नगरलाई बुद्धमय बनाउन सडकमा बूद्ध मूर्ति 

समाज जेठ ३ २०७६ ekhabarnepal
Download

भैरहवा, ३ जेठ ।

सिद्धार्थनगर नगरपालिकाले नगरको मुख्य सडकमा बूद्ध मूर्ति राख्ने भएको छ । स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक आउने नाका समेत रहेको नगरलाई बुद्धमय बनाउने उद्देश्यसहित मूर्ति राख्न सुरु गरिएको छ । शुक्रबार कलात्मक धातुबाट बनेका दुई वटा बुद्ध मूर्ति राखेर बुद्धमय बनाउने अभियानको थालनी गरिएको हो । नगरपालिकाले उपभोक्ता समिति गठन गरी मूर्ति राखेको हो । समितिका अनुसार ३ लाख ७५ हजार रुपैयाँ लागतमा एउटा मूर्ति बनाएर राख्न सकिनेछ । सुरुमा दुईवटा मूर्ति राखिए पनि महिनाभित्रै १० मूर्ति राखिने छ । सीमा नाका बेलहियादेखि अंचलपुर र बुद्धचोकदेखि एअरपोर्टसम्म आउने आर्थिक वर्षभित्रै मूर्ति राखी बुद्धमय बनाइने जनाइएको छ ।

समितकाअनुसार पितलको धातुमा सुनको लेपन लगाएर मूर्ति बनाइएको छ । तत्काल लुम्बिनी भ्रमण वर्षको उद्घाटन र बुद्ध जयन्तीको पूर्व सन्ध्या पारेर मूर्ति अनावरण गरिएको हो । मूर्तिको शुक्रबार प्रदेश पाँचका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले उद्घाटन गर्नुभयो । उहाँले पर्यटन क्षेत्रको विकासमा नगरपालिकाको प्रयास एउटा टेवा भएको बताउनुभयो । मन्त्री गिरीले बुद्ध मूर्ति राखेर मात्रै नभई अब नगरलाई हरियाली र प्रदूषणमुक्त बनाउनुपर्नेमा जोट दिनुभयो ।

प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डेयले ढिलै भए पनि नगरपालिकाले बुद्धलाई सम्झिएको बताए । उनले धेरै पर्यटन भित्रिने नाकालाई बुद्धमय बनाउने नगरपालिकाको अभियानलाई आफूले सक्दो सहयोग गर्ने बताए । पर्यटन क्षेत्रको विकास मूर्तिका माध्यमबाट सहयोग पुग्ने बताए ।

स्थलमार्गबाट वर्सेनि लाखौं पर्यटन भित्रिने बेलहिया र सिद्धार्थनगरमा बुद्ध चिनारी हुने कुनै पनि वस्तु नहुँदा पर्यटकले बुद्धभूमि आएको समेत थाहा पाउँदैनथे । नगरपालिकाले सीमा क्षेत्रबाट बुद्ध मूर्ति राखेपछि यसले लुम्बिनीबारे सीमा क्षेत्रबाटै झझले दिनेछ । पर्यटन व्यवसायीहरुले पनि पर्यटन क्षेत्रमा टेवा पुग्ने हिसाबले स्थानीय सरकार अघि बढेको भन्दै खुशी व्यक्त गरेका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top