नेपाली समाजका नविन विचारक मदन भण्डारी र सामाजिक रुपान्तरणको कार्यदिशा

बिचार असार १५ २०७६ ekhabarnepal
Bal bhd acharya

बलवहादुर आचार्य
क) नेपाली राजनीतिको मियो जवज 
यस हप्ता नेपाली राजनीतिका राजनेता मदन भण्डारीको जन्म जयन्तिको हप्ता रहयो । विशेष गरी मदन भण्डारी फाउण्डेशन र पार्टी कमिटीहरुले मदन भण्डारीको योगदान, जवज र समाजवादी अर्थतन्त्रका आधार लगायताका विषयहरुमा चर्चा तथा अन्तरक्रियाहरु गरीरहेका छन् । नेपालको राजनीतिमा क मदन भण्डारीले अघि सारेका विचार शान्तिपूर्ण रुपले सवै विचारहरुसंग सरकार संचालनका लागि प्रतिपर्धा गर र संसदमा बलियो उपस्थितिकासाथ समाजको आमूल रुपान्तरको काममा जुट भन्ने सोचका साथमा अहिले नेकपा नेपालको राजनीतिको केन्द्र भागमा उभिएको छ र करिव दुई तिहाइको सरकार संचालन गरी रहेको छ । इमान्दारीताकासाथमा बास्तविकतालाई आत्मसाथ गदेै भन्ने हो भने यति बेला नेपालको राजनीतिको मियो जवजकै सोचमा केन्द्रित भएर चलिरहेको छ ।


ख) क.मदन भण्डारीको जन्म जयन्तिको सार्थकता 
जतिबेला विश्व कम्युनिष्ट आन्दोलन संकटका कारण क्रमशः पछाडी हटीरहेको थियो र कम्युनिष्ट पार्टीहरु कस्तो कार्यनीतिवाट आगाडी बढीयो भने आन्दोलनलाई अस्तित्वकासाथमा अगाडी बढाउन सकिन्छ भन्ने बारेमा व्यापक बहस चलिरहेका थियो । त्यस वेला क. मदन भण्डारीको अगुवाईमा पूँजीपति बर्गको राज्य सत्तालाई शसस्त्र युद्ध मार्फत निषेधको वाटोवाट मात्र होइन खुल्ला प्रतिष्पर्धाको मैदानवाट पनि राज्यसत्तामा सहभागी बन्दै प्रतिकृयावादी राज्यसत्ता भत्काउन र समाजको आमूल परिवर्तन गर्दै समाजवादको स्थापनाको वाटोमा अगाडी बढन सकिन्छ भन्ने नविन विचारको प्रतिपादन गर्नु भएको थियो । यस नविन विचारलाई स्वयम उक्त अभियानको नेतृत्व गर्दै प्रतिष्पर्धाको मैदानमा सो विचारलाई व्यवहारमा प्रमाणित गर्नु भएको थियो । यहि विचार यतिबेला नेपालका कम्युनिष्ट पार्टीहरुले व्यवहारमा उतार्दै र जनताको मन जित्दै नेपालको संसदीय इतिहासमा मात्र होइन विश्व कम्युनिष्ट आन्दोलनमा पनि निर्वाचनको माध्यमवाट यति ठुलो उपलव्धिको विषय अनुसन्धानकर्ताहरुको लागि खोज तथा अनुसन्धानको विषय बनेकोछ । यतिबेला नेपालको यो उपलव्धिलाई सफलताको साथमा कार्यान्वयन गर्ने विषय नेकपाको लागि एउटा महत्वपूर्ण चुनौतीको रुपमा रहेको छ भने विश्व कम्युनिष्ट आन्दोलनको लागि पनि एउटा जिज्ञासाको विषय भएकोछ । क मदन भण्डारीले नेपाली समाजको रुपान्तरणका सन्दर्भमा भन्नु भएको ३ वटा चरणको बारेमा मनन योग्य र माक्र्सवाद सम्मत देखिन्छ । उहाँका अनुसार नेपाली समाजमा रहेका पुराना, अव्यवहारिक तथा बिकृत पक्षहरु विशेष गरी सामन्ती समाजको उन्मुलन पहिलो चरण, पूँजीवादीजनवादी समाजको सुदृढीकरण दोस्रो चरण र समाजवादमा रुपान्तरण तेस्रो चरण । अहिले हामी जनवादी पूँजीवादी समाज व्यवस्थाको सुदृढीकरणको चरणमा छौ । यो चरण लामो तथा तथा केही जटिल हुने भएकोले यस अवस्थालाई सुझबुझ पूर्ण रुपमा कार्यान्वयन आवश्यक छ । यस विषयलाई नेपाली समाजमा सफलताको साथमा कार्यान्वयन गर्ने र नेपाली समाजलाई जनवादीपूँजीवादी समाजमा सुदृढ गर्दै समाजवादी समाजका आधारहरु तयार गर्न सकियो भने मात्र जननेता क. मदन भण्डारीको जन्म जयन्ति कार्यक्रमहरुको सार्थकता हुनेछ । 
ग) समाजवादी समाज निर्माणका पूर्वाधारहरु के हुन् ? 
अ) समाज के हो ? 


कुनै पनि निश्चित भूगोल, उक्त भूगोलमा बस्ने मानव समुदाय र सो स्थानमा बस्ने मानिसहरुले जीवन निर्वाहका लागि गरिने आर्थिक कृयाकलापको समुच्चय रुप नै समाज हो । यसरी भन्दा मानव समुदाय, निश्चित भूगोल र आर्थिक कृयाकलाप नै समाजका मूल आधारहरु हुन ।
आ) समाजको उत्पादन प्रणाली भनेको के हो ?
समाजको उत्पादन प्रणाली भन्नाले मूलतः उत्पादक शक्ति र उत्पादन सम्वन्धको योग हो । उत्पादक शक्ति भन्नाले १. श्रम, कामदार २. श्रम गर्ने बस्तु जमिन, कारखाना तथा कार्यथलो जहाँ मानिसहरुले आफ्नो श्रमको प्रयोग गर्दछन । ३. श्रमको साधान अर्थात औजार मेसिन तथा प्रविधि । उत्पादन सम्वन्ध भन्नाले मूलत स्वामित्व तथा उत्पादति बस्तुको उपभोग गर्ने अधिकारको कुरा हो । समाजमा भएका यहि उत्पादन सम्वन्धका आधारमा त्यो समाज के हो र समाजमा कसको अगुवाई छ भन्ने कुरा निर्धारण हुन्छ । समाजको रुपान्तरण भनेको मूलत यहि उत्पादन सम्वन्धको परिवर्तन नै हो ।
इ ) पृथ्वीमा मानिसको विकास कसरी भयो ?
आज भन्दा १५ अरव वर्ष पहिले महाविष्फोटवाट ब्रहाण्डको जन्म भयो । यसै क्रममा ४ अरव ५० करोड वर्ष पहिले आकाशीय पिण्ड टुक्रिएर पृथ्वी बन्यो । ३ अरव वर्ष पृथ्वीलाई सेलाउन लाग्यो । त्यस पछि मात्र पृथ्वीमा जीवको विकास हुदै गयो । ५० करोड वर्षभन्दा पहिल्यै यस पृथ्वीमा सबैभन्दा पुराना एक कोषीय जीवहरूको उत्पत्ति भएको मानिन्छ । ४० करोड वर्ष पहिले पानीमा बस्ने माछाहरू देखा परे । २५ करोड वर्ष पहिले जमिनमा हिंड्ने सरिसृपहरू (सर्प र छेपारहरु) देखा परे । २० करोड वर्ष पहिले अन्य स्तनपायी जीवहरू र सरिसृपहरु देखा परे । ७ करोड ५० लाख वर्ष पछि बन मान्छे जातीका बाँदर एवं वनमान्छेहरु देखा परे । ७ करोड वर्षको अन्तरालमा बल्ल बादर जातीहरु मानव जातीमा रुपान्तरण भए । ४० लाख वर्ष पहिले आदीम मानव समाज देखा पर्यो जसलाई आदीम साम्यवादी युग भनिन्छ ।
ई) मानव समाजहरु कस्ता कस्ता थिए ? 
१. आदिम सांम्यवादी युग अर्थात मानवको जंगली अवस्था ४० लाख वर्ष पूर्ववाट भयो । यो काल मावन समाजको प्रारम्भिक काल भएका कारण ज्यादै लामो ३९ लाख ९० हजार बर्षको रह्यो । यसले सातवटा उपचरणहरु पार गरेकोछ ।
२. दास युगीन समाज मानव समाजले प्रकृतिसंगै लडदै भिडदै विभिन्न आविस्कार गर्दै र आफुले अविस्कार गरेका औजारहरुको प्रयोग गर्दै समाज यस युगमा आयो तर समाज दुइवाट वर्गमा विभाजित भयो । मानव समाजमा शोषणको शुरुवात भयो । एउटा मालिक वा शासक वर्ग जो दासहरुको शोषणमा रमाउने र अर्को दास वर्ग श्रमजीवि वर्ग । उत्पादनका साधनहरुको विकासले यो समाज पहिलो समाजको सापेक्षतामा १० हजार वर्ष पूर्ववाट रुपान्तरण हुदै आयो ।  
३.सामन्ती युग ः यस युगमा दासका मालिकहरुले दासहरुलाई आफ्नो कव्जावाट केही स्वतन्त्रता दिदै ठूला क्षेत्रमा खेतिपातीको काम गराउने उनीहरुलाई बाच्नका लागि केही अनाज दिने र उत्पादनको संपूर्ण आफुले लिदै किसानहरुमा चरम शोषण गर्ने गर्दथे । यस समाजमा उत्पादकका शक्ति किसानहरु भए पनि उत्पादनमा स्वामित्व पूर्ण रुपमा जमिन्दारको हातमा हुन्छ । यसरी यस समाजमा किसान र जमिन्दार दुई वर्गहरु देखा परे । यस युगको शुरुवात इ.पू.४७६ वाट भएको मानिन्छ ।   
४.पूँजीवादी युगः जव सामन्ति समाजमा मेसिनहरुको उत्पादन हुन थाल्यो एउटा मेसिनले धेरैको काम गर्न थाल्यो र मानिसहरु बेराजगार हुदै शहर तर्फ पस्न थाले र उनीहरु शहरका कल कारखानाहरुमा आफ्नो जीवन यापनको लागि काम गर्न थाले र पूँजीवादी युगले तिव्रता पाउन थाल्यो । श्रमिकहरु ठुलो सख्यामा मालिकको कारखानाको उत्पादनमा १८,२० घण्टासम्म काम गर्ने तर श्रमको मूल्य नपाउने गरी चरम शोषणमा पर्न थाले । यस समाजमा पनि पूँजीपति र श्रमिक गरी दुई वर्गहरुका वीचमा संघर्षहरु हुन थाले । उत्पादक शक्तिका रुपमा रहेका श्रमिहरु उत्पादनको मूल पक्ष भए पनि उत्पादनको स्वामित्व पूर्ण रुपमा पुँजीपतिमा केन्द्रित हुन्छ । समाजमा धनी र गरिव वीचको खाडल ज्यादै ठूलो हुन्छ, समाजमा शोषण तथा भेदभावहरु हुन्छन । यसै युगमा कम्युनिष्ट विचारधाराको विकास भई समाजवादी समाजका बारेमा सोचहरु निर्माण हुन थाल्यो । 
५.समाजवादी युगः

जव समाजमा श्रमिक र पूँजीपति वीचमा चरम शोषण हुन थाल्यो । राज्यका साधनश्रोतहरुमा पूँजीपति वर्गको लुट हुन थाल्यो अनि राज्यको अधिकार र संपत्तिमा समाजको हक स्थापना हुनु पर्दछ भन्ने विचार समाजमा देखा पर्यो । विशेष गरी कार्ल माक्र्स र फेडरिक ऐगेल्सले कम्युनिष्ट विचारधार र समाजवादी समाज व्यवस्थाका बारेमा विचारहरु प्रतिपादन गरे । यस समाज व्यवस्थामा उत्पादक शक्तिका रुपमा रहेका श्रमिकहरुको स्वामित्व श्रमिकहरुको पनि हुनु पर्दछ भन्ने विचार आयो । राज्यका साधनश्रोत माथि राज्यको नियन्त्रण हुने राज्यले नै समाजमा पछि परेका क्षेत्र तथा समुदाय तथा नागरिकको ग्यारेन्टी लिने व्यवस्थालाई समाजवादी समाजको रुपमा व्याख्या गरियो । यस समाजमा धनी र गरिवको खाडल हुदैन,मानिसहरु स्वाभिमानका साथमा जीवन निर्वाह गर्न पाउछन र समाज समानता देखापर्दछ । यस विचारलाई व्यवस्थित रुपमा सन् १९१७ मा रुसको अक्टोवर क्रान्तिवाट प्रयोगमा आयो । यसै समयवाट नै विश्वमा समाजवादी समाजको व्यवस्थित रुपमा स्थापना भएको मानियो ।


उ. ) आधुनिक समाजका मुख्य खम्वाहरु के के हुन ?
समाज विकासको शुरुको चरणमा समाजमा राजनीति, अर्थतन्त्र तथा समाज व्यवस्था तथा सस्कृति लगायतका विषयमा एउटै केन्द्रवाट संचालित हुदै आयो भने समयको परिवर्तनसंगै धेरै विषयमा ज्ञानको विशिष्टीकरण हुदै आयो भने समाजका विभिन्न पक्षहरुमा पनि विशिष्टीकरण हुदै गयो । आधुनिक समाजलाई पनि मुलतः ४ वटा पक्षका रुपमा लिइन्छ । ति पक्षहरु राजनीति, अर्थतन्त्र, समाज व्यवस्था र सँस्कृतिहरु हुन । समाजको आमूल रुपान्तरणका लागि हामीले यी ४ वटै पक्षहरुमा रुपान्तरणको आवश्यकता हुन्छ । कुनै पनि समाजमा राजनीति रुपान्तरण सवै भन्दा छिटो हुन्छ भने त्यस पछिको रुपान्तरण आर्थिक हुन्छ भने सामाजिक तथा साँस्कृतिक रुपान्तरका लागि समाजले धेरै लामो दुरी तय गर्नु पर्ने हुन्छ । हामीहरु अहिले सामन्ती समाजको रुपान्तरण गर्दै पूँजीवादी समाजमा प्रवेश गरे पनि समाजमा आर्थिक रुपान्तरणको गति सोही रुपमा नभएका कारण हामीमा आर्थिक रुपान्तरणको अनुभूति सोही अनुपातमा हुन सकेको छैन । त्यसमा पनि साँस्कृतिक रुपान्तरणको पक्षमा त रुपान्तरणको अनुभूति ज्यादै कम देखिन्छ । त्यसैले रुपान्तरणको यो नियमलाई पनि हामीले आत्मसाथ गर्दै समाज रुपान्तरणके अभियानमा लाग्न आवश्यकछ ।
ऊ ) समाज रुपान्तरणको माक्र्सवादी सिद्धान्त के हो ? 
निषेधको निषेध माक्र्सवादी सिद्धान्तको समाज रुपान्तरणको महत्वपूर्ण नियम हो । कुनै पनि समाजमा रुपान्तरण हुँदा समाजको रुपान्तरण जिरोवाट शुरु हुने र जिरोमा अन्त्य हुने हुदैन् । पुरानो समाजको गर्भवाटै नै नयाँ समाजको विकास हुन्छ । यसरी विकास भएको नयाँ समाजले पुरानो समाजलाई क्रमशः निषेध गर्दै समाज रुपान्तरण हुन्छ । समाजको रुपान्तरणमा मूलतः तिनवाट पक्षहरु हुन्छन ः  
१. त्याज्य पक्ष

कुनै पनि बस्तुमा समयको गतिसंगै काम नलाग्ने अव्यवहारिक पक्षहरु लोप भएर जान्छ । २. संयोजक पक्ष ः बस्तुको रुपान्तरणमा दुई वटा अवस्थाको वीचमा पुलको रुपमा काम गर्ने गर्दछ । ३. नयाँ पक्ष ः बस्तुको रुपान्तरणको अवस्थामा बर्तमान समयको प्रतिनिधित्व गर्ने नवीन पक्ष । यी तिनवटा पक्षहरुको समिश्रण नै बस्तुको रुपान्तरणको अवस्था हो । यिनै पक्षहरु नै समाज विकासको माक्र्सवादी सिद्धान्तको नियम हो । यही सार्वभौम नियमलाई हामीले समाजका हरेक रुपान्तरणहरुमा विश्लेषणका रुपमा प्रयोग गर्न सक्दछौं । 
ए) युगिन रुपमा नेपाली समाज काँहा छ ?
यतिबेला नेपाली समाज सामन्ती समाजवाट रुपान्तरण भई मूलतः पूँजीवादी समाजमा रुपान्तरण भएको छ । यतिबेला नेपाली समाज न त पुर्ण रुपमा सामन्ति समाजवाट मूक्त छ न त परंपरागत पूँजीवादी समाजको रुपमा अगाडी बढेकोेछ न त समाजवादी समाजको वाटोमा नै अगाडी बढेको छ । बास्तवमा नेपाली समाज यतिवेला मूलतः पूँजीवादी समाजमा विकसित भई रहेता पनि समाजमा सामन्ति समाजका अवशेषहरु र समाजवादी समाजका भ्रुणहरु पनि रहेको त्रिकोणीय मिश्रित अवस्थामा रहेको छ । 
ऐ) नेपाली समाज समाजवाद उन्मुख रुपान्तरणको कार्य दिशा के हो ? 
यतिवेला नेपाली समाजले सामन्ति समाजका अवशेषहरुको अन्त्य गर्ने, पूँजीवादी उत्पादन प्रणालीलाई विकासित गर्ने तर यसको उत्पादन सम्वन्धलाई उत्पादक शक्तिलाई विकसित गर्दै उत्पादनको स्वामित्वलाई समाज र विशेष गरी पछि परेको क्षेत्र र समुदायको हितमा परिचालन गरी समाजवादी समाजको आधारहरु तयार गर्ने दिशामा केन्द्रित गर्नु पर्ने अवस्था र दायित्वमा रहेको छ । यतिबेला राज्यका संचालकहरु पूँजीवादी उत्पादन प्रणालीको विकास गर्ने नाममा आफै पूँजीवादी सोचको दलदलमा फस्ने खतरावाट भने समाजलाई बचाउन जरुरी छ ।
नेपाली समाजलाई समाजवाद उन्मुख अर्थतन्त्र तर्फ रुपान्तरण गर्न कृयाशील भएका नेकपाको नेतृत्वमा संचालित सवै सरकारहरुले विकासका बजेटहरु बनाउँदा सामाजिक क्षेत्रमा लोककल्याणकारी कार्यक्रमहरुलाई बृद्धि गर्ने, नेपालका साधनश्रोतहरुको अत्यधिक सदुपयोग गरी राष्ट्रिय पूँजीको विकास गर्दै स्वाधिन र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, पछि परेको क्षेत्र तथा समुदायहरुलाई विकास निर्माणका कार्यमा प्राथमिकता दिने, संपूर्ण नेपालीहरुलाई गाँस, वाँस, कपास, शिक्षा, स्वास्थ्य तथा रोजगारीको क्षेत्रमा क्रमशः ग्यारेन्टी गर्ने गरी आर्थिक उत्पादन र स्वामित्वमा सहभागी बनाउनु नै यतिबेला नेपाली समाजलाई रुपान्तरण गर्दै समाजवादी समाजको आधार तयार गर्ने कार्यदिशा हो । छोटकरीमा भन्दा समाजवादी समाज भनेको समाजका हरेक नागरिकलाई अनिवार्य रुपमा जीवनका हरेक क्षेत्रमा समान अवशर पाउने सामाजिक व्यवस्थाको निर्माण गर्नु हो । नेपाली समाजलाई क्रमशः यस दिशा तर्फ अगाडी बढाउनु नै समाजवाद उन्मुख समाजको निर्माणको दिशा हो ।    


 

प्राप्त प्रतिकृयाहरू

To Top