प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध

राजनीति असार १८ २०७६ ekhabarnepal
Photo2 1

बुटवल,असार १८
 प्रदेश नं ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीनली बीच समझदारीपत्रमा हस्ताक्षर भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

समझदारीपत्रमा हस्ताक्षर भएपछि मुख्यमन्त्री पोखरेलले यो समझदारीले दुई देशको सम्बन्धलाई अझ उचाईमा पुर्‍याउन बल पुग्ने विश्वास व्यक्त गरेका छन् । त्यसैगरी सिचुवान प्रान्तका गभर्नर लीले नेपाल र चीनबीचको निकै पुरानो घनिष्ठ सम्बन्ध रहदै आएको र यो समझदारीले भविष्यको उज्यालो यात्रा कोरेको बताए ।

समझदारीपछि मुख्यमन्त्री पोखरेल र गभर्नर लीले दुई प्रदेशबीच उच्च स्तरको भ्रमण आदानप्रदान बढाउँदै समृद्धिको यात्रामा एकआपसमा सघाउ पुर्‍याउदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री पोखरेलले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाईमा अघि बढाउन नेपाली जनताको पहिलेदेखिको चाहना पूरा भएको बताए । त्यसैगरी उनले प्रदेश, पालिका र जनताबीचको सम्बन्धले दुई मुलुकबीचको सम्बन्ध बलियो बन्दै जाने प्रधानमन्त्री केपी ओलीको सन्देश पनि सुनाएका थिए ।

उनले गभर्नर लीलाई प्रदेश ५ र बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि निमन्त्रणा गरे । उनले भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल छिट्टै सञ्चालन हुन गइरहेको र छेन्दु—भैरहवाबीच सिधा हवाई उडान सञ्चालनका लागि आवश्यक सहयोग गर्न आग्रह गरे ।

गभर्नर ली ले लुम्बिनी भ्रमणको निम्ता दिएकोमा धन्यवाद ज्ञापन गर्दै भैरहवा—छेन्दु सिधा उडानका लागि आगामी दिनमा आवश्यक सल्लाह गरेर जान सकिने बताए ।

प्रदेश ५ कृषि र पर्यटन विकासको प्रचुर सम्भावना रहेको र सिचुवानले कृषिको व्यवसायिक विकास र पर्यटन प्रवद्र्धनमा हासिल गरेको अनुभव काम लाग्ने मुख्यमन्त्रीले बताए ।

त्यसैगरी औद्योगिक विकासको संभावना उत्तिकै रहेको प्रदेश ५ मा तीन औद्योगिक क्षेत्र बन्न लागिरहेको जानकारी गराउँदै मुख्यमन्त्रीले सिचुवानका लगानीकर्तालाई लगानीका लागि गभर्नरबाट प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री र चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागका उपमहानिर्देशक से सङबीच भेटवार्ता भएको छ । भेटमा उपमहानिर्देशक सङले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धनिकै पूरानो रहेको र दुई पार्टीबीचको सम्बन्धले दुई देशबीचको मित्रतामा पनि बल पु¥याएको बताए ।

उनले नेकपा र नेपालले लिदै आएको एक चीन नीतिको प्रशंसा गर्दै नेपालको सार्वभौमसत्ता र अखण्डताप्रति पनि चीनको सम्मान रहेको बताए ।

मुख्यमन्त्री पोखरेलले पार्टीनिर्माणमा चिनियाँ कम्युनिष्ट पार्टीको अनुभव नेकपाका लागि उपयोगी हुने र चीनको विकास प्रयास पनि नेपालका लागि काम लाग्ने बताए ।

उनले नेपालको विकास प्रयासमा चिनियाँ सद्भावप्रति धन्यवाद दिए । उनले बिआरआई मार्फत काठमाडौं हुँदै लुम्बिनीसम्म रेल जोडिने कुराले प्रदेश ५ का जनता खुशी भएको सुनाएका थिए ।

चिनियाँ रेल लुम्बिनी पुर्‍याउन सके नेपालको विकास प्रयासमा महत्वपूर्ण फ्डको मार्ने र चिनियाँ बौद्धमार्गीलाई लुम्बिनी पुग्न सहज हुने उनले बताएका थिए ।

उनले नेपाली नागरिक चीनका राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको प्रतिक्षामा रहेको र यो सन्देश पुर्‍याउन नेता सङलाई आग्रह गरे । उपमहानिर्देशकलीले यो वर्ष नेकपाको तीन उच्चस्तरीय भ्रमण भएको र प्रदेशस्तरीय भ्रमण आदानप्रदान प्रदेश ५ बाट शुरु गरेकोमा खुशी व्यक्त गरे ।

त्यसैगरी मुख्यमन्त्री पोखरेल र कृषि अनुसन्धान केन्द्रका प्रमुख यान सिउपिन बीच पनि भेट भएको छ । भेटमा कृषि अनुसन्धान केन्द्रका प्रमुख सिउपिनले सिचुवानमा कृषिको व्यवसायिक विकासमा पाएको सफलताबारे मुख्यमन्त्री सहितको नेपाली टोलीलाई जानकारी गराए ।

सिचुवान प्रान्त कृषि उत्पादनमा निकै राम्रो गरेको चर्चा गर्दै कृषिको व्यवसायिक विकासले किसानको जीवनस्तरमा सुधार आएको उनले बताए । उनले कामको खोजीमा शहर पसेका नागरिकलाई गाउँ फर्काएर कृषिकर्ममा लगाउन विशेष कार्यक्रम चलाएको जानकारी गराए । कृषि कर्ममा लाग्नेलाई भत्ताको व्यवस्था गरेको र त्यसले आर्कषण गरेको उनको भनाई थियो ।

मुख्यमन्त्री पोखरेलले प्रदेश ५ मा पनि कृषिको व्यवसायिक विकासको प्रचुर सम्भावना रहेको बताउँदै व्यवसायिक विकास गर्न र किसानको जीवनस्तर सुधार गर्न सिचुवानको अनुभव उपयोगी हुने बताए ।

उनले रोजगारीको लागि युवा विदेश जाने प्रवृत्ति नेपालमा निकै रहेको र कृषिको व्यवसायिक विकास मार्फत युवालाई गाउँमै राख्न चिनियाँ अनुभवको अनुसरण गर्ने बताए ।

उनले कृषि अनुसन्धानको सिचुवानको अनुभव प्रदेश ५ का लागि उपयोगी भएकाले प्रदेश ५ को भ्रमण गरी आवश्यक प्राविधिक सहयोग गर्न आग्रह गरे ।
चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागको निमन्त्रणामा मुख्यमन्त्री पोखरेल १० दिने भ्रमणमा सोमबार छेन्दु पुगेका हुन् ।

भ्रमणका क्रममा सिचुवान प्रान्तको याआन नगर र घोराही उपमहानगरपालिका तथा गोइजाउ प्रान्तको लियुयान्सु नगर र ठाकुरबाबा नगरपालिकाबीच पनि भगिनी सम्बन्ध कायम गर्ने समझदारी हुनेछ ।


 

प्राप्त प्रतिकृयाहरू

To Top