पर्यटनमैत्री विकास गर्न सुझाव

समाज असार ३ २०७६ ekhabarnepal
64328655 423567871819320 8748415041226670080 n

भैरहवा, असार ३ ।

भैरहवा क्षेत्रका पर्यटन व्यवसायी, संघसंस्था, बुद्धिजीवी र सामाजिक अगुवाहरुले सिद्धार्थनगर नगरपालिकालाई पर्यटनमैत्री बनाई विकास गरिनु पर्ने सुझाव दिएका छन् । आगामी आर्थिक वर्षको बजेट र नगरपालिकाले बनाउन लागेको दीर्घकालीन गुरुयोजना बारे सोमबार भएको पूर्वाधार र पर्यटन विषय छलफलमा सहभागीहरुले बुद्ध जन्मस्थल लुम्बिनीको मुख्य प्रवेशद्वार भएकाले नगरले पर्यटनलाई नै आधारस्तम्भ मानेर अघि बढ्नु पर्ने सुझाव दिए ।

पर्यटन व्यवसायी एवं नाट्टा प्रदेश पाँच अध्यक्ष विष्णुप्रसाद शर्माले पर्यटकीय पूर्वाधार विकासमा नगरपालिकाले गरेका काम राम्रा भएको जनाउँदै दीर्घकालीन योजनालाई जोड दिएर अघि बढ्न सुझाए । उनले स्थलमार्गमा सबैभन्दा बढी पर्यटक आउने नगर भएकाले यहाँ सुन्दरीकरणमा विशेष योजना ल्याउनु पर्ने बताए । अध्यागमनमै बुद्ध र उनको जीवनीसँग आधारित डकुमेन्ट्री पर्यटकलाई देखाएर मात्रै गन्तव्यतर्फ पठाउनु पर्ने व्यवस्था मिलाउन आग्रह गरे । यस्तै, शर्माले बुद्ध जीवनमा आधारित सामानको विक्रीवितरणलाई समेत व्यवस्था मिलाउन आग्रह गरे । पूर्वाधार र पर्यटनलाई जोड्नुपर्नेमा उनले जोड दिए ।

उद्योग व्यापार संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारीले नगरपालिकाले जग्गा लिजमा उपलब्ध गराएरै भए पनि ठूला र तारे होटल स्थापनालाई प्राथमिकता दिनु पर्ने बताए । यस्ता होटललाई दर्ता शुल्कमा विशेष छुट दिनुपर्ने माग गरे । यस्तै भण्डारीले रात्रीबजार, होटल २४ सै घण्टा चल्ने वातावरण सिर्जना गर्न आग्रह गरे । हरियाली, वृक्षारोपण, सरसफाईमा ध्यान दिन आग्रह गरे । उनले भौतिक पूर्वाधार विकास राम्रो भएकाले पर्यटनमैत्री वातावरणलाई जोडदिन सुझाए । उनले भैरहवा मण्डव निर्माणमा पहल गर्न आग्रह गरे ।

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले सीमामै आकर्षक प्रवेशद्वारा बनाउनु पर्ने, फोहोर व्यवस्थापन गर्नुपर्ने, मठमन्दिरको संरक्षण र स्तरोन्नती गर्न सुझाव दिए । यस्तै उनले पार्किङ व्यवस्थापन, ट्राफिक लाइटको व्यवस्था, मूल सडकमा रहेका ग्यारेज तथा कवार्ड हटाउनुपर्ने, निर्माण गरिएका सडक साँगुरा भएको ठूला बनाउनु पर्ने, नगरभित्र रंगशाला बनाइनुपर्ने बताए । समाजिक अभियन्ता ज्ञानु पौडेल, पर्यटन व्यवसायी रुपक नेपाल, भानुभक्त ढकाल, राजनीतिकर्मी राजेन्द्रप्रसाद पन्थी, दीपक क्षेत्री न्यौपाने, भरतकुमार पोखरेल, लुम्बिनी प्रेस क्लब अध्यक्ष दीपेश पछाई लगायतले बोल्दै खेलकुदका संरचना व्यवस्थित गर्नुपर्ने, जथाभावी छरिएर रहेका कवार्ड पसलले सुन्दरीकरणलाई प्रभाव पारेको बताए ।

उनीहरुले अबको पूर्वाधार विकास वातावरण जोगाएर गरिनुपर्ने, सहरको सुन्दरीकरण गर्नुपर्ने, कर्मचारीका रुपमा टूरगाइड राख्नु पर्ने, डिजिटल सीसी क्यामेरा राख्नु पर्ने, होर्डिङबोर्ड आकर्षक बनाउनु पर्ने, स्थायी फोहोर व्यवस्थापन गरिनु पर्ने, बेलहियामा बनिरहेको प्रवेशद्वार सही ठाउँमा नभएको बताए । उनीहरुले पर्यटक लक्षित क्रियाकलापमा जोड दिन आग्रह गरे । आइतबार नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषि सम्बन्धी सुझाव संकलन गरेको थियो ।

नगर प्रमुख हरिप्रसाद अधिकारीले दुई दिनेको छलफलबाट धेरै सकारात्मक र दीर्घकालीन योजनामा प्रभाव पार्ने सुझाव आएकाले त्यसलाई कार्यान्वयनको चरणमा लगिने बताए । सबै क्षेत्रलाई समेट्ने गरी आगामी बजेटमा योजना पारिने र गुरुयोजना व्यवस्थित र दीर्घकालीन गराइने उपप्रमुख उमा काफ्लेले बताइन् । छलफलमा नगरपालिकाले पर्यटन र पूर्वाधार क्षेत्रमा गरेका कामका बारे बरिष्ठ इन्जिनियर शैलेन्द्रप्रसाद श्रेष्ठले प्रस्तुतीकरण गरेका थिए । अहिले क्षेत्रीय सहरी विकास अन्तर्गत नगरका सडक कालोपत्रे गर्ने काम भइरहेको छ ।

यस्तै, डण्डा कोरिडोर, बहुउद्देश्यीय भवन, मूल सडकमा बुद्ध मूर्ति राख्ने, प्रवेशद्वार निर्माण, पार्क निर्माण, सबै घरमा बुद्ध रंग लगाउने लगायतका काम नगरपालिकाले पर्यटन क्षेत्रमा अघि बढाएको श्रेष्ठले बताए । छलफलमा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत ख्यामबहादुर थापा, वडा नं. ३ का अध्यक्ष थानेश्वर पौडेल, इन्जिनियर यमलाल पाण्डे, जीवन अर्याल, शेखरनाथ पन्थी लगायत सहभागी थिए ।

प्राप्त प्रतिकृयाहरू

To Top