पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य

अर्थ असार १६ २०७६ ekhabarnepal
1561950975


बर्दिया,असार १६
यस वर्षको १६ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव बर्दियाको राजापुरमा मनाइएको छ । ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने नाराका साथ कृषि विभागको आयोजनामा धान दिवस तथा रोपाई महोत्सव राजापुर ८ धोविनपुरमा मनाइएको हो ।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले राइसप्लान्टर (धान रोप्ने मेसिन)बाट धान रोपेर उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री खनालले परम्परागत कृषि प्रणालीलाई नबदलेसम्म कृषिको क्षेत्रमा परिवर्तन नहुने बताउँदै कृषिमा यान्त्रीकरण र व्यावसायीकरण गरी कृषि क्षेत्रबाटै समृद्धि हासिल गरिने बताए । मुलुकलाई पाँच वर्षभित्र उत्पादनमा दोब्बर वृद्धि गरी कृषिमा आत्मनिर्भर बनाउनु पर्ने उनको भनाइ थियो ।

मुलुकको ६६ प्रतिशत जनसंख्या कृषिमा निर्भर रहँदा पनि ठूलो परिमाणमा कृषिउपज आयात भइरहेको बताउँदै उनले कृषिको आधुनिकीकरण गरी उत्पादन बढाएर आयात घटाउनुपर्ने धारणा राखे । “सरकारको अबको लक्ष्य पाँच वर्षभित्र उत्पादन दोब्बर बनाएर कृषिमा आत्मनिर्भर बनाउने हो,” उनले भने, “भारतलगायत मुलुकवाट भइरहेको आयात घटाएर कृषिजन्य वस्तु नेपालबाट अन्यत्र निर्यात गरिने छ ।” त्यसका लागि विभिन्न मुलुकसँग निर्यात गर्ने प्रक्रिया थालिएको उल्लेख गर्दै उनले दुई महिनादेखि कतारसँग सम्झौता गरी महिनामा लाखौंको तरकारी पठाउन सुरु भइसकेको जानकारी दिए ।
चालू आर्थिक वर्षको हालसम्मको आँकडा हेर्दा आयातको तुलनामा ज्यादै न्यूनमात्र कृषि उपजको निर्यात भएकोमा चिन्ता व्यक्त गर्दै मन्त्री खनालले कृषिमा यान्त्रीकीकरणको प्रयोग गरेर उत्पादनमा बृद्धि गरी निर्यात बढाइने बताए । “यसवर्ष डेढ सय अर्बको कृषिजन्य उत्पादनहरू आयात भएको छ,” उनले भने “निर्यात भने ज्यादै न्युन १३ अर्बको मात्र छ ।” विभिन्न मुलकवाट आयातको माग भइरहे पनि उत्पादन बढाउन नसक्दा निर्यात हुन नसकेको उनको भनाइ थियो ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा साकार पार्न पहिला ६५ प्रतिशत कृषकलाई सुखी बनाउनुपर्ने बताउँदै मन्त्री खनालले नेपालको कृषि अझै आधुनिक, नाफामुलक, सम्मानीत र आर्कषकको केन्द्र बन्न नसकेको स्वीकारे । कृषिलाई साँच्चै बदल्ने हो भने कृषिका ठोस योजना बनाएर अघि बढनुको विकल्प नरहेको उनको भनाइ थियो । कृषि अनुदानलगायत कृषि ऋण वास्तविक किसानसामु नपुगेसम्म कृषकको जीवनस्तरमा परिवर्तन नआउने उल्लेख गर्दै उनले बैंकिङ प्रणालीमार्फत किसानले अनुदान उपलब्ध गराउने योजना बनाइरहेको जानकारी दिए । “त्यो योजना मन्त्रिपरिषद्बाट पास हुने अवस्थामा छ,” उनले भने ।
सरकारले यसवर्ष विषादीमुक्त बनाउने अभियान थालेको मन्त्री खनालले बताए । विषादीयुक्त फलफूल तथा तरकारी आयातमा रोक लगाउन सीमामा विषादी अन्वेषण परीक्षण गरेर मात्र भित्र्याउने प्रबन्ध थालिएको उनको भनाइ छ । विषादीमुक्त नेपाल बनाउन चालू आवमा ४ वटा प्रदेशमा ५२ करोड विनियोजन गरेको जानकारी दिए । “प्रदेश नम्वर १, ३, गण्डकी र कर्णाली प्रदेशलाई प्रांगारिक प्रदेश बनाउने काम थालिएको छ,” उनले भने । 
बर्दियाको राजापुर क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धानको सुपरजोन कार्यक्रमसमेत सञ्चालन रहेको छ । धान सुपर जोनको संयोजनमा धान दिवस तथा रोपाइँ महोत्सव यस वर्ष भने अलि फरक रह्यो । दिवसमा यान्त्रीकीकरणको प्रयोग गरेर धान रोपाई गरियो । पञ्चे बाजा र स्थानीय थारु सांस्कृतिक नाचका साथ धान दिवस तथा रोपाइँ महोत्सवको मन्त्री खनालले आइतबार उक्त क्षेत्रमा कस्टम हायरिङ सेन्टरको समेत उद्घाटन गरे । कार्यक्रममा कृषि विभागका महानिर्देशक, जिल्लाबाट प्रतिनिधित्व गर्ने विभिन्न सांसदहरू, जिल्लास्थित सरोकारवाला र स्थानीयको उल्लेख्य सहभागिता थियो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top