वृद्धभत्ता एक हजार बढ्यो 

समाज जेठ १५ २०७६ ekhabarnepal
Images cms image 000075620

 काठमाडौं जेठ १५

सरकारले आगामी आवको बजेट वक्तव्यमार्फत सामाजिक सुरक्षा भत्ताअन्तर्गत ज्येष्ठ नागरिकलाई दिने वृद्धभत्ता एक हजार रुपैयाँ बढाएको छ।
प्रतिनिधिसभामा आगामी आवको बजेट घोषणा गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले वृद्ध भत्ता १ हजार वृद्धि गरी तीन हजार रुपैयाँ पुर्याउने निर्णय गरेको हो।

हाल मासिक रुपमा वृद्धवृद्धालाई २ हजार रुपैयाँ दिइँदै आएकोमा आगामी आवदेखि भने त्यसमा एक हजार रुपैयाँ थप हुने भएको छ। सामाजिक सुरक्षा भत्ता सबै १ हजारका दरले बढ्ने अर्थमन्त्रीले जानकारी दिएका हुन्। उनले यसबाट १३ लाख लाभान्वित हुने जानकारी दिए।

वि।सं। २०५१÷०५२ मा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले ७५ वर्ष पुगेका वृद्धवृद्धालाई १ सय रुपैयाँ वृद्धभत्ता दिने भन्दै नयाँ कार्यक्रम सुरु गरेको थियो। त्यसपछि २०६१ सालमा १ सय ७५ रुपैयाँ पुगेको वृद्धभत्ता आर्थिक वर्ष २०६७÷०६८ देखि सामान्य नागरिकले ७० वर्षमै, दलित ज्येष्ठ नागरिक र कर्णालीवासी ज्येष्ठ नागरिकले ६० वर्षमै पाउने व्यवस्था गरिएको थियो। त्यस्तै ०६९÷७० देखि भने वृद्धभत्ता रकम बढाएर ५ सय रुपैयाँ पुर्याइएको थियो।

त्यसपछि ०७२ असार २९ मा तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले पाँच सय रुपैयाँ भत्ता तथा स्वास्थ्य उपचार खर्च ५ सय गरी रु। १ हजार वृद्धभत्ता रकम पुर्याएको थियो। त्यस्तै ०७३ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १ हजारबाट दोब्बर बढाउँदै २ हजार रुपैयाँ मासिक वृद्धभत्ता पुर्याएका थिए।

०७४ सालमा तत्कालीन देउवा सरकारले वृद्धभत्ता पाउने उमेर ६५ मा झार्ने मन्त्रिपरिषदमार्फत निर्णय गरे पनि लगत्तै केपी ओली नेतृत्वको सरकार गठन भएपछि उक्त निर्णय कार्यान्वयन हुन पाएन।

प्राप्त प्रतिकृयाहरू

To Top