२० कूटनीतिज्ञको अनुभव पुस्तकाकारमा

समाज असार २४ २०७६ ekhabarnepal
Kutanithi.jpg

काठमाडौँ,असार २४
  पत्रकार एवं नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले सम्पादन गरेको नेपालको कूटनीतिक अभ्यास, राजदूतहरुको अनुभव’ सार्वजनिक भएको छ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले प्रकाश गरेको पुस्तक मंगलबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सार्वजनिक गरेका हुन्।

पुस्तकमा विभिन्न कालखण्डमा नेपालको राजदूतका रुपमा काम गरेका २० जना पाका कुटनीतिज्ञको अनुभव समावेश गरिएको छ।

पुस्तक सार्वजनिक गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले किताबमार्फत नेपालको कुटनीतिक इतिहास उजागर भएको बताए।

उनले असजिलो अवस्थामा पनि कुटनीतिज्ञहरुले कसरी काम गर्नुपर्छ भन्ने मार्गदर्शन पुस्तकले गरेको उल्लेख गरे । मन्त्री ज्ञवालीले किताबले कुटनीतिक क्षेत्रमा भए गरेका कामहरुलाई दस्तावेजी करण गर्ने महत्वपूर्ण काम सुरुवात भएको दाबी गरे।

पूर्व परराष्ट्र सचिव डा. मदनकुमार भट्टराईले पुस्तकमा नेपालको पाँच दशकको कुटनीतिक अनुभव समावेश भएकाले बहुउपयोगी हुने बताए ।

उनले राजदूतहरूको उमेरलाई प्राथमिकता दिएर अनुभवहरू लेख्न लगाइएको र यसले निरन्तरता पाउने बताए।

उनले पाका राजदूतहरूको अनुभव जस्ताको तस्तै राख्ने प्रयास गरेको र कतिपय अवस्थामा उनीहरूले उल्लेख गरेको भाषासम्म पनि सम्पादन नगरेको बताए।

पुस्तकमा सन् १९८८ मा इस्लामिक गणतन्त्र पाकिस्तानका लागि राजदूत भएका अर्जुननरसिंह राणादेखि डिसेम्बर २००९ मा श्रीलंकाका लागि राजदूत भएका सुशीलचन्द्र अमात्यसम्मका २० राजदूतहरुको अनुभव समेटिएको छ।

पुस्तकमाथि टिप्पणी गर्दै पत्रकार युवराज घिमिरेले दलीय अंशवण्डाबाट भन्दा पनि राजदूतहरु राष्ट्रिय स्वार्थलाई ध्यान दिएर नियुक्त गर्नुपर्ने उल्लेख गरे ।

पुस्तकमाथि पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापाले समेत टिप्पणी गरेका थिए ।

प्राप्त प्रतिकृयाहरू

To Top