लगानीका लागि नेपाल ‘भर्जिन ल्यान्ड’ हो

राजनीति जेठ १ २०७६ ekhabarnepal
Pm oli 2

 

काठमाडौँ जेठ १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई नेपालमा लगानी गर्न उपयुक्त वातावरण भएको भन्दै भियतनामी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । 
कम्बोडियाको औपचारिक भ्रमणका क्रममा नोमपेन्हमा आयोजित नेपाल कम्बोडिया बिजनेस फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो आग्रह गर्नुभएको हो । 
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, “जुनसुकै क्षेत्र वा जोसुकैका लागि पनि लगानी गर्न नेपाल ‘भर्जिन ल्यान्ड’ हो । जहाँ लागानीको प्रतिफल प्राप्त हुने कुरा सुनिश्चित छ ।”
प्रधानमन्त्री ओलीले कृषि, खनिज स्रोत, जडीबुटी, अतिथि सत्कारसँग सम्बन्धित व्यवसाय र वित्त बजार लगायतका लगानीका लागि सम्भावित क्षेत्र रहेको उल्लेख गर्दै अगाडि भन्नुभयो, “ ठूलो सङ्ख्यामा अङ्ग्रेजी बोल्ने र डिजिटल प्रविधिसँग जोडिएका युवा हाम्रा सम्पत्तिका रुपमा रहेका छन् त्यसैले सूचना प्रविधिको क्षेत्र अर्को लाभप्रद लगानीको क्षेत्र हो । ”
प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्न श्रम लागत न्यून र प्रतिस्पर्धी रहेको उल्लेख गर्दै नेपाल श्रम नीतिमा लचिलो रहेको र विश्वव्यापी मान्यताअनुरुप नै योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली कार्यान्वयन भइरहेको बताउनुभयो । 
साथै नेपालले न्यून कर प्रणाली अगाडि ल्याएको र उपयुक्त वित्तीय वातावरण तयार गरिएको भन्दै उहाँले भन्नुभयो, “हाम्रो कर प्रणाली पारदर्शी, अनुमान गर्न सकिने र लगानीमैत्री छ । ”
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कम्बोडियाका प्रधानमन्त्री हुन सेनले नेपाल र कम्बोडियाबीच आर्थिक सहयोग प्रवद्र्धन गर्ने बलियो प्रतिवद्धता व्यक्त गरेको स्मरण गराउँदैे दुई देशका जनताको आपसी हितका लागि आर्थिक सम्बन्धलाई नयाँ उचाइ दिन कम्बोडियासँग बलियो साझेदारी गर्न आफू प्रतिवद्ध रहेको बताउनुभयो । 
प्रधानमन्त्री ओलीले नेपालले कम्बोडियाको द्रुत आर्थिक विकास र यसको समृद्धितर्फको निरन्तर यात्राबाट धेरै कुरा सिक्नसक्ने बताउँदै भन्नुभयो, “ हामीले भोगेका द्वन्द्वको इतिहासको सन्दर्भमा त्यसलाई सहन गर्ने र देशलाई पुनःनिर्माण गर्ने सन्दर्भमा यो निकै ठूलो उपलब्धि भएको बताउनुभयो । 
आफू पाँच वर्ष अघि कम्बोडियाको भ्रमणमा आउँदा र अहिलेसम्ममा कम्बोडियाले धेरै कुरा रुपान्तरण गरिसकेको अनुभूति गरेको बताउँदै त्यसको श्रेय हुन सेनको सक्रिय र दूरदृष्टिकोण सहितको नेतृत्वलाई जाने बताउनुभयो । 
प्रधानमन्त्री ओलीले नेपालमा लगानीका लागि उपयुक्त वतावरण रहेको पाँचवटा मुख्य आधार प्रस्तत गर्दै कम्बोडिया सरकार तथा निजी क्षेत्रलाई नेपालमा लगानीका लागि आव्हान गर्नुभयो 
पहिलो नम्बरमा नीतिगत स्थायित्वको चर्चा गर्दै प्रधानमन्त्रीले अहिले दुई तिहाइ बहुमतको सरकार रहेको साथै राजनीतिक स्थायित्व कायम रहेको बताउनुभयो । 
दोस्रो, बलियो र चुस्त नियमक संरचना रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपालले बाह्य लगानीलाई आकर्षित गर्न ठोस सुधारका कामहरू गरेको जस अन्तर्गत वैदेशिक लागनी र प्रविधि हस्तान्तरण ऐनलाई समय सान्दर्भिक हुने गरी पूर्णरुपमा परिर्माजन गरिएको त्यसै गरी सार्वजनिक तथा निजी साझेदारी तथा लागानी ऐनमा सुधार जस्ता काम गरेको बताउनुभयो । 
तेस्रो, लागानीकर्ताका लागि व्यवसाय सुरु गर्न लागनीको प्रक्रियाहरू सरल र सहज बनाएको र एक स्थानबाटै सेवा दिन ‘वानस्टप सर्भिस सेन्टर’ बुधबारबाट नेपालमा सुरू हुन लागेको बताउनुभयो । 
चौथोमा नेपाल विश्वका दुई ठूला अर्थतन्त्र चीन र भारतका बीचरमा रहेको उल्लेख गर्दै बजारको उपलब्धता र पहुँचका दृष्टिले नेपाल उपयुक्त रहेको बताउनुभयो । 
पाँचौँमा नेपालमा मानव तथा प्राकृतिक स्रोतको कुनै कमी नरहेको र त्यसमा धनी रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “ काम गर्ने उमेका ५७ प्रतिशत जनसङ्ख्या हुनु भनेको ठूलो जनसाङ्ख्यिक लाभ हो साथै हामी प्रकृति र सांस्कृतिक स्रोतले भरिपूर्ण छौँ ।
यसैबीच, प्रधानमन्त्री ओली र कम्बोडियाका कार्यवाहक राष्ट्र प्रमुख भिबोल सेना फिक्डे से छुन्मबीच मङ्गलबार सिनेट हाउसमा भेटघाट भएको छ । राष्ट्र प्रमुख राजा नोरोदम सिंहमोनी ‘एसियाली सभ्यता बहस सम्मेलन’का लागि हाल बेइजिङमा हुनुहुन्छ । उहाँले सिनेट प्रिसिडेन्टलाई कावा राष्ट्र प्रमुख तोक्नुभएको हो ।

थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीका अनुसार उहाँहरुबीच द्विपक्षीय सम्बन्ध, संसद् र संस्कृतिसम्बन्धी विषयमा छलफल भएको थियो । भियतनामको पाँचदिने भ्रमण पूरा गरी प्रधानमन्त्री ओली हाल कम्बोडियामा हुनुहुन्छ । कम्बोडियाको विदेशमामिला मन्त्रालयका अधिकारीले सो भेटघाटले दुई देशबीचको सम्बन्ध बलियो बनाउनाका साथै अर्थ, ब्यापार, पर्यटन र संस्कृतिसम्बन्धी सहयोग र संसदीय अनुभव आदानप्रदान गर्न बढावा दिने विश्वास व्यक्त गरिएको छ । 
यसैगरी, प्रधानमन्त्री ओलीले कम्बोडियाका नेसनल एसेम्ब्ली अध्यक्ष साम्देक आक्का मोहा पोन्हिया चक्री हेङ सामरिनसंँग मङ्गलबार संसद् भवनमा भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री ओली र नेसनल एसेम्ब्ली अध्यक्षबीच दुवै मुुलुकका समसामयिक राजनीति, द्विपक्षीय सम्बन्ध तथा संसदीय मामिलासम्बन्धी छलफलमा छलफल भयो 
दुवै नेताबीच दुई देशका संसद्बीच आदानप्रदान गर्ने तथा सुदृढ बनाउने सहमति भएको छ कम्बोडियाली विदेश मन्त्रालयका अधिकारीले नेपालका प्रधानमन्त्री ओलीको भ्रमणले कम्बोडिया अधिराज्य र नेपालबीचको मित्रतालाई बलियो तुल्याउँदै दुई देशबीचको आर्थिक, व्यापारिक, पर्यटकीय र सांस्कृतिक सहयोगलाई प्रबद्र्धन गर्ने अपेक्षा गरेका छन् ।

यसैबीच, प्रधानमन्त्री ओलीले मङ्गलबार कम्बोडियाली राजदरबारको उत्तरी भागमा अवस्थित राष्ट्रिय सङ्ग्रहालय अवलोकन गर्नुभयो ।

प्रधानमन्त्री ओली सोमबारदेखि कम्बोडियाको औपचारिक भ्रमणमा रहनुभएको छ । यहाँको राष्ट्रिय सङ्ग्रहालयमा १९१७ देखि १९२० सम्म माटाबाट बनाइएका परम्परागत संरचना राखिएका छन् । यो सङ्ग्रहालय खमेर वास्तुकलाका सबैभन्दा राम्रो सङ्कलनका रुपमा रहेको बताइएको छ । यहाँ एङ्करवाट नजीकै पश्चिमी मेबन मन्दिरमा सन् १९३६ मा उत्खनन् गर्दा प्राप्त भएको विष्णुको काश्यमूर्ति पनि राखिएको छ ।

यहाँका मूर्तिमा पाँचौँदेखि आठौँ शताब्दीसम्मका भारतीय मूर्तिकला तथा त्यसको खमेर वास्तुकलामा सङ्क्रमण देख्न सकिन्छ । यहाँ छैटौँ शताब्दीमा बनेको तथा नोम दामा प्राप्त आठ हातयुक्त हरिहरको मूर्ति पनि राखिएको छ ।

यहाँ एङ्कोरबाटमा प्राप्त शिवका नवौँदेखि तेह्रौँ शताब्दीमा बनेका मूर्ति तथा चौथोदेखि चौँधौँ शताब्दीमा बनेका भाँडाकुँडा पनि राखिएका छन् । यहाँ कपडाका ऐतिहासिक वस्तु छन् । यहाँ राखिएको हातले बुनेको एक पछ्यौरा एक किलोमिटरभन्दा लामो छ जसलाई गिनिज बुक अफ वल्र्ड रेकर्डस प्रमाणपत्र दिएको छ । प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत पनि हुनुहुन्थ्यो ।

प्राप्त प्रतिकृयाहरू

To Top