प्रहरीको सर्वाधिक खोजीमा रहेका ‘नसिम बादशाह’ पक्राउ

समाज असार २१ २०७६ ekhabarnepal
Pakrau  badsha bqiyhyl1qi

कपिलवस्तु :असार २१
 प्रहरीले मोष्ट वान्टेडको सूचीमा राखेको फरार अभियुक्त नसिम खाँन उर्फ बाद्शाह पक्राउ परेका छन्। कपिलवस्तु जिल्लाको साविक पिपरा गाविस वडा नं. २, हालको मायादेवी गाउँपालिका वडा नम्बर ४ घर भएका उनी सीमावर्ती भारतको अलिअढवामा लुकेर बस्दै आएका थिए। प्रहरीका अनुसार उनले त्यहाँ घरसमेत बनाएका छन्। 

 विगतको माओवादी द्वन्द्वमा प्रतिकार समूहका नाममा तत्कालीन माओवादीका जिल्लास्तरीय नेता राजेन्द्र तिवारी, प्रेम परियार, अकाली धोवी, ज्ञानबहादुर सुनार, शिवपूजन कुर्मीलगायतको हत्या अभियोग लागेका फरार अभियुक्त खाँन काठमाडौंबाट पक्राउ परेका हुन्। 
नसिमलाई कपिलवस्तुमा नसिम वादशाह भनिन्छ भने उनले अनौपचारीक कुराकानीमा आफूलाई वादशाह नै भन्ने गरेका थिए। कपिलवस्तु प्रहरीले मोष्टवान्टेड सूचीमा राखेका नसिम काठमाडौंमा १० दिनदेखि बस्दै आएका थिए। 
विभिन्न हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका उनी सिआइबीको टोलीबाट शुक्रबार राति पक्राउ परेका हुन्। विगतमा विभिन्न सशस्त्र समूहमा रहेर घटना घटाएका खाँन तराईका सशस्त्र समूहसँग राज्यले गरेको वार्ताका पहलमा हतियार बुझाएर सार्वजनिक भएका थिए।
 तर उनीमाथि विभिन्न जघन्य अपराधका मुद्दा दर्ता भएको र ती मुद्दाको सिलसिलामा प्रहरीले पुनः पक्राउ गर्ने संकेत पाएपछि उनी ३ वर्षअघि एक सार्वजनिक कार्यक्रममा प्रहरी उपरीक्षक र प्रजिअकै सामुन्नेबाट स्थानीय नागरिकको घेरावन्दीमा पुनः फरार भएका थिए। तत्पश्चात उनी भारतमा बस्दै आएका थिए। 
यता एक वर्षअघि कपिलबस्तुको मायादेवी गाउँपालिका ४ का वडाध्यक्ष फत्ते मोहमदका ७ वर्षीय छोरा आयान खानको एक वर्षअघि हत्या गरेको समेत बाद्शाहमाथि अभियोग लागेको छ। 

उनी विरुद्ध झण्डै एक दर्जन जति हत्या, लुटपाट, आतंक मच्चाउने गतिविधि र अपरहरणका मुद्दा दर्ता छन्। प्रहरीको फरार सूचीमा रहेका उनीमाथि सातवटा कर्तव्य ज्यान मुद्दा र एउटा डाँका मुद्दा दर्ता छ।
विगतमा विभिन्न सशस्त्र समूहमा संलग्न रहेका खान तराइका सशस्त्र समूहसँग राज्यले गरेको वार्ताको पहलमा हतियार बुझाएर सार्वजनिक भएका थिए।  तर यसका अलावा अन्य व्यक्तिगत घटनासँग सम्बद्ध हत्या तथा अपहरणको मुद्दाका कारण उनी सीमा पारी भारतीय बजारमा बस्दै आएका थिए। कपिलवस्तु प्रहरीले समेत विशेष टोली बनाएर खानको खोजी गरिरहेको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top