भारतीय चुनावी परिणाम र यसको सन्देश

बिचार जेठ ११ २०७६ ekhabarnepal
Narendra jung peter.


नरेन्द्रजंग पिटर  
भारतमा भक्ति वा नायक–पूजाले राजनीतिमा जे भूमिका तय गर्छ, त्यसै भूमिकाको परिणाम जस्तै संसारको कुनै अरु देश भारतको बराबरी गर्नै सक्दैनन् । धर्मको क्षेत्रमा भक्ति आत्माको मुक्ति हुनसक्छ तर राजनीतिमा भक्ति वा नायक–पूजा पतन र आखिरमा तानाशाहीको सिधा बाटो हो ।          
–भारतीय संविधान निर्माता भीम राव अम्वेडकर ।

    भारतीय चुनावी चर्चा गर्दा, परिणाम नियाल्दा त्यहाँको राजनीतिक–नक्सा त एक छ, तर चिन्तन, मूल्य, मान्यता, आदर्श र अभ्यास भने भारत, हिन्दुस्थान र इण्डियामा विभाजित छ । यी तीनै पक्ष आपसमा भिडिरहन्छन्, अन्तरद्वन्द्व चलिरहको छ ।  धेरैपटक कभर पेजमा प्रशंसा गरिसकेको अमेरिकाबाट प्रकाशित प्रसिद्ध टाइम म्यागजिनको मई २० अंकको आवरण आलेखमा भने भारतीय मूलका बेलायती लेखक पत्रकार आतिश तसिरले प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘भारत विभाजनका नाइके’ भनेर लेखे । लेखक मोदी समर्थक भारतीय वरिष्ठ पत्रकार तवलिन सिंहका छोरा हुन् । त्यस्तै अल्पमतप्रतिको घृणा, बहुमतको उन्माद र भयदोहन एवं धार्मिक रथयात्रामा चुनाव सवार हुँदा अहिलेको चुनावी परिणामले हिन्दुस्थानले अन्य पक्षमाथि चुनावी अंकगणितमा विजय हासिल गरेको देखिँदा मोदी सत्ता शिखरमा मात्रै छैनन् टाइममा तासिरले भनेजस्तै डिभाइडर इन चिफ पनि देखिन्छन् ।

राष्ट्रिय स्वयंसेवक संघको (१९२५ सेप्टेम्वर २५, नागपुर, संस्थापक नेतृत्व– यज.के. हेगडेवार) साँस्कृतिक अन्धराष्ट्रवादको वाहक राजनीतिक शाखा भारतीय जनता पार्टीलाई प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा दोस्रो कार्यकालको लागि ४२ दलीय गठबन्धनको (यनडिए)लाई ऐतिहासिक जीत भयो । यस चुनावलाई विभिन्न कोणबाट अध्ययन गर्न सकिन्छ, पर्छ । संसारको ठूलो लोकतन्त्रको चुनाव, संगठन, विचार, कला र युद्धस्तरको एकीकृत परिचालन, मिडियाको चतुराईपूर्वक उपयोग, आस्था, पूँजी र प्रविधियुक्त कर्पोरेट राजनीतिको कुशल व्यवस्थापनले परिणाम नियन्त्रणमा लिएको सुक्ष्म अध्ययनको आवश्यक हुन्छ । एक पाटोबाट मात्र नियाल्दा एकाङ्गी हुन पुग्छ । स्वयं भारतमा भएका क्रिया÷प्रतिक्रिया, संसारमै संसदीय राजनीतिको पहिलो अभ्यासकर्ता भारतीय कम्युनिष्टहरुको संसदमा शून्य उपस्थिति ... यी सबै कोणबाट अध्ययन गर्नु पर्छ । छिमेकीका नजरमा क्षेत्रीय महाशक्तिको चुनावी परिणामको संकेत र सन्देश, सत्ता परिवर्तनको अभ्यासमा लागेको भूसंवेदनशील देशबाट दक्षिणतर्फ नियाल्दा झन हाम्रा सरोकारका विषय हुन् ।

चुनावी परिणामले भगत सिंह मात्रै हैन मध्यममार्गी महात्मा गान्धी पनि भीडले बहिष्कार गरेर गोडसेलाई ‘स्वीकार्यो’ । घगडान काग्रेसी नेता दिग्विजय सिंहलाई भोपालमा पराजय गराउने मालेगाँउ विष्फोट अभियुक्त अर्थात भाजपा नवनिर्वाचित सांसद प्रज्ञा ठाकुरले गान्धीहत्या जायज मान्छिन् भने गान्धीहत्यारा नाथुराम गोड्सेलाई नायक मान्छिन् । चुनावी परिणामले समाजवादी नेता राममनोहर लोहिया र जयप्रकाश नारायणका हकवालाको युपी र विहारमा कन्तविजोग नै भयो । दलित मसिहा भीमराव अम्वेडकर अपहरणमा परे । जब पार्टी आन्दोलन बन्न सक्दैन र स्थायी सत्ताको प्यादा बन्छ तब केरल र पश्चिम बंगालका अफिसियल कम्युनिष्ट अर्थात भाइ काङ्ग्रेस जस्तै हविगत हुन्छ नै । जातीय र क्षेत्रीय आवेगलाई जिम्दारी सोच्नेहरुको (लालुप्रसाद यादव, मुलायम सिंह यादव, मायावती, ममता बनर्जी, चन्द्रबाबु नायडु) कन्तविजोग नै भयो । आवेगका सामने विवेक बबुरो बन्दा शत्रुधन सिन्हा, कन्हैया कुमारको लोकपियताले काम गर्न सकेन । जे, जे आवरणमा भए पनि सिद्धान्तहीन राजनीतिमा साँस्कृतिक राष्ट्रवादको धार्मिक घन सबैमाथि बर्सियोे । 

यस परिणामलाई तत्कालीन घटना मात्रै नभई इतिहासको नजरिया र वैश्विककोणबाट समेत नियाल्नुपर्छ । सिद्धान्तको राजनीतिको अन्त हुँदा उग्र दक्षिणपन्थको संसारभरमै बिगबिगी चल्यो । पूँजीवादले मानवीय चेहरा समेत उतार्दा उसलाई घृणाको राजनीतिक सिद्धान्तको आवश्यक पर्यो । घृणाको राजनीतिक शक्ति नै सत्ता सिद्धान्त बन्न पुग्दा धार्मिक आवरण र साँस्कृतिक राष्ट्रवाद भाजपालाई सत्ताको बैसाखी बन्न पुगेको हो ।  अहिले संसारमै चलेको अल्पमतप्रति बहुमतको घृणासोचको राजनीति घृणा राजनीति नव फासिवादीहरुको सिंढी बनेको छ । यूरोप र अमेरिकामा स्वतः श्रेष्ठतावादले प्रवासी र मुसलमानप्रति घृणा नै ट्रम्पको मूलनीति हो । यसको असर संसारभरमै चुनावी राजनीतिमार्फत देखा पर्यो । कुनै बेला संसदमा २ सिटमात्रै ल्याउने संस्था ८ दशकमा प्रचण्ड बहुमत एकैदिने अभ्यास थिएन । त्यसका लागि आन्दोलन हराएका उदारवादी, धर्मनिरपेक्षतावादी र अफिसियल कम्युनिष्टहरु जिम्मेवार थिए र छन् नै । यो भाग्यको निम्ता स्वर्य उनीहरुले नै गर्दा भगत सिंह मात्रै हैन गान्धीसहित ‘विदाई’ र गोड्सेको ‘स्वागत’ भएका हुन् । धेरै दिनदेखि भाजपालाई तर्कवादी, आलोचना चेत, उदारवादी, धर्मनिरपेक्षतावादी, विज्ञानवादी र स्वतन्त्र मिडिया घाँडो बनेका थिए । जेएनयु जस्ता विश्वविद्यालयको चरित्र ध्वस्त योजनाबाट शुरु भएका अभ्यास शासकीय इन्स्टिच्युसनको स्वतन्त्र हैसियत ध्वस्त पारिँदै गइए ।  इतिहासको पुनव्र्यवस्थापन हुँदै गयो । शैक्षिक संस्थामा साँस्कृतिक राष्ट्रवादको दीनानाथ वात्रा मोडल र इतिहासको पुनर्लेखनमा पी.यन ओक मोडल अभ्यास हुँदै गए । भ्रमित समाचारको बाढी नै आयो । मिडिया सेल र वाइटस एप ग्रुपले जनतालाई राष्ट्रवाद र धार्मिक आवेगी लम्पट भीडमा फेर्दै गयो । सबै एकीकृत योजनामा साँस्कृतिक राष्ट्रवादको न्यारेटिभ तयार भयो । तर, विपक्ष भने भ्रष्टाचार मात्रै हैन आप्mनै इतिहासको बोझले दबेको थियो भने ऊसङ्ग नैतिक अपिलको इच्छाशक्ति, योजना र कार्यक्रम नै थिएन । त्यसैले यो परिणाम आश्चर्यको हुँदै हैन । जेजे आदर्शका नाम दिए पनि संसदीय राजनीतिमा भ्रष्टाचार र परिवारवाद गह नै बनेको हुन्छ । त्यो भाजपालाई न्यारेभी तयार गर्ने अचुक अस्त्र बन्यो भने विपक्षले न एकता देखाउन सक्यो न सर्वस्वीकृत न्यारेटिभमा घेर्न नै सक्यो ।  

नेपालको सन्दर्भमा अझ यस चुनावले भारतवेष्ठित भएकाले अर्थ र महत्व राख्छ । पहिलो आक्रमण धर्मिनरपेक्षतामाथि हुनेछ भने उसको सुरक्षा छातामा राख्ने अर्काे योजना । क्षेत्रिय दादासामु भूसंवेदनशीलता हाम्रा आफ्नै उपहार र पीडा हुन् । चीनको महत्वाकांक्षी वैल्ट एण्ड रोड प्रोजेक्टमा नेपाली सहभागिताका अप्ठयारा आँउनेछन् । भारतीय चुनावी परिणामको नेपाललाई सुखद पक्ष भनेको– जातिवाद, क्षेत्रीयतावाद र तुष्टिकरणको राजनीतिले अब सत्ताको भर्याङ चढ्न सकिँदैन भन्ने सन्देश होे । यसका विविध पाटाको मिहीन चर्चा आगामी लेखमा गरिनेछ ।

अन्तमा  फासिँवाद राजनीतिक भूगोलमा मात्र कैद हुँदैन, क्षेत्रीय र वैश्विक असर पनि पार्छ । आगमन त लोकप्रिय मतबाट हुन्छ, बहिर्गमन भने चुनावबाट भएको इतिहास छैन । अहिले विश्वव्यापी राजनीतिको एउटा धार उग्रदक्षिणपन्थ नै हो । अल्पमतप्रतिको घृणा यसका शक्ति हुन् भने तर्क र बुद्धिजीवी तप्का विज्ञानवादी चेत यसका दुश्मन । वास्तवमा कर्पोरेट राजनीतिको उग्रदस्ता भएपनि साँस्कृितक कभरमा यो सक्रिय हुन्छ र भयदोहन गरेर अल्पमतप्रति घृणा छर्दै नयाँ न्यारेटिभ कथ्छ । कम्युनिष्ट, इस्लाम, दलित, महिला, आप्रवासी र अल्पमत समूह आक्रमणका केन्द्रमा हुन्छन्, लिवरल पनि अछुतो हुँदै हुँदैनन् । उदार प्रजातन्त्रवादीसँग आदर्श त हुन्छ तर आदर्शअनुरुप राजनीतिक चरित्र र संगठनात्मक सक्रियता नभएकाले उनीहरु यो आक्रामक साँस्कृतिक राष्ट्रवादसँग जुझ्न  फेरि अर्को सशक्त आन्दोलनको आवश्यकता हुन्छ । 

प्राप्त प्रतिकृयाहरू

To Top