् लगत्तै कृषि उपज टिप्नु र खानु हुँदैन।

विषादीको प्रभावबाट उपभोक्ता कसरी जोगिन सक्छन्?
नेपालमा विषादी प्रयोग गरिएको र प्राङ्गारिक कृषि उत्पादनको बिक्री–वितरणका लागि छुट्टाछुट्टै बजार नभएको हुँदा आम तौरमा एउटै साझा बजार प्रचलनमा छ। सचेत उपभोक्ताले प्राङ्गारिक उत्पादन खरिद गर्न चाहे पनि यो अवसर सहजै उपलब्ध छैन। तसर्थ, रासायनिक विषादी प्रयोग भएको र नभएको उत्पादन बिक्रीका लागि बजारमा छुट्टाछुट्टै स्थानको व्यवस्था गरिनुपर्छ।

साथै, उत्पादनमा विषादी प्रयोग भएनभएको वा कति छ भनी यकिन गर्न विषादी मापन केन्द्र स्थापना गरी अनिवार्य विषादी परीक्षणकोे व्यवस्था गरिनुपर्ने बाहिरबाट भित्रिने तरकारी, फलफूललाई मात्र होइन देशभित्रकै उत्पादनलाई पनि गर्नुपर्छ। नेपालमा भित्रिने आयातित खाद्य उत्पादनहरुमा पनि विषादी परीक्षणको व्यवस्था अनिवार्य गरिनुपर्छ। 

रासायनिक विषादी न्यूनीकरण अभियानमा उपभोक्ताहरुको विषेश र अहं भूमिका हुन्छ। उपभोक्ताको छनोट विधिले समग्र बजारमा कस्तो कृषि उपजले प्राथमिकता पाउने भन्ने कुराको निक्र्योल गर्छ र यसले अप्रत्यक्ष रुपमा कृषकले कस्तो उत्पादन गर्ने भन्ने विषयलाई पनि निर्देशित गर्छ। अर्थात् उपभोक्ताले पनि रासायनिक विषादी प्रयोग भए नभएको तरकारी, फलफूल छनोट गर्न सिक्नुपर्छ। कृषि बजारमा प्राङ्गारिक र विषादीरहित उत्पादनको माग बढेमा मात्र रासायनिक विषादी प्रयोगलाई निरुत्साहित गर्न सकिन्छ।

दैनिक रुपमा उपभोग गर्ने तरकारी फलफूल किन्दा निम्नानुसार विषयहरु ध्यान दिनुपर्छः

– तरकारी किन्दा टलक्क टल्केको, अस्वभाविक रुपले फस्टाएको वा बेमौसमी होइन, प्राकृतिक रङ र आकार भएको छनोट गर्नुपर्छ। 
– बजारबाट किनेर ल्याएको तरकारी र फलफूल राम्रोसँग पखालेर, सम्भव भएसम्म ताछेर र केही समय नुनपानीमा डुबाएर मात्र खानुपर्छ। 
– विषादीको अवशेष खानेकुरामा रहिरहने हुँदा विषादी छर्केपछिको पर्खनुपर्ने समय हेरेर मात्र टिप्ने वा खाने गर्नुपर्छ। बजारबाट ल्याइएका तरकारी, फलफूल पनि केही दिन राखेर खानुपर्छ।
– सकेसम्म आफ्नै करेसाबारीमा तरकारी, फलफूल लगाउने गर्नुपर्छ। 

अन्त्यमा
हामीले दैनिक रुपमा उपभोग गर्ने तरकारी, फलफूल विषादीयुक्त हुनु साह्रै दुखद विषय हो। विषादीसँग सम्बन्धित प्राविधिक पक्षहरु कृषि क्षेत्रले सम्बोधन गर्नुपर्छ तर यसको प्रभाव प्रत्यक्ष रुपमा स्वास्थ्यमा पर्ने भएकाले स्वास्थ्य क्षत्रले पनि यस मुद्दालाई प्राथमिकतामा राखेर सम्बोधन गर्नु अपरिहार्य छ। यसमा अवश्य पनि राजनीतिक अठोटको भूमिका वाञ्छनीय हुन्छ। 

स्वास्थ्यखवरवाट
-(लेखक काफ्ले नेपाल जनस्वास्थ्य प्रतिष्ठान चितवनमा रासायनिक विषादी न्यूनिकरण अभियानमा लागेकी जनस्वास्थ्यकर्मी हुन्)

प्राप्त प्रतिकृयाहरू

To Top