हिमनदी तीव्र दरमा पग्लँदै, करोडौँ मानिस जोखिममा

समाज असार ५ २०७६ ekhabarnepal
3

असार ५  बीबीसी 
शीतयुद्धकालीन जासुसी भूउपग्रहहरूले खिचेका तस्बिरहरूले हिमालयका हिमनदीहरूमा भइरहेको परिवर्तनको नाटकीय स्तर देखाएका छन्।

अमेरिकी जासुसी भूउपग्रहहरूले खिचेका तस्बिरहरू विश्लेषण गरेका न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले अघिल्लो २५ वर्षको तुलनामा गत दुई दशकमा हिमनदीहरूको बरफ पग्लने दर दोबर बढेको पत्ता लगाएका छन्।

वैज्ञानिकहरूले अमेरिकी जासुसी भूउपग्रहले विगतमा खिचेका तस्बिरसँग हालसालैका अन्तरिक्ष यानका तस्बिर दाँज्दा सो क्षेत्रमा गत ४० वर्षमा हिमनदी दोबर दरले पग्लिएको निचोड निकालेका छन्।

सन् २००० यता हिमनदीका उचाइ प्रति वर्ष औसतमा आधा मिटरले कम हुँदै गएको सो अध्ययनले देखाएको छ।

"यस अध्ययनमार्फत् हामीले हिमालयका हिमनदीहरूमा भएका परिवर्तनको सबभन्दा स्पष्ट तस्बिर देखेका छौँ," अनुसन्धानकर्ता जोसुआ मररले बताए।

सो अनुसन्धान साइन्स एडभान्सेस नामक जर्नलमा प्रकाशित भएको छ।

जलवायु परिवर्तनलाई अनुसन्धानकर्ताहरूले यसको मुख्य कारण बताएका छन्।

उक्त अनुसन्धानको अगुवाइ गरेका जोसुआ मरर भन्छन् दक्षिण एसियाका मानिसहरूमाथि यसको गम्भीर असर पर्न सक्छ।

"हिमनदीहरू खुम्चँदै जाँदा तिनले नदी प्रणालीलाई पुर्‍याउने योगदान कम हुँदै जानेछन्। यसले तल्लो तटमा बस्ने करोडौँ मानिसहरूका लागि पानी आपूर्तिमा असर पर्छ। साथै थप सुख्खा क्षेत्र हुनेछन् किनकि मनसुन सक्रिय नभएका बेला यिनै हिमनदीले पानी प्रवाह गर्छन्," मररले बताए।

सन् १९७० तथा १९८० ताका एक अमेरिकी जासुसी कार्यक्रम थियो जसको गोप्य नाम हेक्जागन राखिएको थियो।

सो कार्यक्रम अन्तर्गत २० वटा भूउपग्रह पृथ्वीको गोप्य फोटोहरू खिच्न अन्तरिक्षमा पठाइएको थियो।

ती फोटोहरू फिल्मका रोलमा खिचिएका थिए जसलाई भूउपग्रहले पृथ्वीको वायुमण्डलमा खसालिदिन्थ्यो र तिनलाई सैनिक विमानहरूले सङ्कलन गर्थे।

ती गोप्य तस्बिरलाई सन् २०११ मा खुला गरियो।

तिनलाई अमेरिकी भौगर्भिक सर्वे निकायले डिजिटल फर्म्याटमा ढालेर वैज्ञानिकहरूको प्रयोगका लागि उपलब्ध गराइएको थियो।

ती तस्बिर हालसालै नासा तथा जापानी अन्तरिक्ष निकायले खिचेका तस्बिरसँग दाँज्दा अनुसन्धानकर्ताहरूले सो क्षेत्रमा भएका परिवर्तन पत्ता लगाए।

कोलम्बिया विश्वविद्यालयको टोलीले २ हजार किलोमिटरमा फैलिएका ६५० हिमनदी अध्ययन गरे।

टोलीले पत्ता लगायो कि सन् १९७५ र २००० को बीचमा प्रत्येक वर्ष औसत ४ अर्ब टन बरफ पग्लन्थ्यो।

तर सन् २००० र २०१६ को बीचमा त्यो दर दोबर भयो र ८ अर्ब टन पुग्यो।

वैज्ञानिकहरू भन्छन् यी नोक्सानीले गम्भीर असर पार्छन्।
 अल्पकालमा, तिनले बाढी निम्त्याउन सक्छन्।

दीर्घकालमा, सुख्खा याममा हिमनदी पग्लिएर आउने पानीमा निर्भर दशौँ लाख मानिसहरू वास्तविक कठिनाइमा पर्न सक्छन्।
 

प्राप्त प्रतिकृयाहरू

To Top