नवनिर्मित 'पृथ्वी हिरण्य माध्यमिक विद्यालय'राष्ट्रपति भण्डारीद्धारा हस्तान्तरण

राजनीति बैशाख २३ २०७६ ekhabarnepal
98989

बागलुङ बैशाख २३,
 राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङको अमलाचौरमा रहेको पृथ्वी हिरण्य माध्यमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गर्नुभएको छ ।

बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरमा आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल र प्रबन्ध निर्देशक हेमराज ढकालले व्यक्तिगत खर्चमा आफ्ना स्वर्गीय बुवाको स्मृतिमा विद्यालयको नयाँ भवनको निर्माण गरिदिनुभएको थियो । राष्ट्रपति भण्डारीले आज एक कार्यक्रमका बीच नवनिर्मित विद्यालय भवन विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गर्नुभएको हो । त्यसअवसरमा राष्ट्रपति भण्डारीले सोही विद्यालयमा अध्ययन गरेको पूर्व विद्यार्थीहरुको संस्था अमलाचौर विद्यालय पूर्व विद्यार्थी संघ आशाको सहयोगमा बनेको अत्याधुनिक मल्टिमिडिया सेन्टरको पनि उद्घाटन गर्नुभएको छ ।


विद्यालय हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आफु जन्मेको ठाउँको विकास गर्न युवा उद्यमी चन्द्र ढकाल र हेमराज ढकालले गरेको सहयोगको प्रशंशा गर्नुभयो । देश विकास र समृद्धिको बाटोमा अघि बढेको बताउँदै भण्डारीले यसलाई जनस्तरबाट समेत साथ र सहयोगको खाँचो रहेको बताउनुभयो । भण्डारीले राज्यका निकाय र सामाजिक क्षेत्रबाट प्राप्त सहयोगको सदुपयोग गर्दै विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार विकासमा स्थानीय तह, विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन कटिवद्ध हुनुपर्ने धारणा राख्नुभयो । परोपकारी संघसंस्था एवं समाजसेवीले शिक्षा र स्वास्थ्यमा गरेको लगानी र सहयोग पुण्य कर्म भएको बताउँदै उहाँले यो कहिल्यै पनि खेर नजाने उल्लेख गर्नुभयो ।


सभालाई सम्बोधन गर्दै पूर्व शिक्षामन्त्री एवं राष्ट्रिय सभामा नेकपा संसदीय दलका नेता दीनानाथ शर्माले आफुहरुको पहलमा स्थापित विद्यालयमा राष्ट्राध्यक्ष आउनु यस क्षेत्रका लागि गौरबको विषय भएको बताउनुभयो । नेता शर्माले निमाविसम्म रहेको विद्यालयलाई मावि बनाउने बेलामा पञ्चायतकालमा आफुले १८ वर्षे शिक्षण पेशालाई नै दाउमा राखेको स्मरण गर्नुभयो । अमलाचौर निवासी शर्मा सोही विद्यालयका पूर्व प्रधानध्यापक समेत हुनुहुन्छ ।नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहनुभएका ढकालका स्वर्गीय बुवाको स्मरणमा स्कुलको नामलाई पृथ्वी हिरण्य माध्यमिक विद्यालय नामाकरण गरिएको हो । १४ कोठे विद्यालय भवन बनाउन ढकाल दाजुभाइले छ करोड १४ लाख रकम खर्चिएका छन् ।


कार्यक्रममा सांसदहरु डा. सूर्य पाठक, मना केसी र देवेन्द्र पौडेल, व्यवसायीद्वय चन्द्र ढकाल, हेमराज ढकाल, अमलाचौर विद्यालय पूर्व विद्यार्थी संघ आशाका अध्यक्ष एवं गैरआवासीय नेपाली संघका सल्लाहकार डा. हेमराज शर्मा, विद्यालयका प्रधानध्यापक प्रेमप्रसाद चागागाईं लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा पूर्व्विद्यार्थी तथा गैरआवासीय नेपालीबाट सङ्कलित रु ५० लाखको अक्षयकोषको चेक राष्ट्रपति भण्डारीको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top