पौडेलको राजनीतिक ख्याति गिराउने कुचेष्टा 

राजनीति बैशाख २९ २०७६ ekhabarnepal
1

बुटवल, २९ बैशाख । नेकपा निकट बुद्धिजीवि, व्यवसायी एवं लेखकहरुको भेलाले रुपन्देहीका जनप्रतिनिधि तथा नेकपा महासचिव विष्णु पौडेलविरुद्ध भइरहेको प्रचारवाजी राजनीतिक भएको ठहर गरेको छ । ललिता निवासको जग्गा प्रकरणको विषयमा सरकारबाट हुने निर्णय आफ्नो लागि पनि स्वीकार्य हुने बताउँदा बताउँदै पनि गलत प्रचार गरिएकाले उक्त प्रचारबाजी राजनीतिक भएको निष्कर्ष निकालेको हो ।
भेलाले गलत प्रचारको खण्डन गर्ने र आम मतदाताहरुलाई जानकारी गराउने निर्णय समेत गरेको छ । पौडेलले प्रदेश नं. ५ मा गरिरहेको विकासको नेतृत्वबाट अत्तालिएका समूहबाट यसप्रकारको प्रहार भएको निष्कर्ष पनि निकालेको छ ।
भेलाले महासचिव पौडेलमाथि पार्टी भित्र र बाहिरबाट भएको राजनीतिक प्रहारप्रति चिन्ता ब्यक्त गरेको छ । यस्तो खालको प्रचारबाट पौडेलको चरित्रहत्या र राजनीतिक ख्याति गिराउने कुचेष्टा गरिएको भेलाले ठहर गरेको छ ।
भेला बोल्दै लेखक एवं राजनीतिकर्मी झपेन्द्र जिसीले पौडेल यस क्षेत्रका स्थापित, मुर्धन्य र विकासबादी नेता भएको बताउदै राष्ट्रिय रुपमा स्थापित व्यक्तित्वलाई खुइल्याउनका लागि पार्टीभित्रैबाट समेत गरिएको कृत्यको भ्रत्र्सना गरे ।
बुटवल नगरपालिकाका पूर्व उपप्रमुख विमलबहादुर शाक्यले यस क्षेत्रका निर्वाचित जनप्रतिनिधिहरुले एक ढिक्का भएर पौडेलमाथि भएको राजनीतिक प्रहारको प्रतिकार गर्नुपर्ने बताए । त्यस्तै व्यवसायी बाबुराम भट्टराईले बुटवलका सबै जग्गाहरु सुकुम्बासी भएको बताउँदै कोही कसैले सुकुम्बासी जग्गा किन्यो भनेर अतिरञ्जित गर्नुको कुनै तुक नरहेको बताए ।
उक्त भेलामा डा. इश्वर गौतम, डीआर घिमिरे, बसन्तराज खनाल, दिनेश पाण्डे, नवराज कुँवर, डा. शखिसरण सुवेदी, सुर्यबहादुर भट्टराई, समुन्द्र जिसी, मोति ज्ञवाली, टंक पोखरेल, हरि घिमिरेलगायतले बोल्दै पौडेलको नाममा पार्टीमाथी नै प्रहार भएको भन्दै त्यसको प्रतिरोधका लागि पार्टी कमिटीलाई आग्रह गरेका छन् । उनीहरुले बिरोधी पार्टीले महासचिवको राजिनामा माग्नुको कुनै तुक नरहेको बताए ।
 

प्राप्त प्रतिकृयाहरू

To Top