विषादी परीक्षणलाई छिटै निरन्तरता दिइन्छः मन्त्री ज्ञवाली

राजनीति असार २१ २०७६ ekhabarnepal
1

बुटवल, असार २१ । 
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारी आवश्यक तयारी पूरा गरी भारतबाट आयात हुने फलफूल र तरकारीमा विषादी परीक्षणलाई निरन्तरता दिने बताएका छन् । सीमा नाकामा परीक्षणका लागि आवश्यक उपकरण नहुँदा काठमाडौं ल्याउनुपर्ने बाध्यताले विषादी परीक्षण तत्काललाई स्थगीत गर्नुपरेको जानकारी दिंदै उनले सरकार पछि हट्यो भन्ने ढंगले व्याख्या नगर्न विपक्षीलाई आग्रह समेत गरे । 
नेकपा बुटवल उपमहानगर कमिटीले शनिबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले तयारीबिना विषादी परीक्षण गरिंदा यो अवस्था आएको भन्दै ६ महिनाभित्र तयारीका सबै काम सकेर विषादी परीक्षणलाई निरन्तरता दिइने बताए ।
परराष्ट्रमन्त्री ज्ञवालीले वर्तमान सरकार गठन भएको पहिलो वर्षमा ‘समृद्धिको आधार’ तयार गर्न सफल भएको पनि दावी गरे । उनले पहिलो वर्षमा संविधानको पूर्ण कार्यान्वयन र संघीयतालाई स्थापित गर्न सफल भएको बताए ।
मन्त्री ज्ञवालीले वर्तमान सरकारको मुख्य ‘मिसन’ मुलुकको समृद्धि भएको बताउँदै अहिलेसम्म भएका सबै खाले आन्दोलनबाट प्राप्त अधिकारको जगमा उभिएर आर्थिक समृद्धिमा देश अघि बढेको दाबी गरे । 
उनले जनताका अपेक्षा अपार रहेको बताउँदै वर्तमान सरकारलाई जनताको अपार समर्थन प्राप्त भएजस्तै सरकारले पनि जनताका अपेक्षा पूरा गर्ने प्रतिबद्ध व्यक्त गरे । वर्तमान सरकारले देशको विकास र समृद्धिको बहशलाई अघि बढाएको बताउँदै उनले सरकारमा रहेका कमी कमजोरीलाई सुधार गरेर अघि बढ्ने बताए । 
मन्त्री ज्ञवालीले सरकारको काम गर्ने रफतारमा कर्मचारी संयन्त्रको ढिला सुस्ती समस्याको रुपमा रहेको बताउँदै कार्यान्वयन गर्ने संयन्त्रमा रहेको समस्याले अपेक्षाकृत उपलब्धि प्राप्त हुन नसकेको बताए  । उनले सरकार सही बाटोबाट अघि बढी रहेको बताउँदै वर्तमान सरकार र नेकपाको नेतृत्वले एतिहासिक अभिभारा पूरा गरेरै छाड्नेसमेत प्रतिबद्धता व्यक्त गरे  । उनले पार्टी एकीकरण टुंगिन लागेको र नेताहरुको कार्यविभाजन बाँकी रहेको भन्दै यसलाई पनि छिटै टुंगोमा पु¥याइने बताए ।
पार्टीभित्र चलेको वैचारिक विषयमा उनले विचारका विषयमा अहिले बहश जतिनै भए पनि बहुदलीय प्रतिष्पर्धा भित्र जनताको जनवादको बाटोबाट अघि बढ्ने विषयमा कुनै द्विविधा नरहेको र यसको नामाकरण भने महाधिवेशनले मात्रै टुङ्गो लगाउने बताए  । कार्यक्रम पार्टी नगर कमिटी अध्यक्ष बाबुराम पन्थीको अध्यक्षतामा भएको थियो । 

प्राप्त प्रतिकृयाहरू

To Top