दोस्रो कार्यकालका लागि मोदीले लिए प्रधानमन्त्रीको सपथ

विश्व जेठ १७ २०७६ ekhabarnepal
 107168364 modi

 
बीबीसी जेठ १७ 

हालै सम्पन्न लोकसभा निर्वाचनमा अत्यधिक बहुमत पाएको भारतीय जनता पार्टी भाजपाका नेता मोदीलाई राष्ट्रपति रामनाथ कोविन्दले आमन्त्रित हजारौँ पाहुनाको उपस्थितिमा सपथ गराए।

मोदीसँगै उनको दलका अध्यक्ष अमित शाह सहितका वरिष्ठ नेताहरूले मन्त्री पदको सपथ लिएका छन्।

सूर्यास्तभन्दा केही अघि मोदीले प्रधानमन्त्री पदको सपथ लिएका हुन्।

गत साता सम्पन्न चुनावमा मोदीको दल भाजपाले सन् २०१४ को निर्वाचनमा भन्दा पनि बढी सीटकासाथ बहुमत प्राप्त गरेको हो।

राष्ट्रपति भवनको खुला प्राङ्गणमा प्रधानमन्त्रीलाई सपथग्रहण गराइएको यो तेस्रो पटक हो।

भारतीय प्रधानमन्त्री मोदीले सपथग्रहण गर्दै भने, "मैले भय वा पक्षपात, अनुराग वा द्वेषविना सबै व्यक्तिहरूप्रति संविधान र विधिअनुसार न्याय गर्नेछु।"

मोदीको सपथ ग्रहण समारोहमा नेपाल सहित बाङ्गलादेश, श्रीलङ्का, भुटान, म्यानमारलगायतका सरकार प्रमुख र नेताहरू उपस्थित रहेका थिए।

तर मोदीले सन् २०१४ मा पहिलो पटक सत्तारोहण गर्दा निम्ता गरिएका पाकिस्तानका सरकार प्रमुख यसपटक निम्त्याइएका थिएनन्।

समारोहमा बलिउड कलाकार, खेलाडी, उद्यमी र समाजका प्रतिष्ठित व्यक्तिहरू पनि सहभागी थिए।

मोदीपछि सोही समारोहमा उनको मन्त्रिमण्डलका सदस्यहरूले पनि सपथ लिएका छन्।

जसमा मोदीका विश्वासपात्र मानिएका भाजपाका अध्यक्ष अमित शाह पनि छन्।

पार्टीका पूर्व अध्यक्षद्वय राजनाथ सिंह र नीतिन गडकरी लगायतका नेताहरूले मोदीको मन्त्रिमण्डलमा पुन: प्रवेश पाएका छन्।

मोदीले मन्त्रिमण्डलमा नयाँ अनुहारलाई पनि समावेश गरेका छन्।

त्यसमा पूर्वविदेश सचिव एस जयशंकर पनि परेका छन्।

नेपालमा संविधान जारी हुनुअघि काठमाण्डू आएका जयशंकरले केही दिन संविधान जारी नगर्न आग्रह गरेको नेपाली नेताहरूले बताएका थिए।

लोकसभा चुनावमा धेरैको अपेक्षा विपरीत मोदीको दलले अत्यधिक बहुमत प्राप्त गरेको थियो।

प्राप्त प्रतिकृयाहरू

To Top