दोस्रो मेयर कपको उपाधि खुकुरीलाई,१८ खेलाडी सम्मानित

खेल बैशाख २८ २०७६ ekhabarnepal
Img 1130

भैरहवा, २८ वैशाख ।
सिद्धार्थनगर नगरपालिकामा संचालित दोस्रो मेयर कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी खुकुरी क्लबले हात पार्न सफल भएको छ । उसले शनिबार भएको फाइनल खेलमा साविक विजेता तिरुपति क्रिकेट क्लबलाई १८ रनले पराजित गर्दै उपाधि हात पारेको हो । जितसँगै खुकुरीले नगद ६० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो । उपविजेता तिरुपतिले नगद ३० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो । 
भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित खेलमा ९ विकेट क्षतिमा १ सय २५ रन बनाएको थियो । जसमा ३८ बलको सामना गरेका निश्चल चौधरीले ७ चौका र दुई छक्काको मद्दतमा ५३ रनको योगदान गरे । उनी रन आउट भए । यस्तै, इखलाख अहम्मदले २२ रन बनाए । बलिङमा तिरुपतिका संदीप सुनार र अनिल खरेलले २–२ तथा कृष्ण कार्की, रविन क्षेत्री, विष्णु कटरिया तथा विक्रम भुासलले समान १–१ विकेट लिए ।
जवाफमा तिरुपतिले ९ विकेट क्षतिमा १ सय ७ रन मात्रै बनायो । जसमा सुरज दरईले २०, शौरभ खनालले र कृष्ण कार्कीले समान १८–१८ रन बनाए । बलिङमा खुकुरीका धिज शाहीले ३, इखलाख अहम्मदले २ तथा दुर्गेश गुप्ता, साहव आलम र मानबहादुर थापाले १– विकेट लिए । खुकुरीका निश्चल चौधरी म्यान अफ द फाइनल भए । 
प्रतियोगिता भरी ६ विकेट र ९३ रन बनाएका मास्टर्स–११ क्रिकेट क्लबका जितेन्द्र साहनी म्यान अफ द सिरिज घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । यस्तै, १ सय १२ रन बनाएका खुकुरीकै निश्चल चौधरी बेष्ट ब्याट्सम्यान तथा ९ विकेट लिएका तिरुपतिका रुविन क्षेत्री बेष्ट बलर घोषित भए । उनीहरुले समान ५–५ हजार प्राप्त गरे । विजेता खेलाडीहरुलाई सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारी र जिल्ला समन्वय समिति सभापति एकराज विश्वकर्माले पुरस्कार प्रदान गरे ।
पुरस्कार वितरण समारोहमा बोल्दै विश्कर्माले खेल क्षेत्रको विकास नगरपालिकाले चालेको कदम सहारनीय भएको जनाए । उनले खेलले नै राष्ट्रलाई चिनाउने भएकाले नयाँनयाँ खेलाडी उत्पादनमा सरकारले विशेष ध्यान दिनु पर्ने बताए । नगर प्रमुख अधिकारीले सानो प्रयासले भए पनि खेलाडीहरुमा उत्साह थपियोस् खेलाडी उत्पादनमा टेवा पुगोस् भन्ने हेतुले मेयर कम आयोजना गरिएको बताए । नेपाल पत्रकार महासंघका सहसचिव कमल रायमाझीले क्रिकेट क्षेत्रको विकासमा नगरपालिकाले राम्रो कदम चालेको भन्दै खुशी व्यक्त गरे । कार्यक्रम शाखा अधिकृत यादवप्रसाद सापकोटाको संचालनमा भएको थियो । प्रतियोगिता सिद्धार्थनगरको आयोजना तथा रुपन्देही क्रिकेट संघको समन्वयमा भएको हो ।
१८ खेलाडी नगदसहित सम्मानित


सिद्धार्थनगर नरगपालिकाले विभिन्न खेलमार्फत् नगरपालिकाको गरिमा उच्च राख्न सफल भएको भन्दै १८ पूर्व तथा आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण तथा रजत पदक जित्न सफल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरेको छ । 
दोस्रो मेयर कपको समापन समारोहको अवसर पारेर शनिबार खेलाडीहरुलाई नगद, प्रमाण पत्र र खादा लगाएर सम्मान गरिएको हो । सम्मानित हुने खेलाडीमा क्रिकेटबाट क्रमशः जंगबहादुर थापा, धर्मराज गिरी, सत्यजित सरकार, बसन्त शाही, वीरेन्द्रनाथ श्रीवास्तव, विष्णु अधिकारी छन् । यस्तै, फुटबलबाट चन्द्रबहादुर गुरुङ, भोला गुरुङ, कृष्ण गुरुङ, धनबहादुर मल्ल, यम थापा, श्याम राना र मिन थापा छन् ।
यस्तै, तेक्वान्दोबाट सुनिल पौडेल, गौरव बरुण, सिद्धिकी विक्रम शाही, विनोद थापा र अर्जुन क्षेत्री सम्मानति भएका छन् । उनीहरु सबै जनालाई पाँच हजार १ सय नगदसहित प्रमाण पत्र र खादाले सम्मान गरिएको हो । खेलाडीहरुलाई सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारी र जिल्ला समन्वय समिति सभापति एकराज विश्वकर्माले सम्मान प्रदान गरे । सबै खेलाडी सिद्धार्थनगरका हुन् । सम्मानित भएपछि प्रतिक्रिया दिँदै खेलाडीहरुले नगरपालिकाले आफूहरुले राष्ट्रका लागि गरेको योगदानको कदर गरेको भन्दै खुशी व्यक्त गरे ।
 

प्राप्त प्रतिकृयाहरू

To Top