संसदीय पत्रकारहरुको ३ दिने तालिमसहित अन्तरप्रदेश सम्मेलन सकियो

राजनीति जेठ ९ २०७६ ekhabarnepal
3

बुटवल,जेठ ८ 

 संसदीय पत्रकारहरुको अन्तरप्रदेश सम्मेलन ६ बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै सकिएको छ।

संसदीय मामिला पत्रकार समाज प्रदेश ५ ले रुपन्देहीको लुम्बिनीमा आयोजना गरेको संसदीय पत्रकार अन्तर–प्रदेश सम्मेलनले संसदीय मामिला पत्रकारहरुले सञ्चारसम्बन्धि ऐन, कानुन निर्माण तथा संशोधन एवं कार्यान्वयनका सन्दर्भमा सरोकारवाला निकायसँगको गहन छलफल र सुझाव सहित सञ्चार मैत्री बनाउन माग गरेको छ।

सम्मेलनले राज्यको पुनः संरचनापछि संघीय पद्दति अन्तर्गत प्रदेश सभाको व्यवस्था नौलो र प्रदेशस्तरमा संसदीय क्षेत्रमा कलम चलाउने विषय पत्रकारहरुको लागि पनि नितान्त नौलो रहेकोले पत्रकारहरुको क्षमता अभिवृद्धिको व्यवस्था गर्न सातवटै प्रदेशका प्रदेश सभा र प्रदेश सरकारसँग माग गरेको छ।

यस्तै सम्मेलनले प्रदेश सभामा रिर्पोटिङ गर्नका लागि पत्रकारहरुलाई सहज वातावरण बनाउन, मिडिया सेन्टर स्थापना गर्न, विभिन्न माध्यमहरुबाट ज्ञान एवं अनुभव आदान प्रदान गर्न, अर्थपूर्ण सहभागिताका लागि तथा सूचना प्राप्त गर्ने सहज वातावरण बनाउनका लागि प्रदेश सभाहरुसँग माग गरेको छ।

संसदीय मामिला पत्रकार समाज प्रदेश ५ का सल्लाहकार भरत केसीको संयोजकत्वमा बनेको घोषणापत्र तयारी समितिमा प्रदेश नं. १ का अध्यक्ष गणेश लम्साल, २ का उपाध्यक्ष कैलाश दास, ३ का अध्यक्ष राममणि दाहाल, गण्डकीका सचिव विशन क्षेत्री, कर्णालीका अध्यक्ष शेरबहादुर थापा र सुदूरपश्चिमका प्रकाशविक्रम शाह सदस्य रहेका थिए।

अन्तर–प्रदेश सञ्जाल गठन

संसदीय पत्रकारहरुबीच समन्वय, सहकार्य र संयुक्त कार्यक्रम, अनुसन्धान र अध्ययनलाई सहज बनाउन संसदीय पत्रकार अन्तर प्रदेश सञ्जाल गठन भएको छ।

प्रदेश नं. ५ का अध्यक्ष विष्णुप्रसाद घिमिरेको संयोजकत्वमा गठन गरिएकोे सञ्जालमा संसदीय मामिला पत्रकार समाज प्रदेश नं. १ गणेश लम्साल, प्रदेश नं. २ का अध्यक्ष मोनिका झा, प्रदेश नं. ३ का अध्यक्ष राममणि दाहाल, गण्डकी प्रदेशका अध्यक्ष लालप्रसाद शर्मा, कर्णाली प्रदेशका अध्यक्ष शेरबहादुर थापा, सुदूरपश्चिम प्रदेशका अध्यक्ष प्रकाशविक्रम शाह र प्रदेश नं. ५ का महासचिव सी. पी. खनाल सदस्य सचिव रहेका छन्। सञ्जालको पदेन सल्लाहकारमा संसदीय मामिला पत्रकार समाज, काठमाडौंका अध्यक्ष नारायण काफ्ले रहेका छन्।

सञ्जालले संसदीय पत्रकारहरुबीच अनुभव आदान–प्रदान, साझा समस्या, चुनौती र अवसर पहिचान गर्नका लागि साझा कार्ययोजना निर्माण गर्नका लागि अर्को भेला आह्वान गर्दै संयुक्त कार्यक्रमका लागि तयारी गर्ने निर्णय गरेको छ।

तीनदिने तालिम समापन

संसदीय मामिला पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि संसदीय मामिला पत्रकार समाज प्रदेश ५ ले आयोजना गरेको तालिम बुधबार सकिएको छ।

संसद सहयोग परियोजना युएनडीपीको सहकार्यमा भएको तालिममा ७ वटै प्रदेशका ४० जना संसदीय पत्रकारको सहभागिता रहेको थियो।

खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले, वरिष्ठ पत्रकार तारानाथ दाहाल र डीआर घिमिरेले नेपालको संसदीय पत्रकारिता अभ्यास, प्रदेश सभामा पत्रकारिताको अभ्यास र चुनौती, संसद, संसदीय समितिहरुमा समाचारका श्रोत, संसदमा खोज पत्रकारिता लगायतका विषयमा सहजीकरण गरेका थिए।

तालिम समापनको अवसरमा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै संसदीय मामिला पत्रकार समाज प्रदेश ५ का अध्यक्ष विष्णु प्रसाद घिमिरेले प्रदेशस्तरमा संसदीय पत्रकारिता अभ्यासलाई स्तरीय बनाउनका लागि निरन्तर क्षमता अभिवृद्धिका कार्यक्रम जरुरी रहेको बताए।

युएनडीपीका प्रतिनिधि दिला पन्तले पत्रकारहरुको क्षमता अभिवृद्धिले समाजमा सही सूचना सम्प्रेषण हुने भएकाले पत्रकारहरु हरदम नौला–नौला विषयमा पनि जानकार रहनुपर्ने बताए।

संसदीय मामिला पत्रकार समाज प्रदेश नं. १ का अध्यक्ष गणेश लम्सालले प्रदेश नं. ५ ले ७ वटै प्रदेशका संसदीय पत्रकारलाई सहभागी गराएर क्षमता अभिवृद्धिको कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गरे।

संसदीय मामिला पत्रकार समाज प्रदेश ५ का महासचिव सी. पी. खनालको सञ्चालनमा भएको कार्यक्रममा सहभागीको तर्फबाट बोल्दै सुदूरपश्चिम प्रदेशका भरत शाह र प्रदेश नं. ३ का सिर्जना नेपालले संघीयता कार्यान्वयनपछि प्रदेशस्तरमा संसदीय पत्रकारिताको अभ्यास थालिएको र त्यसक्रममा भएको क्षमता अभिवृद्धि कार्यक्रमले नयाँ–नयाँ समाचारका श्रोतबारे सिकाइ भएको बताए।

संसदीय पत्रकार अन्तर–प्रदेश सम्मेलन घोषणा पत्र (पूर्णपाठ)

१) संसदीय मामिला पत्रकारहरुको यो सम्मेलनले संसदको मर्यादामा रहेर संसदीय विषयका समाचारको रिर्पोटिङलाई मर्यादित बनाउने र समाचारमा तथ्य र विश्वसनीयता कायम गर्न अरु बढी संवेदनशील बन्ने प्रतिवद्धता व्यक्त गर्दछ।

२) संसदीय पत्रकार अन्तर–प्रदेशको यो लुम्बिनी सम्मेलनले ससंसदीय क्षेत्रमा पत्रकारितालाई अन्तर प्रदेश समन्वय र सहकार्यलाई अझै प्रगाढ बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दछ।

३) यो सम्मेलनले सञ्चार सम्बन्धि सम्पूर्ण ऐन, कानुन निर्माण तथा संशोधन एवं कार्यान्वयनका सन्दर्भमा सरोकारवाला निकायसँगको गहन छलफल र सुझाव सहित सञ्चारमैत्री बनाउन जोडदार माग गर्दछ।

४) राज्यको पुनःसंरचनापछि संघीय पद्दति अन्तर्गत प्रदेश सभाको व्यवस्था नौलो र प्रदेशस्तरमा संसदीय क्षेत्रमा कलम चलाउने विषय पत्रकारहरुको लागि पनि नितान्त नौलो रहेकोले पत्रकारहरुको क्षमता अभिवृद्धिको व्यवस्था गर्न सातवटै प्रदेशका प्रदेश सभा र प्रदेश सरकारसँग माग गर्दछ।

५) प्रदेश सभामा रिर्पोटिङ गर्नका लागि पत्रकारहरुलाई सहज वातावरण बनाउन, मिडिया सेन्टर स्थापना गर्न, विभिन्न माध्यमहरुबाट ज्ञान एवम् अनुभव आदान प्रदान गर्न, अर्थपूर्ण सहभागिताका लागि तथा सूचना प्राप्त गर्ने सहज वातावरण बनाउनका लागि प्रदेश सभाहरुसँग माग गर्दछ।

६) यस सम्मेलन सफल पार्न सहयोग पु¥याउनुहुने सम्पूर्ण सहभागीहरु, प्रदेश नम्बर ५ प्रदेश सभाका पदाधिकारी, स्रोत व्यक्तिहरु, सहयोगी संस्था सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

प्राप्त प्रतिकृयाहरू

To Top