राजादेखि विप्लव माओवादीसमेतको गोलमेच सम्मेलन  आवश्यक  

राजनीति जेठ २१ २०७६ ekhabarnepal
1472357060ddd igj9jknbnf


बुटवल,जेठ २१
 राप्रापाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले देशका शबै शक्ति अट्ने गरी गोलमेच सम्मेलन गर्नुपर्ने माग गरेका छन् । उनले राजादेखि विप्लव माओवादीलाई समेत समेट्ने गरि गोलमेच सम्मेलन आजको आवश्यकता भएको बताए ।
आज बुटवलमा राप्रपा प्रदेश नं. ५ कार्यालयको उद्घाटन गर्दै अध्यक्ष थापाले १२ वर्षको लोकतन्त्रको अभ्यासको अवधिमा  देश र जनताको विकास र समृद्धिको पक्षमा कुनै काम हुन नसकेको दुःखेसो गरे । 

देश ऋणबाट चलेको भन्दै उनले यस्तो दयनीय अवस्थामा सरकारबाट अर्थतन्त्र उकास्ने गरि योजना ल्याउन नसक्नु दुःखद भएको बताए । देशमा सतही विकास भएको भएपनि ठुलो र दरो विकास हुन नसकेको उनले बताए । तथ्याँकबाट नै गरिब र धनीका बीचमा खाडल बढ्दै गएको पुष्टि गर्दै उनले यसलाई सम्बोधन गर्न सरकार चुकेको बताए । 

भारतमा मोदी नेतृत्वको सरकार बहुमतबाट बनेको विश्लेषण गर्दै उनले नेपालमा राप्रपाले पनि समृद्धि र हिन्दुराज्यको मुद्धा बोकेकोले अबको निर्वाचनमा बहुमत आउन सक्ने ठोकुवा गरे । 

कार्यक्रममा पूर्वमन्त्री तथा पार्टी उपाध्यक्ष दिपक बोहराले पछिल्लो निर्वाचनमा जनताले पार्टीलाई एकतावद्ध गर्न म्याण्डेट दिएको बताए । पार्टीको क्रियाकलाप र नीति नै राष्ट्रवाद भएको पुष्टि गरेको भन्दै उनले टुटफुट हटाउन सके देशमा अबको सरकार बनाउने काम राप्रपाले गर्ने समेत उनले दाबी गरे ।

कार्यक्रममा पूर्वमन्त्री तथा पार्टी उपाध्यक्ष प्रेमबहादुर भण्डारीले दुई तिहाईको सरकारमा दम्भ देखिएको बताए ।  सरकारको ब्यवहारमा गणतन्त्र, लोकतन्त्र र प्रजातन्त्र नदेखिएको उनले दुखेसो गरे ।
 देशमा बनेका विधेयकहरु सबै क्षेत्रलाई सर्वसत्तावाद लाद्ने गरि बनाइएको भन्दै यो गलत भएको बताए । बम र बारुदले मुलुक परिवर्तन नहुने भाषण गर्ने प्रचण्ड आफुले नै विप्लवलाई अहिलेको अवस्थामा ल्याएको भन्दै अहिलेको समस्यालाई राजनीतिक ढंगबाट समाधान गर्न उनले सुझाव दिए ।

पार्टीका महामन्त्री धवलशम्शेर राणाले गुमेको हिन्दुराष्ट्र र राजा फिर्ता ल्याउने अभियानमा आफुहरु अघि बढेको बताए । अभियान निरन्तर चल्न सकेमात्र सफल हुने भन्दै उनले पार्टीमा नवयुवकहरुको प्रवेश अभियानको सफलताको सुचक भएको बताए ।

कार्यक्रममा राप्रपा प्रदेश ५ का अध्यक्ष प्रदिप उदय, राप्रपा रुपन्देही जिल्ला सभापति सागरप्रताप राणा, नेता मिना स्वर्णकारले गणतन्त्र र लोकतन्त्र छाडातन्त्र बन्दै गएको दुखेसो गर्दै हिन्दु राष्ट्रको संरक्षण र जनताको संरक्षणका लागि राप्रपाको छहारीमा अघि बढ्नुपर्ने बताए ।


 

प्राप्त प्रतिकृयाहरू

To Top