नेकपा सचिवालय बैठक, नेताहरुको कार्यविभाजन छिट्टै

राजनीति असार ७ २०७६ ekhabarnepal
21

 
काठमाडौं,असार ७
 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको राजनीतिक प्रतिवेदनलाई शीघ्र अन्तिम रुप दिएर प्रकाशित गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको बैठकले पार्टीको राजनीतिक विचार र दृष्टिकोणलाई यथाशीघ्र अन्तिम रुप दिने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए । 

‘पार्टीको विचार, दृष्टिकोण र सिद्धान्तबारे पार्टी एकताको क्रममा भएको सहमतिलाई अन्तिम सम्पादनको जिम्मा अध्यक्षद्वयलाई दिएकोमा कसरी अगाडी बढेको छ, कुन ढंगले सम्पादन हुँदैछ भनेर अध्यक्षद्वयले जानकारी गराउनु भयो । अन्तिम रुप दिएर शीघ्र प्रकाशनमा लैजाने सहमति भयो’ पौडेलले भने । 

नेकपाले एकताका बाँकी कामलाई शीघ्र सम्पन्न गर्ने तथा केन्द्रीय सदस्यको कार्यविभाजन र पार्टीका विभाग गठनको कामपनि जतिसक्दो छिटो सम्पन्न गर्ने निर्णय भएको महासचिव पौडेलले बताए । 

बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारका काम कारवाहीको विषयमा जानकारी गराएका थिए । बैठकमा केही नेताहरुले प्रधानमन्त्री ओलीले सरकार सञ्चालनमा पार्टीसंग परामर्श नगरेको गुनासो गरेका थिए । 

‘सरकारले पार्टीसँग परामर्श नगरेका कारण गुठी विधेयकबाट सरकार पछि हट्नुपर्‍यो, सरकारको कमजोरीका कारण सरकारविरोधीले खेल्ने काम गरे’ असन्तुष्ट पक्षका एक नेताले बैठकमा भनेका थिए । 

बैठकमा केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेर सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा समेत कुरा उठेको स्रोतले बतायो तर यस विषयमा कुनै निर्णय भएन । 
 

प्राप्त प्रतिकृयाहरू

To Top