बुटवलमा  शैक्षिक संगोष्ठी, स्थानीय पाठ्यक्रम र नगर शिक्षा योजनामा विज्ञहरुको सुझाव संकलन

समाज असार २७ २०७६ ekhabarnepal
Dr. bidhnath 1

बुटवल, असार २७ ।

बुटवल उपमहानगरपालिकाले वृहत्त शैक्षिक संगोष्ठी गरेको छ । बुटवलले तयार पारेको स्थानीय पाठ्यक्रम, नगर शिक्षा योजना र प्राविधिक तथा व्यवसायिक सीपमूलक शिक्षाका विषयमा सुझाव संकलनका लागि संगोष्ठी गरिएको हो । 
बुटवल उपमहानगरपालिकाको सभाहलमा भएको शैक्षिक संगोष्ठीमा शिक्षविद, विषयविज्ञहरु र शैक्षिक सरोकारवालाहरुको सहभागिता थियो । विज्ञहरुले स्थानीय पाठ्यक्रमले बुटवलको चिनारी गराउने र यहाँको समृद्धिका लागि यहीँको समुदायबाट जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
बुटवल उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम, नगर शिक्षा योजना र प्राविधिक तथा व्यवसायिक सीपमूलक शिक्षाको मस्यौदा तयार पारेको छ । आउँदो शैक्षिक शत्रदेखि लागु गर्ने यीनै विषयका मस्यौदामा उपमहानगरपालिकाले विज्ञहरुको सुझाव संकलन गरेको हो । 
संगोष्ठीमा सहभागी विज्ञहरुले बुटवल उपमहानगरपालिकाले नमुना कामको सुरुआत गरेको भन्दै प्रशंसा गरे । विज्ञहरुले स्थानीय पाठ्यक्रमका सिकाईका क्षेत्र र त्यसको प्रभावलाई ख्याल गरेका शिक्षक तथा स्रोत व्यक्ति छनौट गर्नुपर्ने सुझाव दिए । 
कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले शैक्षिक विकासका लागि नयाँ नीति र नयाँ योजनाको खाँचो रहेको बताउँदै तीनै तहको सहकार्यमा अभियान सञ्चालन गर्नुपर्ने बताए । 
बुटवलले सुरु गरेको नमुना कार्यक्रमले प्रदेशका सबै स्थानीय तहका लागि उपयोगी दस्तावेजको काम गर्ने बताउँदै मन्त्री बरालले बुटवलले अगाडि सारेका शैक्षिक विकासका योजनाहरुलाई साकार पार्न प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताए ।
उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले स्थानीय पाठ्यक्रममा समेट्ने विषयहरु र लक्षित विद्यार्थीहरुको उमेर समूहलाई हेक्का राख्दै पाठ्यभार निर्धारण गरिएको बताए । उनले शैक्षिक संगोष्ठीले बुटवलको नगर शिक्षा योजनालाई व्यवहारिक बनाउन विशेष मद्दत पुग्ने भन्दै सबैको सहकार्यमा योजनाहरुलाई कार्यान्वयन गर्दै व्यवहारिक बनाइने बताए ।  
संगोष्ठीमा शिक्षाविद् डाक्टर विद्यानाथ कोइराला, प्राविधिक तथा व्यवसायिक सीपमूलक शिक्षा काठमाण्डौका प्राडा राजेन्द्रप्रसाद अधिकारी, पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराई, शिक्षाविद् तथा भरतपुर उपमहानगरपालिकाका शिक्षाविज्ञ रमाकान्त सापकोटालगायतका विज्ञहरुले बुटवल उपमहानगरपालिकाले शैक्षिक विकासका क्षेत्रमा नमुना काम गरेको भन्दै प्रशंसा गरे ।
त्यसअवसरमा बुटवल उपमहानगरपालिकाका शिक्षाविज्ञहरु रामलाल श्रेष्ठ, बुद्धिसागर भट्टराई र छवी नेपालले  स्थानीय पाठ्यक्रम, नगर शिक्षा योजना र प्राविधिक तथा व्यवसायिक सीपमूलक शिक्षाका बारेमा बुटवल उप–महानगरपालिकाका लागि तयार पारिएका योजनाहरु प्रस्तुत गरिएको थियो । 
विज्ञहरुका सुझावका आधारमा मस्यौदालाई अन्तिम रुप दिइने र आउँदो शैक्षिक शत्रदेखि लागु गरिने बुटवल उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख उपसचिव मित्रमणी खनालले जानकारी दिए । यी योजनाहरुका बारेमा समूहहगत छलफलमार्फत निश्कर्ष निकाल्दै विज्ञहरु सामू प्रस्तुत गरिएको र त्यहाँबाट आएका निचोडलाई बुटवलको शैक्षिक योजनामा समेटिने उपसचिव खनालले बताए । समूहका तर्फबाट कपिलवस्तुको वाणगंगा नगरपालिकाका शिक्षा विकास महाशाखाका बाबुराम भट्टराई, प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेल र सुर्खेत मेडिकल कलेजका आयोजना प्रमुख जीतबहादुर शाहले विषयगत सुझावहरु राख्दै सीपलाई श्रम र उत्पादनसंग जोड्नुपर्नेमा सुझाव दिए ।
बुटवल उपमहानगरपालिकाले आधारभूत तहदेखि कक्षा ८ सम्म पठन पाठन हुने गरि एक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम तयार पारेको छ । बुटवलको ऐतिहासिक, पर्यटकीय, सांस्कृति, धार्मिक, समाजिक र विविध विषयहरु समेटेर बुटवलको चिनारी गराउने उद्देश्यले यहाँको अलग्गै स्थानीय पाठ्यक्रम तयार पारिएको उपप्रमुख गुमादेवी आचार्यले बताइन । बुटवलको स्थानीय आवश्यकताका विषयवस्तु यहीँका नागरिकको अपनत्व हुने गरी स्थानीय ज्ञान, सिप र प्रविधिलाई पाठ्यक्रममा समेटिएको छ । 
केन्द्रबाट तय हुने राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका स्थानीय संस्कृती, जनजीवन, भुगोललगायतका पक्षलाई समेट्ने  गरि स्थानीय पाठ्यक्रम बनाएर लागु गर्ने अधिकार स्थानीय तहमा आएको थियो । सोही अवधारणा र संवैधानिक व्यवस्था बमोजिम बुटवलको स्थानीय पाठ्यक्रम तयार पारिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।

प्राप्त प्रतिकृयाहरू

To Top