सोलुखुम्बुको प्रहरी चौकीमा विप्लवको आक्रमण प्रयास 

राजनीति जेठ २० २०७६ ekhabarnepal

काठमाडौँ,जेष्ठ २०
 आइतबार राती महाकुलुङ–३ छेस्काममा रहेको प्रहरी चौकीमा २५/३० जनाको समूहमा गएको विप्लव समूहले आक्रमण गर्ने योजना बनाएपनि त्यहाँ प्रहरीलाई नभेटेको बताइएको छ। विप्लव समूहले आक्रमणको योजनाबारे थाहा पाएपछि प्रहरी चौकीमा रहेका सात जनाको प्रहरी टोली हतियारसहित सुरक्षित स्थानतर्फ लागेको थियो।

स्रोतका अनुसार जनयुद्धमा जसरी प्रहरी चौकीमा विप्लव समूहले आक्रमणको प्रयास गरेपछि उच्च सुरक्षा सतर्कता अपनाइएको छ। केन्द्र र प्रदेशबाट प्रहरी टोली त्यहाँ पठाइएको छ।
सोलुखुम्बुको महाकुलुङस्थित एक प्रहरी चौकीमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले आक्रमणको प्रयास गरेपछि सोमबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ ।

गृह मन्त्रालयमा बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल, नेपाल प्रहरीका महानिरीक्षक सर्बेन्द्र खनाल, शसस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धानका प्रमुख गणेश अधिकारीलगायतको उपस्थिति थियो। गृह प्रवक्ता रामकृष्ण सुवेदीले बैठक नियमित भएको र सुरक्षाको समसामयिक विषयमा सुरक्षा प्रमुखले गृहमन्त्रीलाई रिपोर्टिङ गरेको जानकारी दिए।

भोजपुरमा दुई साताअघि प्रहरी कारबाहीमा आफ्ना एक कार्यकर्ता मारिएपछि विप्लव समूहले सरकारलाई त्यसको कडा जवाफ दिने बताएको थियो। कार्यकर्ता मारिएको विरोधमा नेपाल बन्दको आह्वान गरेको विप्लव समूहले त्यसको अघिल्लो दिन राजधानीका विभिन्न स्थानमा विस्फोटको प्रयास गरेको थियो।

विस्फोटन गराउने योजनाकै क्रममा विस्फोट भएपछि विप्लवका चार कार्यकर्ताको मृत्यु भएको थियो। तीमध्ये एक जना सैन्य कमान्डर पनि रहेको विप्लवले घटनापछि जारी गरेको विज्ञप्तीमार्फत स्विकार गरेको थियो।

प्राप्त प्रतिकृयाहरू

To Top