दश जनाको सामूहिक अन्त्येष्टी

समाज असार ४ २०७६ ekhabarnepal

धनगढी,असार ४
 बझाङ जिल्लामा जीप दुर्घटनामा परि मृत्यु भएका दश जनाको बुधबार सामुहिक अन्त्येष्टी गरिएको छ।

दुर्घटनामा परेका जीप मालिक र मृतक परिवारहरुको क्षतिपूर्तिका लागि सहमति भएपछि जिल्ला अस्पतालबाट लास बुझेर मृतकका आफन्तहरुले परम्परा अनुसार आफ्नो मसानघाटमा दाहसंस्कार गरेका हुन्।

जिल्ला अस्पताल सिमखेतबाट मृतक दश जनाको शवयात्रामा सदरमुकामवासी, मृतकका आफन्त र शुभचिन्तकहरुको उल्लेख्य उपस्थिती रहेको थियो। दश जनाको लामबद्ध शव यात्रामा आफन्त र अन्य मानिसहरुको रुवाबासी थियो।

जिल्लामा यस्तो अप्रिय घटना कहिले पनि भएको थिएन र अब कहिले पनि यस्तो नहोस् शव यात्रामा सहभागि रामचन्द्र रोकायाले भने, ‘यो घटनाबाट पाठ सिकेर अब यस्तो घटना दोहोरिन नदिन सरकारले नीति बदल्नु पर्छ।’

सोमबार भएको जीप दुर्घटनामा मृत्यु भएका एकै परिवारका बुवा कलक खड्का र आमा जुनधारा खड्कालाई छोरा सन्देश खड्काले दागबत्ती दिएका थिए। सन्देशका भाई सरोज खड्का र विपना खड्काको शव गाडिएको थियो।

५० वर्षीया घौलीदेवी खड्का र छोरा हिक्मत खड्कालाई उनका छोराले भारतबाट आएर दागबत्ती दिएका थिए। साथै मृतक जुना खड्कालाई पनि सोही मसानघाटमा उनका छोराले दागबत्ती दिएका थिए। कोटदेबल गाउँका मृतक सात जना र रनाडा गाँउमा मृतक दुई जना गरी नौ जनाको सदरमुकाम चैनपुर पारिपट्टी धौलाबगर मसानघाटमा सामूहिक अन्त्यष्टी गरिएको थियो।

रनाडा गाउँका मृतक लक्ष्मी द्वाल र भक्त द्वालको पनि आफन्तहरुले दागबत्ती दिएर दाहसंस्कार गरेका थिए। नौ जनाको धौलाबगर मसानघाटमा अन्त्यष्टी गरेको थियो भने जिपका चालक सुरेन्द्र थापाको भने जिनाडा गाँउको कपडे मसानघाटमा अन्त्यष्टी गरिएको थियो।

शवयात्रा देखि अन्त्यष्टीसम्म एक हजार भन्दा बढी मानिसहरुको सहभागिता थियो। अन्त्यष्टीमा सहभागि भएका मानिसहरुले यसरी मसानघाटमा दश जनाका लास जलिरहँदा सबैका आँखा रसाएका थिए। मृतकहरुको दाहसंस्कारमा जनप्रतिनिधीहरु, पार्टीका नेताहरु, कर्मचारीहरु समेत सहभागी थिए।

यता प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले यो घटनाले आफूलाई साह्रै दुःख लागेको बताउँदै अबका दिनमा यस्तो घटना नदाहोरिनका लागि आफूले जिल्ला भरिका सबै यातायात व्यवसायीहरु, चालकहरु, सरोकारवालाहरुलाई बोलाएर ट्राफिक नियमको पालना गर्नुपर्ने, कानुन विपरित सञ्चालन भएका सवारी साधनलाई रोक लगाउने , चालकहरुको ईजाजत छ छैन् खोजी गर्ने बताए। साथै प्रजिअ सुनारले ग्रामिण भेगमा रहेका केही जोखिमयुक्त सडकहरुलाई नसुधारे सम्म जीप सञ्चालनमा पूर्णरुपमा रोक लगाउने पनि जानकारी दिए।

यो घटनाले जिल्ला नै शोकाकुल भएपछि मष्टा गाउँपालिकाले बुधबार औपचारिक रुपमा गाउँपालिका भित्र सार्वजनिक विदा दिएको छ। मृतक परिवारको क्षतिपूर्तिका लागि जीप साहुले मृतक परिवारलाई तीन–तीन लाखका दरले दिने सहमति भएको छ।

जीप दुर्घटनामा परि घाईते भएका पाँच जनाहरुको स्वास्थ्यमा सुधार हुदै गएको उनका आफन्तहरुले बताएका छन्। उनिहरुको नेपालगञ्जमा उपचार भई रहेको छ।

प्राप्त प्रतिकृयाहरू

To Top