नागढुंगा सुरुङमार्ग प्रस्तावभन्दा ७० करोड कममा 

समाज जेठ ३० २०७६ ekhabarnepal
5859fc4f451ca

 काडमाडाैं,जेठ ३० । धादिङको सिस्नेखोलादेखि काठमाडौंको सतुंगल जोड्ने नागढुंगा सुरुङमार्ग निर्माण  प्रस्तावभन्दा ७० करोड कममा ठेक्का दिने सहमति भएको छ । प्राविधिक रुपमा उत्कृष्ट ठहरिएको हाज्मा/आन्दो जेभीको आर्थिक प्रस्ताव अन्य कम्पनीको भन्दा बढी भएपछि  वार्तामार्फत सहमति भएको हो ।
  आगामी असारसम्म कम्पनीसँग ठेक्का सम्झौता गरेर आगामी असोज महिनाबाट काम थाल्ने तयारी सडक विभागको छ ।

 ठेक्कामा एक जापानी र ५ चिनियाँ कम्पनी प्रतिस्पर्धामा थिए । जापानी सहयोग नियोग (जाइका)ले चिनियाँ कम्पनीबाट हुने काम गुणस्तरीय नहुने भन्दै चिनियाँ कम्पनीलाई ठेक्का दिन अस्वीकार गरेको थियो । तर, खरिद ऐन र नियमावलीले कम मूल्य कबोल गर्नेलाई नै ठेक्का दिनुपर्ने व्यवस्था कारण सडक विभागलाई दाताको दबाव मान्न असहज अवस्था आएको थियो ।

दातृ निकाय जापानी सहयोग नियोग (जाइका)ले जापानी कम्पनीले ठेक्का नपाए नेपालमा सहयोग कटौति गर्नेसम्मको चेतावनी दिएपछि हाज्माको प्रस्तावमा नै रकम घटाएर सम्झौता हुन लागेको हो । सम्झौताका लागि लागि जाइका स्वीकृति आवश्यक पर्छ ।

यो सुरुङमार्ग निर्माणमा टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग भने हुने छैन । विष्फोटक पदार्थ प्रयोग गरेरै सुरुङमार्ग निर्माण गरिने छ ।

यो सुरुङमार्ग निर्माणका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । जापानले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । सरकारले आगामी वर्ष ६ अर्ब २७ करोड विनियोजन गरेको छ ।

नौबीसेदेखि थानकोटसम्मको सडक खण्ड घुमाउरो र उकालो ओरालो भएका कारण यो क्षेत्रमा ट्राफिक जाम हुने गरेको छ । यस्तो ट्राफिक जाम न्युनीकरण गर्ने भन्दै सरकारले यस्तो योजना अघि सारेको हो ।

 यो सुरुङमार्गको लम्बाइ २.३५ किलोमिटर हुनेछ । अहिले सडकमा सानो अवरोध आउँदा पनि नौबीसेदेखि काठमाडौ प्रवेश गर्न नाकामै तीन घन्टासम्म पनि जाममा बस्नुपर्ने बाध्यता छ । सुरुङमार्ग निर्माण भएपछि भने २० मिनेटमा काठमाडौं प्रवेश गर्न सकिने छ ।

प्राप्त प्रतिकृयाहरू

To Top