विप्लव पोलिटब्यूरो सदस्य राई नेकपामा प्रवेश

राजनीति जेठ १९ २०७६ ekhabarnepal
Padam rai

काठमाडौँ, १९ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य पदम राई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

आइतबार बिहान नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राईलाई पार्टीमा भित्र्याएका हुन् ।

भोजपुर निवासी राई पूर्वराज्यमन्त्री समेत हुन् । उनी शान्ति प्रक्रियापछि आवास तथा भौतिक योजना राज्यमन्त्री पनि भएका थिए । २०६४ को संविधानसभा निर्वाचनमा भोजपुर–१ बाट उनले संविधासभा सदस्य जितेका थिए । राई तत्कालिन नेकपा माओवादीनिकट किराँत राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष पनि भएका थिए ।

गत निर्वाचनमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई चुनावी प्रचारका क्रममा आक्रमण गरेको आरोपमा उनी पक्राउ परेका थिए । मोरङमा पक्राउ परेका उनी ६० हजार धरौटीमा रिहा भएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा राईले विप्लवले क्रान्ति गर्न नसक्ने, अहिलेको हिंसात्मक बाटोबाट जनता र देशको हित हुन नसक्ने निष्कर्षका साथ नेकपामा प्रवेश गरेको बताए । नेकपा नेतृत्वको वर्तमान सरकारले नै जनताका आवश्यकता पूरा गर्न सक्ने र अहिले देशलाई बलियो कम्युनिष्ट पार्टी चाहिएकोले आफू नेकपामा समाहित भएको राईले बताए ।

उनले आफ्नो अबको राजनीनितक यात्रा देश र जनताको लागि समर्पित गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

उनलाई पार्टीमा भित्र्याउँदै अध्यक्ष प्रचण्डले राईले सही समयमा उचित निर्णय गरेको बताए । राईलाई हिजोेको त्याग, तपस्या र योगदानको आधारमा समुचित जिम्मेवारी दिने अध्यक्ष प्रचण्डले बताए ।
 

प्राप्त प्रतिकृयाहरू

To Top