यसरी हुन्थ्यो परम्परागत खेती प्रणाली ​​​​​​​

बिचार असार २८ २०७६ ekhabarnepal
Mohan

मोहन बन्जाडे

अर्घाखाँचीको उत्तरी भेग र दक्षिण गुल्मीतिरको करिब ४० वर्ष अघि ग्रामीण अर्थव्यवस्थाको मूल आधार कृषि थियो । घरबुनाका लुगा बुन्ने चलन विस्थापित भइसकेको थियो । कसैकसैको घरमा भएका कपासका बोट बत्ती कात्न प्रयोग भएको पाइन्थ्यो । पशुपालन पनि निजी र स्थानीय उपभोग एवं कृषिकार्यका लागि थियो तथापि चुक र घिउ भने पाल्पा, बटौली वा पत्थरकोट लैजाने भन्थे । सुन्तला धेरै फलाउनेले बोटमै यतिका सुन्तला बेचे रे भन्थे । सुन्तला र घिउका भारी बोकेका भरिया देखिन्थे । आउँदा नुनतेल, मट्टीतेल, जिरा, साबुन, कपडा आदि बोकाएर ल्याउँथे । 
गाउँमा कृषि विशेषज्ञ त के सहायकहरू पनि थिएनन् । सदरमुकामतिर बस्ने कृषिविद्लाई किसानले सायदै भेट्थे । कुन ठाउँ वा कस्तो माटोमा के खेती गर्ने कुन बीउ हिउँदमा र कुन बर्खामा रोप्ने भन्ने पुस्तान्तरित ज्ञान र अनुभवमा आधारित थियो । रातोमाटो, कालीमाटी, पाँगोमाटो, चिउरेमाटो, कमेरेमाटो भन्थे । खेतमा खोलाबाट पाँगो छिराए धान बढी फल्छ भन्थे । तप्केनीमा खेत हँुदैन भनेर डिल वा आलीमा रहेका डालेघाँसका खेतबारीतिर आएका हाँगा काट्थे । अलि रुखो माटोमा फापर, भटमास रोप्ने भन्थे । रुखो माटोमा रोप्ने बाली धेरै मलिलो माटोमा रोपे बोट हस्किन्छ भन्थे । बोट हस्किनु भनेको बोट अग्लो हुने तर फल नलाग्ने अवस्था हो । 
गाउँमा जोसँग जति जमिन थियो त्यसमा सकेसम्म धेरै किसिमका अन्न, फलफूल, तरकारी, मसला र डालेघाँस लगाउने गरिन्थ्यो । सुर्का वा हलो नलाग्ने ठाउँमा हलेदो (बेसार), अदुवा, पिँडालु खनेर लगाउँथे । तरुल लगाउँदा ठूला खाल्डो खनी खोस्मेरा (पातपतिङ्गर) पनि हाल्थे । कसैकसैले खास वर्षको अन्तरालमा मात्र तरुल खन्दा सप्ताहसमेत लगाउँथे र निम्तारुलाई तरुल उपहार दिएर पठाउँथे । सकेसम्म आफ्नो परिवारलाई चाहिने कृषि उपज आफैँले उत्पादन गर्ने प्रयास गरेको देखिन्थ्यो । 
घर वरिपरि बावरी (पुदिना होइन), लालकोटी, केवरा, लाउरे, थुँगेफूल, बेगम आदि फूल हुन्थे । प्रायः मानिसका घरमा मैरी (तुलसी मठ) हुन्थ्यो र त्यसमा तुलसी लगाएका हुन्थे । मैरीमै वा त्यसको वरिपरि तिल र जौका बोट देखिन्थे । 
खेतमा बर्खामा धान गह्रामा र मास आलीमा तथा हिउँदमा गहुँ लगाउने चलन थियो । घरनजिक खेत हुनेले खेतमा पनि हिउँदे तरकारी लगाउँथे । बारीमा मकै, कोदो, फापर, गहुँ, जौ मुख्य अन्न हुन्थे । सोस्ता (बोडी), सिमी, केराउ, झिलङ्गी (मस्याम) बारीमा हुने दलहन थिए । तोरी र सस्र्युं तेलहन थिए । 
लेक, बेसी र मध्यभाग तथा पहार र रिपाहामा कुन खेती कहिले गर्ने भन्ने समय घरका मुख्य मानिसलाई थाहा हुन्थ्यो । घरगोठ वरिपरि करेसाबारीमा तरकारी लगाइन्थ्यो । करेसाबारीमा रामतोराएँ, बकुला, फूलगोभी, कालो काउली (पात बढी हुने र पात नै खाने), लसुन, खुर्सानी, बाइमाड़ा (गोलभेडा), झुसे करेला आदि लगाउँथे । चिस्यान हुने ठाउँमा पुतना (पुदिना) हुन्थ्यो । खुर्सानी हरेक वर्ष लाएको देखिन्नथ्यो, पुराना बोटका हाँगा पुसतिर काटिदिएपछि बर्खामा पलाउँथे । तीन चार वर्ष खुर्सानीको उही बोटले काम चल्थ्यो । 
त्यो बेला गाउँमा धेरैले फलफूल बेच्दैनथे । बोटमा पाकेको केरा सक्नेले टिपेर खान पाउँछ भनिन्थ्यो । सायद दशैँताक केरा बिक्री हुन्थे । आउने जानेले सुनाएरै फलफूल टिप्थे र लैजान्थे प्रायः चारवटा दाना टिपेँ है भन्थे र घरकाले पाकरी (पाको गरी ) टिपेस् वा हाँगा नभाँचेस् है भन्थे । पाकेर झरेका फलफूल लान माग्नुपर्दैनथ्यो । आरु, आरुबखडा, किम्बु त भुइँभरि झरेका हुन्थे । कागती र अमिलोको भने चुक बनाइन्थ्यो । उखु पेलेर खुदो र गुड पार्थे । 
टिमुर, सिम्लिकान, जलुका र काभ्रोको टुसा निजी जङ्गलका भए छरछिमेकका जो कसैले पनि टिप्थे अनि जसको जङ्गलका वा जसले लगाएका हुन् तिनलाई बुझाउँथे र त्यसबाट टिप्नेलाई आधा जति दिने गरिन्थ्यो । बाँसको तामा कसैले भाँचिदिएमा वा पशुले खाएमा झगडा पनि हुन्थ्यो । खुला ठाउँमा भएका बाँसका तामामा काँडा र गोबर लगाई गाईगोरुबाट जोगाइन्थ्यो । खेतबारीमा पसेर टिप्नु भने चोरी मानिन्थ्यो । कोही उपद्रयाहाले बाटोबाट हातले पुगिने हरिया मकै भाँची काँचै खाने गरेको सुनिन्थ्यो । यसलाई ‘भोक लागेर त खाए होला’ भनिन्थ्यो । चोरी गरेको भन्ने खासै सुनिँदैनथ्यो । 
पहाडको उत्तर फर्केको भागलाई रिप वा रिपाहा र दक्षिणपट्टि फर्केको भागलाई पहार भनिन्थ्यो । रिप वा रिपाहातिर के रोप्ने र पहार वा पहारिलो भागतिर केके खेती गर्ने भन्नेबारे मानिस सचेत थिए । पास्सै (रायो), चम्सुर, पालुङ्गो जस्ता सागपात रिपाहातिर रोपे राम्रो हुन्छ भन्थे । रिपाहातिर फलफूल रोपे ढिलो पाक्ने र अलि अमिलो हुने भनेको सुनिन्थ्यो । बेँसीतिर आँप (अम्चुर), कटहर दरियाँ (भुइँकटहर), अनार दारिम देखिन्थ्यो । 
खेतको आलीमा मास रोप्ने गरिन्थ्यो । बारीका डोरा (डिल) मा कागती, अमिलो, सुन्तला, आरुबखडा, बेलौती (अम्बा), आरु, केरा जस्ता फलफूल लाउने गरेको देखिन्थ्यो । 
अलि धेरै बारी हुनेले डोरामा (डिल) डाले घाँस (काभ्रो, फोस्रो, खन्यू, बिडुलो, भुटुक, पैयुँ आदि) लगाउँथे । खेती गर्ने जमिनको नजिक बाँस र सल्लो नलगाउने भन्थे । बाँस र सल्लोले वरिपरिको जमिन रुखो बनाउँछ भन्थे । फोस्रोको पटुवा बनाएर पशु बाँध्ने दाम्ला बनाउँथे । गिठीका रुख भए ठेका (दही बनाउने मोही पार्ने) ठेकी (मही राख्ने) गाबु (दूध दुहुने) चौँठी (तेल राख्ने) हर्पे (घिउ राख्ने) भाँडाकुँडा बनाउन प्रयोग गर्थे । अमलाको बोटका बोक्रा र हाँगा जुत्ता बनाउने छाला नरम पार्ने कामका लागि दिएको पनि देखिन्थ्यो । बाँस, लिबाँस र निगालोको चोयाबाट मान्द्रा, सुपो (नाङ्लो) कोठा, डाली, सोली, फुङ्गो आदि बनाउन प्रयोग गरिन्थ्यो । धानको परालबाट गुन्द्री र मकैको खोस्टा र पातबाट चकटी बुन्थे । 
आफ्नो खेतबारीको सुरक्षाका लागि पर्खाल र काँडेतार लगाउने चलन थिएन । सार्वजनिक चौर अर्थात् गौचरनसँग जोडिएका खेतबारीमा नीलकाँडा, सिमली, खिर्रो, असुरो, तितेपाती लगाएर बारबेर गर्ने गरिन्थ्यो । बाँस गाडेर भाटाले बार्ने चलन पनि थियो । सार्वजनिक चौरमा पनि ठाउँठाउँमा बाँस र काभ्रोका रुख रोपिन्थे । 
बारीमा वैशाखतिर मकै रोपिन्थ्यो । मकैसंँगै सोस्ता (मकै बोडी), सिमी, तितेकरेला रोपिन्थ्यो । बारीको डिलमा कबली (फर्सी) रोपिएका ढिकतिर आएर फल्थे । यस्तो फर्सीलाई चिचिन्डो, घिरौँला, तोराएँ जस्तो झिक्रो (थाँक्रो) मा जाने गरी रोपेको देखिएन । काँक्रो, घिरौँला, चिचिन्डो, घिरौँला, तोराएँ, हिउँदे सिमी, झुसे करेला मलखाडी (गोठमा मल थुपार्ने ठाउँ) भन्दा मुनि खासगरी बाँसले बारेको बारलाई झिक्रो (थाँक्रो) बनाउने गरी रोपिन्थ्यो । कोदो प्रायः पर्ममा रोपिन्थ्यो भने अरू खेती गर्दा नगद र अन्न ज्याला दिने चलन थियो । हलीलाई बिहान खाना, दिउँसो खाजा र घर जाने बेलामा एक माना अन्न, अलिकति तरकारी (हरियो वा मस्याौरा, सिन्की, सुकाएको साग) नुन र बेसार पनि दिन्थे । बेलाबेलामा भुटुन (घिउ तेल) माग्ने र दिने गरेको पनि देखिन्थ्यो । 
मकैखेती गर्दा उसिनेका मकै वा मकैको पिठो  (गिलो नहुने गरी पकाएको मकैको च्याँख्ला), जौ गहुँ छर्दा खुदो राखेको जौको सातु वा बिरम्ला (उसिनेका गेडागुडी) वा गहुँका रोटी तथा धान रोप्दा चामलको पिठो र अचार अर्नी (खाजा) दिने चलन थियो । मोही भएसम्म पानी खाने र खान दिने चलन थिएन । पानी खाँदा र खान दिँदा खुदेपानी वा अलिकति गुड दिने गरिन्थ्यो । घरमा कोदो, फापर हुनेले त्यसका रोटी बनाएर पनि अर्नी (खाजा) दिन्थे । 
गाउँमा रासायनिक मल गएको थिएन । यो मलका पसल अलिपछि सदरमुकामतिर देखिन्थे । रासायनिक मललाई विकासे मल भन्थे । आकार हेरेर गेडामल र चिनीमल भन्ने नाम दिइएको थियो । किन्नुपर्ने हुँदा सुरुमा विकासे मल हाल्ने गरिँदैनथ्यो । विचार गर्न भनी विकासे मल ल्याउनेले त्यो मलले माटो रुख्याएको र बोट मारेको पनि भन्थे । अन्नखेती गर्ने ठाउँमा तरकारीखेती गरी सदरमुकामतिर लगेर बेच्न थालेपछि रासायनिक पदार्थको प्रयोग क्रमशः बढेको थियो । 
खेतमा ब्याड बनाउँदा पाकेको गोबरमल, असुरोका कलिला हाँगासहितका पात, तितेपाती र खिर्रोका मुन्टा राख्ने चलन थियो । खिर्राका मुन्टा ओइलाएर नराखे बीउ काड्दा हातगोडा चिलाउँछ भन्थे । खेतबारीको वरिपरि असुरो र तितेपातीका बार लगाउने चलन थियो । यी दुवै बिरुवा पशुले खाँदैनथे त्यसैले बारबेर र मल दुवैको काम यी वनस्पतिबाट लिइन्थ्यो । 
खेतबारी र घरघडेरी जोगाउन भल काट्ने चलन थियो । भल काट्ने भनेको जमिनको माथिल्लो भागमा अलि ठूलो कुलो बनाई पानी तर्काउनु हो । भल काटेर सकेसम्म खोलाखोल्सा र नसके जङ्गलभित्र पु¥याएर छोडिन्थ्यो । घरगोठमा आवतजावत गर्ने उकालो ओरालो बाटोमा पौडी (बाटोमा सिँढी बनाई ढुङ्गा छाप्ने काम) चिन्ने गर्थे । पौडी चिनेपछि वर्षाको पानीले खेती र बाटो बिगार्न पाउँदैनथ्यो । 
बाँदरबाट बाली जोगाउन कुकुर पाल्ने र टिन ठटाएर बाँदर लखट्ने गर्थे । घरबाट अलि टाढाका खेतबारीमा बुकुरा (छाप्रा) हालेर बसी मान्छे र कुकुरबाट बाँदर धपाइन्थ्यो । गुलेली पनि हान्थे, अति भए भरुवा बन्दुक पड्काउने गरेको पनि सुनिन्थ्यो । 
धान र कोदोको बीउ काड्ने र रोप्ने काम महिलाले गर्थे । जोत्ने, ठिगारे (खेत हिल्याउने सम्याउने) र छेउकुना खन्ने काम पुरुषले गर्थे । डल्ला फोर्ने काम महिला पुरुष दुवैले गर्थे । हलीबाहेकका पुरुष कामदारलाई खेताला र महिलालाई खेताली भनिन्थ्यो । 
बुढापाकाहरू बाटोघाटो वा चौरको सेरोफेरोबाट हिँड्दा गुइँठा भेटे टिपेर खेतबारीतिर फालिदिएको देखिन्थ्यो । त्यसो गर्न खेतबारी आफ्नै हुनुपर्दैनथ्यो । 
मानिसहरूले ‘हुने होस् बरु नदेओस्’ भन्थे अर्थात् अरूको हित गर्दा आफ्नो स्वार्थ हेर्ने चलन थिएन । वैशाखमा उपरखुट्टी लाउनेले भदौमा मकै चोर्छ भन्थे । 
गाउँमा बीउबिजन बेच्ने गरिंदैनथ्यो । बीउका लागि राखेको अन्न खेतीको समय नसकिएसम्म खाने चलन थिएन । उभ्रेको (आफूले प्रयोग गरेर बचेको) बीउ अरूले मागे दिने गरिन्थ्यो । बीउ माग्न लाज मानिँदैनथ्यो । दिँदा पैसा खोजिँदैनथ्यो । 
मकै धेरै हुनेले उरिम (काठको सानो घर जसको भुइँतलामा ढिकी र माथिल्लो तलामा मकैका घोगा राख्ने घर) मा मकै राख्थे । उरिम नबनाउनेले झुत्ता पारेर सुलीमा वा घरका बार्दलीमाथि राख्थे । मकैका खोस्टाले चार पाँचवटा मकै गाँठो पारेर राख्नुलाई झुत्ता पार्ने भनिन्थ्यो । यसरी मकै राख्दा दक्षिण (घाम पर्ने) तिर राखिन्थ्यो । 
मकैको बीउ राख्दा खोस्टा सुकेको रोज्जा (ठूलो) घोगा छान्ने गर्थे । ती घोगाबाट बाहिरी खोस्टा निकाल्थे र घाममा सुकाउँथे । केही समयपछि खोस्टा पूरै निकालेर घोगा सुकाइन्थ्यो र थन्काइन्थ्यो । अलिपछि मकै छोडाएर तामाको रोचे वा गाग्री भए तिनमा र नभए माटोका घंँटोमा बीउ राख्थे । बीउ छान्दा सकेसम्म किचिला दाना (मसिना र चाउरी परेका) बिनेर (हातले टिपेर) छुट्याइन्थ्यो । बीउको मकैका दाना भाँडामा राखेपछि तितेपातीका पात र खरानी राखेको पनि देखिन्थ्यो । भाँडोको मुख पानीटारा (प्लास्टिक) वा रातो माटोले बन्द गरेको पनि पाइन्थ्यो । राम्ररी सुकाएर यसरी राखेको अन्नमा घुनपुत्ला लाग्दैन भन्थे । 
धानको बीउका लागि किचिलो नभएको धान कुन गह्रामा फलेको छ ख्याल गरिन्थ्यो । त्यस्तो धान काटेर पाँजा (मुठा) पारी आलीमा सुकाइन्थ्यो । ती पाँजा छुट्टै झारेर बीउ छुट्याइन्थ्यो । टारी र गैरीखेत एकै ठाउँमा भए प्रायः यसो गर्थे अर्थात् पानी बढी लागेको गैरीखेतबाट बीउ छुट्याएको जस्तो लाग्छ्र । अलि लेकका टारी र गैरीखेतमा फरक बीउ र बेँसीमा फरक बीउ रोप्थे । धानको बीउ पनि सुकाएर कोठा (बाँसको चोयाले बनेको भाँडो), तामाको रोचे वा गाग्री वा माटोका भाँडामा राख्थे । यति घाम उति घाम सुकाएको बीउ भन्थे । 
धानको ब्याड राख्ने बेला भएपछि बीउ निकालेर पानीमा भिजाउने गरिन्थ्यो । हरेक दिन बीउमा राखेको पानी फेर्ने गरिन्थ्यो । पानी नफेरे बीउको पानी असाध्य गन्हाउँथ्यो । 
चैतमा पर्ने पानीलाई चैते मकै छर्ने पानी, वैशाखमा पर्ने पानीलाई मकै छर्ने पानी, जेठमा पर्ने पानीलाई ब्याड राख्ने पानी र असारमा धान रोप्ने बेलामा पर्ने पानीलाई ‘हाल पार्ने’ पानी भनेको सुनिन्थ्यो । 
घिरौँला, चिचिन्ड़ो, तोराएँ, काँक्रा आदि फल्न सुरु गरेपछि पहिले फलेकामध्येबाट सप्रेकोलाई बीउको भनी छुट्याउने गरिन्थ्यो । तितेकरेला बारीमा पाकेर रहेको बीउ आफैँ पनि उम्रिन्थ्यो । मलखाडीमा लगाएकोमध्येबाट सप्रेको करेलालाई बीउ भनी पाक्न दिने चलन थियो । छिप्पिएर राम्ररी पाकेपछि टिपी घाममा सुकाएर बीउ राख्ने गरिन्थ्यो । ‘अनिकालमा बीउ जोगाउनु, हुलमुलमा जीउ जोगाउनु’ भन्ने उखान हुँदा बीउ जोगाउने कुरामा सजगता देखिन्थ्यो । कतिपय तरकारीका चिचिला (सानो रूप) छोए कुहिन्छ भन्थे । 
कुनै बीउबिजन कम उम्रे, सानो फले, धेरै कुहिए, धेरै झरे त्यस्तो बीउ उबाल्ने भन्थे । उबाल्ने त्यो बीउ फेरि नरोप्ने नछर्ने हो । यसलाई बीउ फेर्ने पनि भनिन्थ्यो । बीउ उबाल्दा वा फेर्दा आँठा जोडिएका र अरू छरछिमेकी सल्लाह गर्थे । बीउ फेर्न वरपर वा अर्को गाउँबाट नयाँ बीउ खोजेर रोप्ने छर्ने गरिन्थ्यो ।

(लेखक नेपाल सरकारका पूर्वसचिव हुनुहुन्छ । ) गोरखापत्रवाट

प्राप्त प्रतिकृयाहरू

To Top