आठ आनाको मटेङ्ग्रोले विष्णु पौडेललाई हान्नेहरु

बिचार जेठ १ २०७६ ekhabarnepal
Download


झपेन्द्र जी.सी.
१. विषय प्रवेशः

 विष्णु पौडेल स्याङ्जा राङखोलामा जन्मेका र त्यहींको हाइस्कुलबाट शिक्षा आर्जन गरेर राजनीतिक यात्रा प्रारम्भ गरेका हुन् । जन्म राङखोलामा भए पनि उनको राजनीतिक यात्रा  रुपन्देहीबाट प्रारम्भ भएको हो । तत्कालीन भूमिगत नेकपाको  पूर्व स्वरुप नेपाल कम्युनिष्ट पार्टी को–अर्र्डिनेसन केन्द्र (को.के) बाट राजनीतिक यात्रा प्रारम्भ गरेका पौडेल हाल एकिकृत नेपाल कम्युनिष्ट पार्टीको महासचिवका हैसियतमा कार्यशील छन् । त्यसो त दुई कम्युनिष्ट पार्टीलाई एकीकृत गर्नमा पनि उनको सक्रिय भूूमिक रहेको जगजाहेर छ । यस उसले पनि होला नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उहाँको संगठनात्मक क्षमता, समन्वयकारी भूमिक र समसामयिक राजनीतिमा तीक्ष्णता र सचेतनतालाई आत्मसात् गरेर महासचिवजस्तो महत्वपूर्ण पदभार जिम्मा लगाएको देखिन्छ । तत्कालीन नेकपा मालेको राजनीतिक दस्तावेज भारतमा प्रकाशन गरेर नेपालतर्फ ल्याउने क्रममा दक्षिणी सीमा क्षेत्रमा नेपाल प्रहरीद्वारा गिरफ्तार भई भैरहवा जेल परेका मूर्धन्य नेता तथा प्रगतिवादी साहित्यकार मोदनाथ प्रश्रितसँगै विष्णु पौडेल पनि भैरहवा जेल ब्रेक गरेर जनतासमक्ष पुगेको गौरवपूर्ण इतिहास पनि छ । 
उनले राजतन्त्रात्मक पंचायती व्यवस्थाको समूल अन्त्य र जनवादी गणतन्त्र नेपाल स्थापनाका लागि रुपन्देही, पाल्पा, अर्घाखाँची र गुल्मीमा समेत भूमिगत रुपमा संगठनात्मक काममा सक्रियतापूूर्वक नेतृत्वदायी भूमिका गरिरहे । २०४६ सालको संयुक्त जनआन्दोलन संचालनमा क्रियाशील पौडेल निर्दलीय पंचायतको अन्त्य र बहुदलीय प्रजातन्त्र वहाली पश्चात् महाकाली अंचलमा गएर जनतालाई संगिठत  गर्ने कामको नेतृत्व गरेको इतिहास ताजै छ । 
उनले २०५१ सालको मध्यावधि निर्वाचनमा पाल्पा क्षेत्र नं. ३ बाट उम्मेदवार भई नेपाली कांग्रेसका उम्मेदवार हरिप्रसाद नेपाललाई शानदार मतले पराजित गरेर प्रतिनिधिसभाको सांसद मात्र होइन युवा, खेलकुद तथा संस्कृति मन्त्री बनेर कुशलतापूर्वक कार्यसम्पादन गरेका थिए । तत्पश्चात् २०५६ सालको प्रतिनिधिसभाको निर्वाचनमा रुपन्देही क्षेत्र नं. ३ बाट उम्मेदवार भएका थिए । तर सो निर्वाचनमा उनी पराजित भए । पराजित हुनुको कारण व्यापक गुण्डागर्दी थियो । यो निराधार आरोप मात्र हैन तपाईंहरु सवैलाई स्मरण होला–विष्णु पौडेलले निर्वाचनमा प्रयोग गरेका गाडी नै ध्वस्त पारिएको थियो ।
 हो मतले उनले हारे तर आत्माले हारेनन् । उनी हिम्मतहारा थिएनन् । त्यसैले २०६४ चैत २८ गते भएको संविधानसभाको निर्वाचनमा शानदार मतले विजयी भई रक्षामन्त्रीको जिम्मेवारी प्राप्त गरे । कुशलतापूर्वक आफ्नो कार्यकाल पूरा गरे । यो जगजाहेर छ । पुनः २०७० सालमा संविधानसभाको निर्वाचन भयो । २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भयो । संविधान जारी भए पछि गठन भएको केपी ओलीद्वारा नेतृत्व गरिएको सरकारको अर्थमन्त्री भए । अर्थमन्त्री हुँदा उनीप्रति नाक चिउराउनेहरु धेरै थिए तर अर्थमन्त्रीको हैसियतले जब बजेट प्रस्तुत गर्न थाले । क्याबात् विष्णु पौडेल ! हाइहाइ विष्णु पौडल हुन थाल्योे । होइन त ? सम्झना ताजै छ – हाम्रा थुप्रै डाक्टरहरु थिए खोइ त उनीहरुले के गरे ? तर ८–९ कक्षा पढेका विष्णुले चकितै पार्र्ने गरी राष्ट्र र जनताको पक्षमा बजेट प्रस्तुत गरे भनेर  तत्कालीन गुल्मी २ बाट निर्वाचित नेका सांसद डा. चन्द्र भण्डारीले बुटवलको आम्रपाली होटलमा आयोजित सर्वपक्षीय सभामा मुक्तकण्ठले पौडेलको प्रशंसा गरेको भाषण ताजै छ ।
हाल उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव छन् । लामो राजनीतिक कठोर यात्राबाट राष्ट्रिय राजनीतिक व्यक्तित्व निर्माण गर्न सफल भएका पौडेलको यसरी हुँदै गरेको प्रगति प्रतिस्पर्धात्मक लोकतान्त्रिक पद्धतिमा आफ्नै पार्टीभित्र पनि कतिपय प्रसंगमा कतिपय प्रतिस्पर्धीहरुलाई अपज र असहज भएको पनि होला । कसैको उन्नति प्रगतिमा लोकतान्त्रिक संस्कार र संस्कृति भएको अवस्थामा सहज हुन्छ । तर हाम्रो देशमा लोकतान्त्रिक  गणतन्त्रको  अभ्यास भर्खर भर्खर हुँदै गरेको अवस्था भएकाले तदनुसारको संस्कारमा ढालिन  बाँकी छ । अहिले विष्णु पौडेलका छोरा नवीन पौडेलको नाममा बालुवाटारमा खरिद गरिएको आठ आना जग्गा विष्णु पौडेललाई प्रहार गर्ने मटेङ्ग्रो बनेको छ । त्यो मटेङ्ग्रो उनलाई अवमूल्यन गर्ने ब्रहृास्त्रका रुपमा प्रयोग हुँदैछ । आठ आने मटेङ्ग्रो बनाएर उनीमाथि तारो हानिदैछ । त्यो मटेङ्ग्रो मिडियाहरुमार्फत् उफ्रदै  छ  । मिडिया पढेको, सुनेको, हेरेको आधारमा यो लेख तयार गर्ने प्रयास गरेको छु ।
२. आठ आने मटेङ्ग्रका सन्दर्भमाः 
वर्तमानमा केपी ओली प्रधानमन्त्री छन् । उनले आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचारीलाई कारबाही गरी छाड्ने प्रतिबद्धता जाहेर गर्दै आएका छन् । यसै क्रममा बालुवाटारको सरकारी जग्गा र यस आसपासको सार्वजनिक जग्गा के कति अतिक्रमित र अनियमित वा नियमित छ  भन्ने विषयमा यथार्थ छानविन गर्ने उद्देश्यले शारदा प्रसाद त्रितालको अध्यक्षतामा छानविन समिति गठन गरे । यो आफैमा स्वागत योग्य कुरा हो । २०४६ सालको परिवर्तन पछि सन्त नेता कृष्णप्रसाद भट्टराईदेखि दर्जनौं प्रधानमन्त्री भए तर उनीहरुले सरकारी जग्गालाई सरकारी जग्गामै र सार्वजनिक जग्गालाई सार्वजनिक जग्गामै कायम राख्न ठोस कदम चालेनन् । बरु उनीहरुको कार्यकालमा यो वा त्यो प्रकारले सरकारी र सार्वजनिक जग्गाहरु हडप्नका लागि नक्कली मोही समेत खडा गरिए र जग्गा व्यक्ति  व्यक्तिको नाममा दर्ज हुन पुगे । यो इतिहास हो । 
तर वर्तमान प्रधानमन्त्रीले सरकारी जग्गा र सार्वजनिक जग्गालाई संरक्षण गर्ने साहस गरेका छन् । तदनुसारका कदम चालेका छन् । विडम्वना यसखाले सकारात्मक कदमलाई स्वागत समर्थन गरेर दुई हातले ताली लगाउनु पर्नेमा उल्टै केपी ओली सरकारले सरकारी र सार्वजनिक जग्गा खायो भनेर मिडियामा छापिन र गुञ्जिन पुगे । यो नै विडम्बना हो भन्नुपर्छ  । त्रिताल आयोगले यथार्थ विवरण सार्वजनिक गरिसकेको छ । ललिता निवासको सार्वजनिक जग्गा ११३ रोपनी हिनामिना भएको उल्लेख  छ । यो दुःखद कुरा हो, सार्वजनिक सरोकारको विषय हो । २०४७ पछि जो जो प्रधानमन्त्री भए तिनीहरुले बालुवाटारको सरकारी र सार्वजनिक जग्गाको संरक्षण गर्न लाग्नु पर्दथ्यो । लागेनन् । किन लागेनन् ? यो सम्बन्धित पक्षलाई प्रश्न छ । जग्गा दलाललाई कुनै पनि हालतमा संरक्षण दिनु हुँदैनथ्यो । ती दलाल र माफियाहरुलाई कडा भन्दा कडा कारबाही गरिनुपर्छ । यसमा दुई मत हुन सक्दैन ।
 विष्णु पौडेलको छोरा नवीनले २०६१ सालमा उमादेवी ढकालबाट जग्गा किने । नेपालको संविधान २०७२ भाग ३ को धारा २५ को उपधारा १ मा प्रत्येक नागरिकलाई कानूनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचविखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक हुनेछ भन्ने उल्लेख छ । यही  संवैधानिक आधारमा टेकेर नवीन पौडेलले उमा ढकालबाट ८ आना जग्गा किनेछन् । यसमा नवीनले के अपराध गरे ? यसमा उनले अपराध गरे वा संविधान र ऐन कानूनको बर्खिलाप गरे भन्ने कुनै आधार देखिंदैन । मिडियावाजीमा नवीनको नाममा कहींकतै हिट (प्रहार) गरेको पाइँदैन । हिट त कहाँ गरिएको छ भने विष्णु पौडेलमाथि । मिडियाबाजी त कहाँ भएको छ भने विष्णु पौलेलमाथि । जग्गा किनबेच भयो । धेरैले खरिद बिक्री गरे । अरुहरु ती व्यक्तिको नाममा कुनै प्रहार भएको पाइँदैन । अरु जग्गाको प्रसङ्ग उठाएको पनि पाइँदैन । प्रसङ्ग उठाइएको छ भने केवल ८ आना जग्गाको । त्या पनि खरिदकर्ता छोरा नवीनको प्रसङ्गलाई पनि उठाइँदैन, उठाइन्छ केवल  विष्णु पौडेलको । विष्णु पौडेलको चरित्रहत्या गर्न, उनलाई अवमूल्यन गर्न र उनलाई राजनीतिक परिदृश्यबाट ओझेलमा पार्ने कुत्सित मनसायबाट अभिप्रेरित भई यसखाले मिडियाबाजी भइरहेको संकेत गर्दछ । सोझो कारबाही होस त उमा ढकाललाई होस् जसले नवीन पौडेललाई जग्गा बेचेकी थिइन् । सोझो कारबाही होस् त ती सबैलाई होस् जजसले ललिता निवासको जग्गा आआफ्नो नाममा ल्याउने काम गरे ।
३. ललिता निवासको सरकारी र सार्वजनिक जग्गा के हुनु पर्ला त ?
सरकारी जग्गा सरकारी नै कायम हुनुपर्छ । सार्वजनिक जग्गा सार्वजनिक नै हुनुपर्छ । ललिता निवास वा बालुवाटारको छानविन गरिनुपर्छ । देशैभरका यसखाले जग्गाको छानविन गरिनुपर्छ । सार्वजनिक र सरकारी जग्गाको संरक्षण गरिनुपर्छ । वर्तमान केपी ओली नेतृत्वको सरकारले बालुवाटारको जग्गा छानविन गर्ने र संरक्षण गर्ने जुन कदम चालेको छ, यो अत्यन्त राम्रो र स्वागतयोग्य कदम हो । सार्वजनिक र सरकारी जग्गा संरक्षण नगर्नेहरु अपराधी हुन् । अब सार्वजनिक जग्गा संरक्षण गर्न थाल्दा आपत्ति जनाउनेलाई के भन्ने ? सरकारले ४ आना जग्गाको यथार्थ छानविन गरोस्, गैर कानून भए छोड्न तयार छु भनेर विष्णु पौडेलले अपील मार्फत् सार्वजनिक गरेका छन् । यस सन्दर्भमा यो राम्रो र सकारात्मक पक्ष हो । तर उनले एउटा महान् गल्ती गरेका छन् । ८ आना जग्गाको खरिदकर्ता र त्यसको स्वामित्व नवीन पौडेलमा छ । नवीन पौडेलको जग्गाको निर्णय  नवीनले नै गर्ने हो, विष्णु पौडेलले होइन । छानविन  गर्दा सो जग्गाको हक भोग  छोड्दाका बखत प्रतिक्रिया जनाउने नवीनले हो, विष्णु पौडेल होइन । जग्गा छोड्दाको बखत जग्गाको थैली नवीनले उमा ढकालबाट नै लिने हो । अन्याय भयो भन्ने हो भने पनि नवीन पौडेल नै न्यायालयको शरणमा जाने हो विष्णु पौडेल होइन ।
४. निचोडः
 ५ नं. प्रदेशका नेताहरुमध्ये विष्णु पौडेल एउटा मूर्धन्य नेता हुन् । विकासे नेता हुन््, अगुवा संगठक हुन् । यो प्रसङ्ग  नेपाल कम्युनिष्ट पार्टीसँग मात्र जोडिदैन । विष्णु पौडेलबाट व्यक्तिगत रुपमा यो लेखकले कुनै राजनीतिक, आर्थिक र पद प्रतिष्ठा प्राप्त गर्नु छैन । विष्णु पौडेल साँँच्चै नै जग्गा दलाल वा माफिया नै हुन् भने उनको अधोपतन स्वयं उनैबाट हुन्छ । तर अहिलेसम्मको राजनीतिक यात्राका क्रममा त्यस्तो अनैतिक क्रियाकलापमा संलग्न भएको कहींकतै देखिदैन । मांसाहारीले मोटो खसी मरोस् अनि पछि त मासु खाने पाइन्छ भन्ने चाहना राख्दैमा वा प्रार्थना गर्दैमा त्यस्तो इच्छा पूरा भएको पनि पाइँदैन ।
 लुम्बिनी क्षेत्रका वरिष्ठ नेता जीवराज आश्रित थिए, दास ढुंगा जीप दुर्घटनाको बहानामा उनको अवसान भयो । अर्का मूर्धन्य नेता तथा सांस्कृतिक धरोहर मोदनाथ प्रश्रित हाल क्रिडास्थलको उकालो चढ्दै छन् तर गौथली गुँड नामक घरको बहाना देखाएर यो वा त्यो प्रकारले उनलाई पनि राजनीतिक क्षितिजबाट पाखा लगाइयो । त्यति मात्र होइन कृष्ण अविरल भन्ने एउटा पात्रले चरित्र हत्या सम्बन्धी कपोलकल्पित पुस्तक लेखेर चरित्र हत्या गर्न कुनै बाँकी राखिएन । मैले मानौं वा नमानौं त्यसपछि यो ५ नं. क्षेत्रमा राजनीतिक शिखिरमा पुगेका व्यक्तित्व तिनै विष्णु पौडेल हुन् । उनलाई उमादेवी ढकालबाट किनिएको ८ आना जग्गाको मटेङ्ग्रो बनाएर हानिदैछ । वर्तमान केपी ओली नेतृत्व सरकारले जग्गा छानविन गरेर सार्वजनिक  सरकारी जग्गा संरक्षण गर्दैछ, उल्टै बालुवाटार बेचेर खान थाल्यो भनेर बुरुक बुरुक उफ्रिंर्दै छ । किन होला ? के यसरी राष्ट्र, जनता र आफ्नो पनि हित होला र ? मेचीदेखि महाकालीसम्म र हिमालदेखि तराईसम्मका सरकारी जग्गा, मठमन्दिर, गुम्बा बिहार, मस्जिद र चर्चका कुुनै पनि जग्गाहरु संरक्षण गर्न सरकारले कुनै कसर बाँकी नराखोस्  । जनअपेक्षा त यत्ति हो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top