कस्तो छ लुम्बिनी गुरुयोजना ?

समाज जेठ ३ २०७६ ekhabarnepal
Download

 

  •     अझै ६ अर्व खर्च लाग्ने 
  •     तीन वर्षभित्रै गुरुयोजना सक्ने गरि ग्लोबल टेण्डर 
  •     जैविक विविधता संरक्षणका लागि १० वटा पोखरी बनाइदै 
  •     विहार क्ष्ँेत्रमा मात्र करिव २ अर्व लगानी,अझै ३ अर्व लगानी हुने 
  •     सुन्दरीकरणका काम धमाधम 

प्रदीप आचार्य 
लुम्विनी, जेष्ठ ३
सन् १९५४ मा बर्मामा भएको तृतीय अन्तराष्ट्रिय बिश्व बौद्ध भातृत्व संघको चौथो सम्मेलन भन्दा अगाडीसम्म  लुम्बिनीको बिकासमा राष्ट्र्रिय चासो खासै थिएन । बर्मामा सम्पन्न उक्त सम्मेलनमा तत्कालिन राजा स्व. त्रिभुवनको प्रस्ताबमा विश्व भातृत्व संघको चौथो सम्मेलन नेपालमा गर्ने प्रस्ताब स्वीकृत भएपछि मात्र लुम्बिनीको बिकासमा राज्यले चासो देखाउन थालेको थियो । राजा त्रिभुवनले २ हजार ८ सालमा लुम्बिनीको बिकास गर्ने अभिप्रायले चार सदस्य सम्मिलित लुम्बिनी  प्रबन्धक समिति गठन गरेका थिए । पछि उक्त समितिमा दुई जना सदस्य थपेर छ सदस्यीय बनाएर लुम्बिनीको बिकास र संरक्षण  गर्ने अभियान सुरु गरेका थिए । २०१३ साल बैशाखमा बिश्व भातृत्व संघको चौथो अन्तराष्ट्र्रिय सम्मेलन नेपालमा हुने निश्चित भएपछि तत्कालिन राजा महेन्द्रले लुम्बिनीस्थित मायादेबी मन्दिर, पबित्र कुण्ड र अशोक स्तम्भको हेरचाह गर्ने जिम्मा लुम्बिनी धर्मोदय समितिलाई लगाएका थिए । त्यसका साथै मायादेबी मन्दिर, पुष्करणी पोखरी सरसपmाई र जिर्णोधार, भैरहवा देखी लुम्बिनी सम्मको सडक र एउटा धर्मशाला समेत बनाउने कामको सुरुवात भएको थियो । सन् १९सय ५६ नोभेम्बर १५ देखी २१ सम्म भएको चौथो बिश्व बौद्ध भातृत्व संघको अन्तराष्ट्रिय सम्मेलनमा सहभागीहरुलाई लुम्बिनी र कपिलबस्तुको भ्रमण गराएपछि लुम्बिनीप्रति अन्तराष्ट्रिय चासो बढेको थियो । अन्तराष्ट्रियस्तरका सहभागीहरुको भ्रमणका शीलशीलामा  राष्ट्रसंघका तत्कालिन महासचिब उत्थान्तले सन् १९६७ अप्रिल २३ तारिकमा  लुम्बिनीको भ्रमण गरेका थिए । उनको भ्रमण लुम्बिनीको बिकासका लागी कोशेढुंगाँ साबित भएको थियो । महासचिव थान्तको भ्रमणपछि लुम्बिनीको बिकासका लागी थप अन्तराष्ट्रिय चासो बढ्न थालेको हो ।  आफ्नो भ्रमणका क्रममा थान्तले लुम्बिनीलाई अन्तराष्ट्र्रियकरण गर्न गुरुयोजना तयार गरी बिकास गर्ने प्रस्ताब तत्कालिन राजा महेन्द्र समक्ष राखेका थिए । 
     सन् १९७० मा महासचिब उत्थान्तले नेपालका राजदुतको अध्यक्षतामा नेपाल लगायत भारत, थाईल्याण्ड, म्यानमार, श्रीलंका, पाकिस्तान, मलेसिया, अफगानिस्तान, ईण्डोनेशिया, सिंगापुर, लाओस र जापान गरी १३ वटा राष्ट्रबाट सदस्यको रुपमा १३ वटै देशका राजदुत सम्मिलीत एक संयुक्त राष्ट्र्रसंघ स्तरीय समिती संयुक्त राष्ट्र«संघको कार्यालयमा स्थापना गरेका थिए ।उक्त समितिका साथै लुम्बिनी बृहत गुरुयोजना तयार पार्न एक उच्च स्तरीय सल्लाहकार समिति समेत गठन गरिएको थियो । १३ वटा देश सम्मिलित उक्त अन्तराष्ट्रिय समितिपछि भुटान र दक्षिण कोरियाका प्रतिनिधि समाबेश भएपछि १५ सदस्यीय बनेको थियो । लुम्बिनीको बिकासका लागी अगाडी सारिएको गुरुयोजना निर्माणको तयारीका लागी  तत्कालीन सरकारले मन्त्रिस्तरीय लुम्बिनी बिकास समिती गठन गरी सम्पूर्ण जिम्मा उक्त समितिलाई सुम्पिएको थियो । गुरुयोजनाको बास्तबिक संरचना तयार पार्न बिश्वबिख्यात जापानिज आर्किटेक्ट प्रोपmेसर केन्जो टंँगेलाई जिम्मा लगाईएको थियो । बृहत गुरुयोजनाले लुम्बिनीलाई राष्ट्रिय÷अन्तराष्ट्रिय बौद्ध सँस्कृतिका जीबन्त परम्पराहरुलाई झल्काउने, लुम्बिनीको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक महत्वलाई संरक्षण गरी अन्तराष्ट्रिय मापदण्डको पबित्र तीर्थस्थलको रुपमा संरक्षण र सम्बद्र्धन गर्ने लक्ष्य राखेको छ । 
     बिश्वकै सम्पूर्ण धर्मावलम्बीका लागी आर्कषक गन्तव्यको रुपमा बिकास गर्ने लक्ष्य लिएको गुरुयोजनाले ११ सय ५५ विगाहा (तीन बर्ग माईल) जमिनलाई  उद्यान क्ष्ोत्र, अन्तराष्ट्रिय विहार क्षेत्र, नयँं लुम्बिनीग्राम गरी तीन भागमा विभाजन गरेको  छ । तीन बर्ग माईल भू भागलाई एक– एक बर्ग माईलमा बिभाजन गरी उत्तरतपर्mको एक वर्ग माईल क्षेत्रलाई लुम्बिनीग्राम, दोस्रो खण्ड (जुन बिचमा छ) एक वर्ग माईलको भू खण्ड जसलाई शैक्षिक, संँस्कृतिक तथा अन्तराष्ट्रिय बिहार तथा गुम्बा क्षेत्र भनी नामाकरण गरिएको छ । बाकी एक वर्ग माईलको दक्षिण तपर्mको क्षेत्रलाई पबित्र उद्यान भनिएको छ  । पवित्र उद्यानलाई गुरुयोजनाले  सर्बाधिक महत्व दिएको छ ।  जहंँ बुद्धले धर्तिमा पहिलो पाईला टेकेका थिए । 

कोषले गुरुयोजना अनुसार सवै काम  पुरा भएपछि लुम्विनी स्वर्गको टुक्रा जस्तै सुन्दर,शान्त र पवित्र स्थलको रुपमा विकास हुने दावी गरेको छ । यसका लागि गुरुयोजनाका बांकी सवै काम एकैचोटी सक्नेगरि करिव ६ अर्वको ग्लोबल टेण्डर आब्हान गर्ने तयारी गरेको छ । कोषका निमित्त सदस्य सचिव सरोज भट्टराइका अनुसार ग्लोवल टेण्डर आब्हान गर्नुपूर्व त्यस्ता संरचनाहरुको योजना,डिजाइन र स्टिमेट गर्नका लागि अन्तरराष्ट्रिय स्तरको परामर्शदाता छनोटको काम जारी छ । अब केही दिनभित्रै परामर्शदाता छनोट भएपछि ग्लोबल टेण्डर हुनेछ ।  सवै संरचनाहरुको सुपरिवेक्षण समेत परामर्शदाताले गर्नेछ । त्यसो हुंदा कोषले गुरुयोजनामा आफ्नो जनशक्ति लगाउनुपर्ने छैन । त्यसको सट्टा गुरुयोजनाको सुन्दरीकरणमा जनशक्ति परिचालन गर्ने तयारी कोषले गरेको छ । ३ वर्षभित्र गुरुयोजना पुरा हुंदा सुन्दरीकरणका काम समेत सकेर लुम्विनीलाई संसारकै पवित्र र नमुना आध्यात्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्य राखेर काम गरिरहेको कोषका उपाध्यक्ष अवधेश त्रिपाठी भिक्षु मेत्तेयले बताए । 


 पबित्र उद्यान क्षेत्र 

लुम्विनी गुरुयोजनाले प्राथमिकता दिएको मूख्य क्षेत्र पबित्र उद्यान क्षेत्र हो । यही क्षेत्रमा शाक्यमुनी गौतम बुद्धले पहिलो पाईला टेकेका थिए । यो पबित्र उद्यान क्षेत्रलाई चारैतिरबाट पोखरीले घेरिएको छ । यो पोखरीलाई सर्कुलर लेबी भनिएको छ । वरिपरि निलो पानीले घेरिएको सुन्दर बगैंचाको परिकल्पना यहां गरिएको छ । गोल पोखरी भित्र  मायादेबी मन्दिर, पबित्र कुण्ड,अशोक स्तम्भ, पुरातात्विक महत्वका भग्नावशेषहरु, प्राचीन लुम्बिनीग्रामका अवशेषहरु मात्र रहने गरि कुनै पनि नयंँ निर्माणका काम गर्न रोक लगाईएको छ ।  उत्तर पश्चिमबाट आउने बाढीको पानी पबित्र क्षेत्रभित्र पस्न बाट रोक्नका लागी गोलाकार नहरहरु बनाईएको हो । पबित्र क्षेत्रलाई बिश्व आरक्षण समाजको १ देखी ६ डिसेम्बर १९ सय ९७ को सभाले बिश्व सम्पदा सुचिमा समावेश गरेको थियो । पबित्र क्षेत्रमा दायंँ बायंँ  वा पूर्व पश्चिम गरी दुई क्षेत्रमा दुई– दुई सय जनासम्म साधक साधिकाहरु अटाउने ध्यानकुटी र गोलाकार नहरहरुको बाहिर पवित्र  पुरातात्विक  क्षेत्रको हेरचाहका लागि पुरातात्विक कार्यालय बनाइएको छ । गोलाकार पोखरी बाहिर एउटा बिशिष्ट अतिथिगृह र अर्को अति बिशिष्ट अतिथिगृह बनाउने योजना समेत छ ।
    उद्यान क्षेत्रभित्र बुद्धको जन्म भएको स्थान, मायादेबी मन्दिर, मायादेबीले स्नान गरेको चिसो र तातो पानीयुक्त २ वटा कुण्ड भएको पोखरी, अशोक स्तम्भ र त्यस वरिपरी प्राचीन बिहार, चैत्य आदिका भग्नावेशषहरुको संरक्षण गरी  आगन्तुक तीर्थयात्रीको मनलाई शान्त र शीतल पार्न र बुद्धकालीन प्राचीन बगैचालाई झल्काउने गरि  बिभिन्न पmूल  र बिरुवाहरु रोप्ने योजना  छ । यहां रहेका ४१ वटा उद्यँनका प्लटहरु मध्ये ३ वटा प्लटहरुमात्र तयार भएका छन् । बांकी सवै प्लटहरुलाई यसैवर्षदेखि सुन्दरीकरण गर्ने योजना छ ।  पवित्र उद्यान क्षेत्रमा गुरुयोजना अनुसार निर्माण गर्ने ठूला संचरनाहरु करिव सम्पन्न भएका छन् । उद्यानलाई परिक्रमा गरेको पोखरी सफा गर्ने काम बांकी छ । अहिलेको पोखरीलाई दोब्बर बढाएर घांस तथा झारहरु उम्रिन नमिल्ने गरि सफा गर्ने र पोखरी वरिपरिको भिरालो जमिनमा दुवो,फूल तथा छहारी दिने स–साना रुख रोप्ने काम शुरु भएको छ । पोखरीका विभिन्न ५ स्थानमा पानीका रंगिन फोहोराहरु बनाउने योजना समेत छ । पोखरीमा जलचर प्राणीहरु र चराचुरुड्गिको आगमन बृद्धि गर्न उनीहरुको वासस्थान सुरक्षित गरेर यसको सुन्दरीकरण गर्ने योजना छ । आगामी वर्षभित्र यसको निर्माण कार्य पुरा हुनेछ ।  पोखरीको डिलमा बनेको परिक्रमा पथमा ईंटा छाप्ने काम पनि पुरा भइसकेको छ । तर यसको मर्मत सम्भार राम्रो हुन सकेको छैन । पोखरी सुन्दरीकरणका कामसंगै यसको मर्मत सम्भार गरेर अझ सुन्दर बनाइने छ । 
पवित्र उद्यान क्षेत्र भित्र करिव ७० लाखको लागतमा पुरातात्विक कार्यालय भवन निर्माण गरिएको छ । सफा र कञ्चन पानीले घेरिएको मायादेवी मन्दिर ४१ वटा उद्यानहरुले घेरिंदा स्वर्गको टुक्रा जस्तै सुन्दर हुनेछ । यो पुरा भएपछि अहिले १ घण्टामात्रै मायादेवी मन्दिर क्षेत्र घुम्ने पर्यटहरुलाई कम्तिमा ४ घण्टा अडाउन सकिने अपेक्षा छ । 

आकर्षक बिहार क्षेत्र

पबित्र उद्यान क्षेत्रबाट उत्तर तपर्m रहेको  अन्तराष्ट्रिय गुम्वा क्षेत्रलाई पूर्वी र पश्चिमी बिहार क्षेत्र गरी दुई  भागमा बिभाजन गरिएको छ ।  यो दुई क्षेत्रलाई शान्ति दीप बाट सुरु भएको केन्द्रिय नहरले दुई अलग अलग भागमा छुट्टाएको छ । यो क्षेत्रमा थेरबादी बिहार, महायानी, बज्रयानी बिहार, स्तुप तथा ध्यान केन्द्रहरु निर्माण गर्ने लक्ष्यका साथ बिभिन्न बिहार र गुम्बाका लागी ४३ वटा प्लटहरु छुट्टाईएको छ ।  त्यसैले यसलाई सानो बौद्ध संसार पनि भनिन्छ । जसमध्ये पूर्वी विहार क्षेत्रमा थेरावादी वौद्ध सम्प्रदायका १३ वटा मूलुकहरुमध्ये नेपाल लगायत ७ वटा मुलुकका आकर्षक विहारहरु निर्माण भइसकेका छन् । पश्चिमी विहार क्षेत्रमा महायानी सम्प्रदायका २९ मुलुकमध्ये २१ वटा मुलुकहरुले आफ्नो संस्कृति झल्कने आकर्षक विहारहरु बनाइसकेका छन् । ती मध्ये केही विहारहरु निर्माणाधिन छन् । वांकी मुलुकहरुले निर्माणको काम थालेका छैनन् ।  
यसरी विहार बनाउने मुलुकहरुमा पूर्वतर्फ श्रीलंका, वर्मा, थाइल्याण्ड, कम्वोडिया, क्यानडा, लगायत छन् भने पश्चिमतर्फ चीन, सिंगापुर,जापान, कोरिया, फ्रान्स, जर्मनी, भियतनाम, क्यानडा लगायतका मुलुक छन् । अमेरिका लगायतका केही मुलुकहरुले विहार वनाउने तयारी गर्दैछन् ।
गुरुयोजनामा मोनाष्ट्री क्षेत्रको वीचमा प्रस्तावित केन्द्रिय नहरको दायां बायां पानीमा पmुल्ने वाटर लिली पmुलहरु लगाउने काम बांकी छ ।   खुट्टाले चलाउने ध्वनी प्रदुषणरहित डुंगाँबाट नहरको सयर गराउने योजना गुरुयोजनामा छ यद्यपी  अहिले मोटरबोट संचालनमा छ । यसलाई विस्तारै विस्थापित गर्ने योजना लुम्विनी विकास कोषको छ ।  नहरको दायां बायंँ हरियाली बगैंचाको विकास गरि त्यसमा  आरामदायी कुर्सीहरुका साथै अटोमेटिक पेयस्थलहरु निर्माणका काम बांकी छन् ।नहरको दुवैतर्फ हाल रहेको सडक क्षेत्रमा विभिन्न रंगिविरंगी फूलहरु रोप्ने काम शुरु भएको छ । केन्द्रिय नहरवाट कोरियन विहार जाने सडकको दुवैतिर पनि बगैंचा निर्माण भइरहेको छ । 
 केन्द्रिय नहरको दायांबायां पैदल यात्राका लागि  ईटाले छापिएको पैदल गोरेटो बाटोको निर्माण सम्पन्न भएको छ । तर ति ईंटाले यसको सुन्दरता अभिबृद्धि गर्न नसकेको ठहर गर्दै कोषले उक्त क्षेत्रमा ईंटा माथि रातो रंगको अर्को टायल लगाउने योजना बनाएको छ ।त्यहां लस्करै ठडाइएका फलामका पोलहरु हटाएर अझ भब्य र आकर्षक देखिने इटालिएन पोलहरु राख्नका लागि अध्ययन शुरु भएको छ ।  बाटोको दायां बायां जुनसुकै मौसममा फुल्ने बिभिन्न  १४ प्रजातीका फूल बिरुवाहरु १६ लाईन मिलाएर रोप्ने काम शुरु भएको छ । आगामी केही महिनाभित्रै यो सम्पन्न हुनेछ । पूर्वी र पश्चिमी विहार क्षेत्रलाई जोड्न केन्द्रिय नहरका विभिन्न स्थानमा  अर्धगोलाकार पुलहरु  निर्माण  भएका छन् । केन्द्रिय नहरको दुवैतिर पर्यटकहरु विश्राम गर्ने बेन्चहरु राखिनेछ ।  नरहको वीच भागबाट तारा फाउण्डेसन र महावोधि सोसाइटीतर्फ फैलिएका नहरहरुलाई थप सुन्दर बनाउने र पानीका फोहोराहरु निर्माण गर्ने काम भइरहेका छन् । 
यस क्षेत्रभित्रै पर्ने शान्ति दीप र परिक्रमा पोखरी जोड्ने दुइवटा पोखरी र त्यसको छेउंमा आकर्षक मिनि पर्यटक सूचना केन्द्र निर्माण सम्पन्न भएको छ । यसलाई सिम्वोलिक पेभिलियन नाम दिइएको छ ।  पर्यटकका लागि खानेपानी,शौचालय र विश्राम केन्द्रको ब्यवस्था यो पेभिलियनमा गरिनेछ । यहां लुम्विनीमा उत्पादन भएका स्थानीय सामग्रीहरुको विक्रि वितरण गर्ने योजना समेत छ । लुम्विनीभित्र यस्ता पेभिलियन अझै ८ जोडी बन्नेछन् । अहिलेसम्म ३ जोडि  निर्माण भएका छन् ।  ५ जोडी पेभिलियन बनाउने काम वांकी छ ।  एउटा पेभिलियन निर्माणका लागि २ करोड खर्च लाग्ने  छ । 
विहार क्षेत्रमा केन्द्रिय नहरको दायांबायां अत्याधुनिक सुविधासम्पन्न चार वटा शौचालय करिव सम्पन्न भएका छन् ।  एउटा शौचालय निर्माणमा ५० लाख लगानी भएको छ । बसपार्कमा एउटा शौचालय वनिसकेको छ अर्को बन्न वांकी छ ।   


नयां लुम्बिनीग्राम 

लुम्बिनी गुरुयोजनामा बांडिएका प्रमुख तीन वटा क्ष्ोत्रहरु बुद्धको दर्शन तथा उपदेशलाई प्रतिविम्बित गर्ने गरी भौतिक एवं वातावरणीय  रुपमा संरक्षण गर्ने अभिप्रायले तयार गरिएका छन । योजनाबद्ध रुपमा बिकास भइरहेको  तीन वर्ग माईलमध्येको उत्तर तपर्mको एक वर्ग माईल क्षेत्रलाई नयां लुम्बिनीग्राम नामाकरण गरिएको छ ।  गृहस्थ जीवनमा आवश्यक पर्नै सबै प्राबिधिक परियोजनाहरु समावेश गरिएको क्षेत्रलाई नव लुम्बिनीग्राम भनेर बुहत गुरुयोजनामा समावेश गरिएको छ । तीर्थयात्री तथा पर्यटकहरुलाई  आवश्यक भौतिक सुबिधा पुर्याउने संरचनाहरु यो क्षेत्रमा निर्माण गर्ने लक्ष्य राखिएको छ । 
    नया लुम्बिनीग्राम क्षेत्रमा कतिपय संरचनाहरु बनेर संचालनमा आइसकेका छन् यद्यपी थुप्रै  महत्वपूर्ण संरचनाहरु बन्न बांकी छन् । गुरु योजनाले लुम्विनी ग्राम क्षेत्रमा  चार किसिमका बिश्राम गृह बनाउने  प्रस्ताव गरेको थियो । जसमध्ये  एक सय बेडको सबै सुबिधायुक्त बिलासी होटल,  एक सय ५० बेडको मध्यमस्तरको सुबिधायुक्त होटल, दुई सय बेडको साधारण आवासगृह र चार वटा क्याम्प्रिङ् निर्माण गर्ने योजना बनाएको थियो । जसमध्ये तीन स्तरका होटलहरु सञ्चालनमा छन् भने क्याम्पिङ् निर्माणको काम वांकी छ । 
     गत वर्षदेखि  यस क्षेत्रका महत्वपूर्ण संरचनाहरुको निर्माण कार्य शुरु भएको छ । पर्यटक सूचना केन्द्र र लुम्विनी विकास कोषको प्रशासनिक भवन निर्माण सम्पन्न भएर सञ्चालनमा छन् । यहां डोम आकारका यस्ता कूल ८ वटा भवनहरु बन्ने छन् । लुम्विनी विकास कोषले यी भवनहरुलाई लुम्विनीको धरोहरका रुपमा लिएको छ । बैंक,प्रहरी,उपचार भवन,ट्राभल एजेण्ट र रेष्टुरेष्टका लागि यस्ता भवनहरु बन्नेछन् । 
गुरुयोजना क्षेत्रभित्र ९ वटा गेटमा आधुनिक सुरक्षा पोष्टहरुको निर्माण कार्य करिव सकिएको छ  । १६ किलोमिटर लामो सुरक्षा पर्खाल निर्माण कार्य पनि पुरा भएको छ । वाहिरी सडक निर्माणका कारण कतिपय स्थानमा भत्किएको पर्खाल निर्माणको काम फेरि शुरु हुंदैछ । 
न्यू लुम्विनी भिलेज क्षेत्रमा ३५ करोडको लागतमा अग्लो खानेपानी टंकी निर्माण भइसकेको छ । ३५ करोडकै लागतमा अन्डरग्राउन्ड टेलिकम्युनिकेशन र विद्युतीय विस्तार,३५ करोडकै लागतमा ढल निकासको काम शुरु भएका छन् । यी वाहेक केही ठूला पोखरी र केन्द्रिय नहरको विस्तारका काम समेत बांकी छन् । नयां लुम्विनी ग्राम क्षेत्रमा १ हजार क्षमताकोे अस्थायी सभाहल समेत निर्माण भएको छ । स्थायी सभाहल निर्माण सम्पन्न नहुंदासम्मका लागि बनाइएको यो सभाहल बुद्ध जयन्तीका अवसरमा गरिने ठूला समारोह सहितका कार्यक्रमहरुका लागि उपयोगी वनेको छ । यसै क्षेत्रमा हाइ स्कूल तथा अस्पतालको परिकल्पना समेत गुरुयोजनाले गरेको छ । हाइ स्कूलको नाममा लुम्विनी गुरुयोजनाकै डिजाइनअनुसार लुम्विनी वौद्ध विश्वविद्यालयको आवास क्षेत्र निर्माण गरिएको छ । यी भवनहरु २० वर्ष विश्वविद्यालयले उपयोग गरेपछि हाइस्कुल सञ्चालन गर्ने कोषको योजना छ । यहां भर्खरै निर्माण भएको दुइवटा खानेपानी टंकीले लुम्विनीको आकर्षण थपेको छ । 

उज्यालो लुम्विनी 

अहिलेसम्म लुम्विनी गुरुयोजना क्षेत्रभित्र विद्युतीय ब्यवस्था निकै कमजोर छ । गुरुयोजना क्षेत्रभित्र कोषले राखेका सोलार बत्तिहरु विग्रिसकेका छन् । जसका कारण रातमा लुम्विनी अध्यारो हुंदै आएको छ । तर कोषले अब लुम्विनी क्षेत्रलाई उज्यालो पवित्र क्षेत्रको रुपमा विकास गर्दैछ । लुम्विनीका सवै संरचनाहरुलाई रातीमा समेत प्रष्ट देख्न र क्यामेरामा कैद गर्न मिल्नेगरि उज्यालो बत्तिको ब्यवस्था गरिदैछ । केन्द्रिय नहरको दुवैतिर अहिले भएका फलामे पोलहरु हटाएर आकर्षक इटालिएन पोलमा विद्युतको ब्यवस्था गरिनेछ । एउटै लहरमा दुवैतिर राखिने यस्ता पोलहरुमा रंगिन वत्तिहरुको ब्यवस्था गर्दा केन्द्रिय नहरको पानीभित्र यी बत्तिहरुको प्रतिविम्व सांच्चिकै मनमोहन देखिनेछ ।सवै मूल सडक र सहायक सडकहरुमा वत्ति हुनेछन् । परिक्रमा पोखरीमा रंगीन वत्तिसहितका पानीका फोहोराहरु बनाइनेछ । मायादेवी मन्दिरलाई पनि विशेष वत्तिहरुले सजाइनेछ । प्रत्येक रात अवेरसम्म र चाहानेहरुका लागि रातभर ध्यान बस्न मिल्ने गरि उज्यालोको ब्यवस्था गरिने कोषले बताएको छ । यसका लागि कोषले बैकल्पिक उर्जाको रुपमा ३ सय ५० किलोवाटको सोलार प्लान्ट समेत जडान गर्दैछ । 

हरियो लुम्विनी 

बौद्ध दस्तावेजहरुमा लुम्विनीलाई सुन्दर र मनमोहक बगैंचाको रुपमा ब्याख्या गरिएको छ । तत्कालिन महाराजा तथा महारानीहरुले समेत यो उद्यानमा पटक पटक घुम्न आउने गरेको इतिहास लेखिएका छन् । त्यतिवेलैदेखिको यो सुन्दर उद्यानमा बुद्धकालीन रुख रोप्ने अभियान लुम्विनी विकास कोषले पटक पटक चलाएपनि प्रभावकारी हुन सकेको छैन । जैविक विविधताका दृष्टिले निकै महत्वपूर्ण क्षेत्र भएकाले  र गुरुयोजनाले समेत लुम्विनी विकास कोषको ६० प्रतिसत भूभाग हरियाली हुनुपर्ने उल्लेख गरेकाले यसलाई ब्यवस्थित गर्न लुम्विनी विकास कोषले यसवर्षदेखि बल्ल काम थालेको छ । रोपिएका रुखहरु हुर्काउन चिस्यानको आवश्यकता पर्ने भन्दै  कोषले विभिन्न १० स्थानमा ठूला – ठूला पोखरीहरु निर्माण गर्न थालेको छ । पोखरीमा पानी टन्न भरेर राख्दा वरिपरिको जमिनमा रुख विरुवाहरु सजिलै हुर्किने र कपिलवस्तुको जगदिशपुरतालमा जस्तै पाहुना चराहरुको संख्या बढ्ने विश्वास कोषले लिएको छ । कोषले यहांको जंगलमा फलफुलका विरुवा रोप्ने अभियान चलाउने र त्यसरी विरुवा रोप्न चाहाने संघसंस्थाहरुले  हुर्काउनुपर्ने सर्त सहित बृक्षरोपण गर्न दिने प्रावधान बनाएर कार्यान्वयन गर्न खोजेको छ । त्यसका लागि पहिले पोखरी निर्माणका कामलाई प्राथमिकता दिइने छ । पोखरी निर्माणसंगै यसवर्ष २६ सय ४२ वटा फलफुलका विरुवा रोप्ने कार्यक्रम छ । वुद्ध जन्मिएको २६ सय ४२ वर्ष पुगेको अवसरमा यो संख्यामा रुख रोप्ने निर्णय गरिएको कोषले जनाएको छ । 
लोपोन्मुख पंक्षिको रुपमा रहेको सारस लगायतका २ सय ५० प्रजातीका चराहरु यहां पाइन्छन् । पचास प्रजातीका चराहरु विभिन्न मुलुकबाट यहां पाहुना बनेर आउंछन् । सयौं प्रजातीका वनस्पती,रुख तथा जडिबुटीहरु यहां छन् । जैविक विविधताको संरक्षण र संबद्र्धनका लागि प्रशस्त पानीको आवश्यकता पर्ने भएकाले तेलार र बनरहवा नदी डाइभर्सन गर्ने कार्यक्रम गुरुयोजनामा छ । तर यो काम भने बांकी छ । यहां निलगाई,मृग,चितुवा,बंदेल,वांदर,ढेंडु बांदर,खरायो,लोखर्के लगायतका जीवजन्तु छन् । 

गुरुयोजना विनाका आयोजना 

लुम्विनी गुरुयोजनाले उल्लेख नगरेका कतिपय ठूला आयोजनाहरु समेत लुम्विनीमा निर्माण भएका छन् । त्यस्ता आयोजनाले पनि लुम्विनीको सुन्दरतामा टेवा पुर्याएको छ, यद्यपी गुरुयोजना विपरित निर्माणका काम गर्न नहुने आवाज लुम्विनीमा पटक पटक उठ्दै आएको छ । शान्ति दीप नजिकै मायादेवी मन्दिर जाने बाटोमा निर्माण भएको वेवी बुद्ध गुरुयोजना विपरित छ । यद्यपी यो संरचनाले लुम्विनीलाई अझ आकर्षक बनाएको छ । थाइ विहारको सहयोगमा शान्तिदीपको दायांतर्फ निर्माण भएको विश्रामगृह पनि गुरुयोजना वाहिरको योजना हो । तर यसले पनि लुम्विनी आउने पर्यटकहरुलाई निकै  सुविधा दिएको छ । अहिले निर्माण भएको १ हजार क्षमताको अस्थाई सभाहल पनि गुरुयोजना विपरितकै योजना हो । तर यसले पनि लुम्विनीमा ठूला सभा समारोह गर्न सभाहलको अभाव पूर्ति गरेको छ । प्रधानमन्त्री केपी ओलीको निर्देशनमा निर्माण शुरु भएको ५ हजार अट्ने ध्यान तथा सभागृह पनि गुरुयोजनामा छैन तर यसलाई पनि लुम्विनीको निकै महत्वपूर्ण पूर्वाधारको रुपमा लिइएको छ । नयां लुम्विनी ग्राम क्षेत्रमा लुम्विनी वौद्ध विश्वविद्यालयले ६ वटा भवनहरु बनाएको छ । गुरुयोजनाले भनेको  डिजाइनमा बनेपनि यी भवनहरु गुरुयोजनाको परिकल्पना विपरित छन् । गुरुयोजनाले यस क्षेत्रमा हाइस्कूलको अवधारणा राखेको छ । कोषले हाइस्कूलको अवधारणालाई टेकेर लुम्विनी वौद्ध विश्वविद्यालयलाई २० वर्षसम्म प्रयोग गर्न पाउने गरि ती संचरना बनाउन जग्गा उपलब्ध गराएको हो । तर वौद्ध विश्वविद्यालयले ती भवनहरुमा अध्ययन अध्यापनको काम नगरेर आफ्ना कर्मचारीहरु बास वस्ने क्वाटरको रुपमा विकास गरेको छ ।  यो पनि गुरुयोजना विपरित छ । गुरुयोजनाले अशोक स्तम्भ,शान्ती दीप,केन्द्रिय नहर,६ लाख लिटर पानी अटाउने गुम्वाकारको पानी ट्यांकी र  शान्ति स्तुपा एउटै लहरमा पर्नेगरि योजना बनाएको थियो ।  तर शान्ति स्तुपाको अगाडी  निर्माण हुने पानी ट्यांकीले शान्तिदीपबाट हेर्दा स्तुपा छेक्ने भएपछि कोषले शान्ति दीपको दुवैतिर पर्नेगरि पर्ने ३–३ लाख लिटरका दुइवटा पानी ट्यांकी निर्माण गरेको छ । यो पनि गुरुयोजना विपरित नै छ  तर यसले लुम्विनीको सुन्दरता थपेको छ । गुरुयोजनामा परिक्रमा पर्खालको समेत अवधारणा थिएन,कोषले सुरक्षाका लागि पर्खाल निर्माण गरेको छ ।  सन् १९७८ मा टांगेले परिकल्पना गरेको गुरुयोजनाका कतिपय डिजाइनहरुबाट लुम्विनी विकास कोष असन्तुष्ट छ । गुरुयोजना अनुसार बनेका डोम आकारका भवनहरु कार्यालय वा अरु प्रयोजनमा त्यति उपयुक्त देखिएका छैनन् । कतिपय संचरनाहरु हावाहुरी र तापक्रमका कारण क्षति समेत भएका छन् । समयानुकुल गुरुयोजनाले निर्धारण गरेका भवनहरुको डिजाइन थपघट गरेर संरचना निर्माण गर्नुपर्ने आवश्यकता देखिएको कोषका प्राविधिकहरुले बताउंदै आएका छन् । 


 

प्राप्त प्रतिकृयाहरू

To Top