भ्रम र कुण्ठा पालेर धारणा बनाउँदा गलत हुन्छ

राजनीति जेठ १३ २०७६ ekhabarnepal
Uml 1

नेकपा रुपन्देहीको सपथ ग्रहण र प्रथम पूर्ण बैठक
बुटवल,जेठ १३ । नेकपाका नेताहरुले समाज रुपान्तरणको अभियानमा सजग र सचेत भएर प्रस्तुत हुन कार्यकर्तालाई निर्देशन दिएका छन् । नेकपा रुपन्देहीको सपथ ग्रहण तथा प्रथम पूर्ण बैठकलाई सोमबार बुटवलमा सम्बोधन गर्दै नेताहरुले समाज बदल्ने र राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउने काममा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता भएपछि पहिलो पटक रुपन्देही जिल्ला कमिटीको घोषणा भएको थियो । सोही कमिटीको सपथ ग्रहण समारोहमा सहभागी विभिन्न तहका नेताहरुले स्पष्ट राजनीतिक विचारका माध्यमबाट जनताको विश्वास जित्दै अगाडि बढ्न निर्देशन दिए ।


कार्यक्रममा पार्टीका महासचिव विष्णुप्रसाद पौडेल, पार्टीका स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्ज शंकर पोखरेल, स्थायी समिति सदस्य घनश्याम भुषाल, स्थायी समितिकै अर्का सदस्य छविलाल विश्वकर्मा, प्रदेश कमिटीका सचिव जगप्रसाद शर्मालगायतले सही राजनीतिक विचारका माध्यमबाट संगठनलाई सही दिशामा अगाडि बढाउन निर्देशन दिएका थिए । 
त्यसक्रममा बोल्दै महासचिव पौडेलले भ्रम, कुण्ठा, आरोप र पूर्वाग्रहका आधारमा हतारिएर धारणा बनाउँदा गलत हुने भन्दै सचेत हुन आग्रह गरे । उनले गरीबी, आर्थिक असमानता, जातीय विभेद, लैङ्गिक असमानता, शैक्षिक विषमता, पर्याबरणको क्षयीकरण र बेरोजगारीको चरम समस्यामा रहेको मुलुकलाई वर्तमा सरकारले योजनाबद्ध कामबाटै सुधार गर्नेतर्फ अग्रसर रहेको बताए । 
प्रत्येक मानिसमा न्याय, विवेकपूर्ण निर्णय, सुरक्षा र आत्म सम्मानको गंभिर अनुभूति दिलाउनेतर्फ तीनै तहका सरकारहरु केन्द्रित रहेको उल्लेख गर्दै महासचिव पौडेलले सकारात्मक परिवर्तन अहिंसा, सहिष्णुता र सदभावको मार्गबाटै समाज रुपान्तरणको अभियान सफल बनाइने बताए । 


पार्टीका स्थायी समिति सदस्य, प्रदेश कमिटीका इन्चार्ज तथा मुख्यमन्त्री पोखरेलले विचार र नारा मात्रै क्रान्तिकारी बनाउने तर काम भने फिटिक्कै नगर्ने प्रवृत्तिलाई अन्त्य गरिने बताए । उनले ठूलो बनाएको, सरकार सञ्चालन गरेको, कार्यकर्ताको बलियो पंक्ति निर्माण गरेको व्यवहार, आचरण र जीवनशैली बदल्नका लागि भएको उल्लेख गर्दै त्यसैका माध्यमबाट समाज बदल्ने अठोटका साथ क्रियाशील बन्न आग्रह गरे ।
नकरात्मक कुराहरु मात्रै गर्ने, सुन्ने र त्यसैका आधारमा धारणा बनाउँदा अविश्वास र भ्रम सिर्जना हुने भन्दै इन्चार्ज पोखरेलले निराशा र कुण्ठामा बहकिँदा खास कार्यभार पछाडि पर्ने खतरातर्फ सचेत रहनुपर्नेमा जोड दिए ।
स्थायी समितिका सदस्य घनश्याम भुसालले विचार र कार्यशैलीमा प्रष्ट भएर अगाडि बढ्न जरुरी रहेको भन्दै जनताका समस्याको समाधानका लागि सहायक बन्न आग्रह गरे । उनले समाज बदल्ने काममा केन्द्रित हुनुपहिले आफुहरु पनि रुपान्तरित हुन जरुरी रहेको भन्दै एकता र सहकार्यका आधारमा कार्यभार पूरा गर्नुपर्नेमा जोड दिए ।
स्थायी समितिका सदस्य छविलाल विश्वकर्माले  चुनौति, समस्या र अन्यौलताको भूमरी सिर्जना गर्ने र त्यसैका आधारमा सरकारलाई कमजोर बनाउन खोज्न तत्वहरु सक्रिय रहेको भन्दै सचेत रहन सुझाव दिए । प्रदेश कमिटीका सचिव शर्माले स्थानीय तहका जनप्रतिनिधिहरुसंग सहकार्य र समन्वय गरेर जनताका पिर मर्काका कामलाई समाधान गर्नेगरि केन्द्रित हुन आग्रह गरे । 
एक सय ७३ जनाको सपथग्रहण
नेकपा रुपन्देहीको जिल्ला कमिटीमा सचिव सहित एक सय ७३ जनाले सोमबार सामूहिक सपथ ग्रहण गरेका छन् । अध्यक्ष शिवराज सुवेदीको भने यसअघि नै सपथ ग्रहण भइसकेको थियो । सचिव निर्मल केसीसहित जिल्ला कमिटीका सदस्यहरु एक सय ७३ जनालाई सोमबार पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले सपथ ग्रहण गराएका हुन् ।
कमिटीद्वारा धन्यवाद ज्ञापन र रमजानको शुभकामना
यसैबीच नेकपा रुपन्देहीको सपथ ग्रहण लगत्तै सोमबारै बसेको प्रथम पूर्ण बैठकले पार्टी एकताको ऐतिहासिक कामलाई सफलतापूर्वक अगाडि बढाएको भन्दै प्रदेश कमिटीलाई धन्यवाद ज्ञापन गरेको छ । यस्थै सपथ ग्रहण समारोहमा सरिक भएका नेताहरुप्रतिसमेत धन्यवाद ज्ञापन गरिएको छ । बैठकले इश्लामहरुको पवित्र पर्व रमजानका अवसरमा सबैलाई शुभकामना समेत व्यक्त गर्दै सामजिक सद्भाव, एकता र सहिष्णुताका पक्षमा गोलबद्ध हुन सबैलाई आग्रह गरेको कमिटीका सचिव निर्मल कुमार जिसीले जानकारी दिए ।
 

प्राप्त प्रतिकृयाहरू

To Top