वालुवाटारको जग्गा प्रकरणले ल्याएको तरंग

राजनीति बैशाख १९ २०७६ ekhabarnepal
Dsc05928


डी.आर. घिमिरे
अहिले नेकपाका महासचिव विष्णु पौडेलको वालुवाटार जग्गा प्रकरणले नेपाली राजनीतिमा  तरंग सृजना गरेको छ । नेपालको सवैभन्दा ठूलो सत्तारुढ दलको महासचिव हुनुको कारणले पनि शायद यो विषयले यति धेरै चर्चा पाएको हुनुपर्छ । यो विषयलाई जसरी उछालिएको छ, त्यसभित्र केही कारणहरु हुनुपर्छ भन्ने तर्क पनि अहिले वलियो गरि उठेको छ । 
नेपालका अधिकांश नेताहरु विवादरहित छैनन् । यो वा त्यो कारणले विवादमा आइरहन्छन् । पौडेलको सन्दर्भमा केही तर्क उठेका छन् । पहिलो उनी शक्तिशाली पार्टीका शक्तिशाली महासचिव हुन् । सत्तारुढ दलका शीर्ष नेता हुन् । कुरा यति मात्र हैन उनका धेरै सहकर्मीका कनजरमा उनी असामान्य हिसावले अहिलेको पदमका हुन् । 
दोश्रो वालुवाटार प्रकरणमा साँच्चिकै भ्रष्टाचार भएको हो, अनियमितता भएको हो भने त्यसको छानविन हुनुपर्छ भन्ने कुरामा कुनै शंका छैन । यसो भन्नेहरुमा इमान्दारीता हुन  सक्छ । किनकि उनीहरुको भावनामा कुनै कुत्सित मनसाय छैन । तर, यसको अन्तरनिहित पक्ष के हो भन्ने कुरावाट उनीहरु अनभिज्ञ हुन सक्छन् । त्यसैले तथ्य र प्रमाणले के भन्छ त्यसतर्फनै ध्यान जान जरुरी छ ।  
तेश्रो कतिपयको प्रगतिमा, पद प्राप्तिमा कतिपयलाई औडाह हुन्छ । यसका लागि आफूलाई रचनात्मक ढंगले प्रतिष्पर्धी वनाउने भन्दा पनि त्यो औडाह मेट्न कुनै न कुनै वहाना चाहिएको हुन्छ । हो त्यही वहानास्वरुप यो एजेण्डाको प्रयोग गरिएको हो कि ? हाम्रो सस्कार भनेको अरु कसैको उचाई आफूले प्राप्त गर्नका लागि रचनात्मक ढंगले अँघि वढ्नुभन्दा उसको खुट्टा काटेर वरावरी हुन खोज्नु हो । यो सस्कृतिले पनि केही हदसम्म काम गरेको छ कि ? यस्ता कतिपय प्रश्नहरु पनि संगसंगै उठेका छन् । 
अहिलेसम्म प्राप्त तथ्य अनुसार पौडेलले लिएको जग्गा मोहीको हक लाग्ने जग्गा हो । यदि त्यो कुरा सत्य हो भने त्यसलाई सरकारीकरण गर्नसमेत मिल्दैन । पौडेलको जग्गा २०४९ कात्तिक २५ को निर्णयले माया प्रजापति, मचाबाबु प्रजापतिहँुदै बिक्री भएको र उमाकुमारी ढकाल र माधवी सुवेदी हुदै छैठौं व्यक्तिका रूपमा २०६१ पुस २९ को निर्णयबाट नवीन पौडेल (विष्णु पौडेलका छोरा) को नाममा कायम भएको पाइन्छ । उनले जानेर गरे वा गरेनन् त्यो अलग पाटो हो तर प्रजापतिहरु मोही रहेछन् र यो घडेरीकोे विवरण उनले पटक पटक सार्वजनिक गर्दै आएका छन् । अर्थात् यो लुकेको सम्पत्ति हैन । यस आधारमा यो प्रकरण हात्ति आयो हात्ति आयो फुस्स हुने अवस्था आइसकेको छ ।
पछिल्लो पटक मिडियामा आएका समाचारको अध्ययन गर्दा माथि भनेजजस्तै तेश्रो कारणवाट प्रेरित भएर लेखिएको हो कि भन्ने संकेत गर्दछ । यसो भन्नुका पछाडि केही कारण छन् । जसको संक्षिप्त चर्चा यस आलेखमा गरिनेछ ।
यो विषय जसरी उठ्यो त्यसको वैठान अरु तरिकाले गरिदैछ । सारा विपक्षीहरु एकसाथ  भन्दैछन्– ओली सरकारले प्रधानमन्त्री निवाससमेत छोडेन । तथ्यले भन्दैछ देउवा सरकारले नछोडेको वालुवाटार ओली सरकारले छोड्दैछ । छोडाउँदैछ । 
त्यसैले यो प्रकरणमार्फत् चुनावमा टिकट नपाएको वा पार्टी एकीकरण पश्चात् कुनै पद नपाएको झोंक ब्यक्त गर्ने अर्थात् पुराना रिसइवी पोख्ने, आक्रोस ब्यक्त गर्ने र आफ्ना पिडा ओकल्ने माध्यमको रुपमा प्रयोग गरिएको छ । उनीहरुले सम्झनुपर्ने कुरा के हो भने हरेक विषयलाई उठान गर्ने एउटा समय हुन्छ । समयमा उठाउँदा त्यही विषय न्यायोचित हुन्छ भने समय घर्केपछि उठाउँदा कुत्सित मनसाय प्रकट भएको देखिन्छ । 
अहिले जसरी समाचारको वाढी आएको छ ती “फिल्मी शैलीका”छन् । वालुवाटारको विषयलाई चर्चा गर्नु अन्यथा हैन तर, अन्य विषय जसरी गाँसिदैछ त्यसभित्र अनेकन स्वार्थ समूहले काम गरेको आशंका देखिन्छ । बुटवलको दीपनगरमा अब्यवस्थित वसोवासीलाई पूर्जा दिने क्रममा विष्णु पौडेलले पाएको पूर्जा समाचार वन्ने विषयनै हैन । सुकुम्वासी समस्या समाधान आयोगले यो वा त्यो पार्टीको भनेर हैन, सो ठाउँमा वसोवास गर्ने सवैले पूर्जा पाएका छन् । उनले कुनै समयमा सो स्थानमा घर वनाए र बिक्री गरे भने त्यो कुनै चर्चाको विषय हुन सक्दैन ।
अहिले समाचारका विषय जसरी उठेका छन् तिनको अध्ययन गर्दा यो वा त्यो कोणवाट नेपालको कम्युनिष्ट आन्दोलनलाई निस्तेज गर्ने उद्वेश्य त हैन भन्ने आशंका पनि पैदा भएको छ । अहिले दुई तिहाईको सरकार वनेको अवस्थामा एकपछि अर्को नेतृत्वाई खुइलाएर कम्युनिष्टको तेजोवध गर्ने प्रपंच रचियो भने त्यसलाई अन्यथा लिनु पर्दैन । यसको अर्थ यो घटनाको छानविन हुनुपर्दैन भन्ने हैन, दोषी करार भएमा उन्मुक्ति दिनुपर्छ भन्ने पनि हैन तर, घटनालाई कतातिर मोडिदैछ भन्ने हो । खास गरि विषयलाई गलत ढंगले उछाल्न थालिएकोले यस्तो शंका गर्नुपर्ने अवस्था सृजित हुँदैछ ।
   अहिले कोही कसैलाई प्रयोग गरेर कोही कसैलाई सिध्याउने काम सम्पन्न होला तर हेक्का रहोस् भोलि अर्कोको पालो पनि यसरीनै आउनेछ । त्यसैले सवाल एकजना विष्णु पौडेलको मात्र हैन काल पस्यो भन्ने हो । एक वर्षको वीचमा सरकारले धेरै केही गर्न नसके पनि वलियो जग वसाल्दैछ । यसरीनै सरकारले काम गर्दै गयो भने धेरै लामो समयसम्म कम्युनिष्ट सत्ता रहला कि भनेर देशी विदेशी शक्तिहरु कतै आतंकित त भएका छैनन् ? त्यसैले पौडेलमाथिको आक्रमण सिंगो पार्टीमाथिको हो वा ब्यक्तिमाथिको । प्रश्न खडा भएको छ । यसप्रति पार्टीका अन्य नेताहरुले पनि भोलि आफ्नै पालो आउँदैन भनेर ढुक्क भएर वस्ने अवस्था छैन ।
बालुवाटार प्रकरणलाई जसरी उचालिएको छ त्यसवाट यो अनुमान गर्न सहज वनाएको छ । विषय जहाँवाट उठ्यो त्यो भन्दा धेरै पर पुगेको छ । अर्थात् यो प्रकरण नियोजित हो भन्ने कुरा क्रमसः पुष्टि भइरहेको छ । किनकि जेजति विषय उठ्न सक्थे वा उठ्नु पर्दथ्यो त्यो भन्दा कैयौं गुना वढी अनावश्यक विषय उठेका छन् । प्रश्न के पनि हो भने यो विषय यस अँघि किन उठेन ? अहिले उठिरहँदा आठ अनाको उठ्छ तीसौं रोपनीको उठ्दैन किन ?यो काण्डका नायक शोभाकान्त हुन् कि पौडेल ? पौडेल हुन् भने किन प्रमाणित हुँदैन ? अप्रमाणित कुरालाई पार्टीको महासचिव भएकै कारण यति धेरै प्रताडना सहनु पर्ने हो भने यो आक्रमण कम्युनिष्ट पार्टीप्रति हैन भनेर कसरी नभन्ने ? कम्युनिष्ट पार्टीको नेतृत्वलाई क्रमसः खुइलाउने गरि यो अभियान चालिएको हो भने यसको जवाफ पार्टीले दिने गरि योजना वनाउन आवश्यक छ । 
किन लखेटिदैछ पौडेललाई ?


विष्णु पौडेल साधारण परिवारवाट उठेर अहिलेको उचाई प्राप्त गरेका नेता हुन् । उनलाई नातागोता वा अरु कुनै कारणले क्रेन लगाएर कसैले तानेका हैनन् । वरु उनले धेरैलाई क्रेन लगाएर राजकीय ठाउँमा पुर्याए होलान् । उनी आफ्नै परिश्रमले, मेहनतले र निरन्तरको खटाइवाट यो उचाई प्राप्त गरेका हुन् । 
हेक्का राख्नुपर्ने कुरा यो हो कि कुनै पनि नेतृत्व एकै रातमा वन्दैन र विशिष्ट क्षमता नभइकन पनि नेतृत्व स्थापित हुँदैन । कसै कसैले पौडेलसंग कुनै क्षमता नरहेको तर्क पनि गर्छन् तर, त्यसमा पूर्वाग्रहप्रेरित भावना छ । किनकि क्षमताविना अहिलेको प्रतिष्पर्धामा कोही पनि अगाडि आउन सक्दैन । वरु प्रायः क्षमता नहुनेहरुले क्षमतासंग प्रतिष्पर्धा गर्दा नसकिने भएपछि विभिन्न आरोप प्रत्यारोप गर्ने चलन छ । खासमा कोसंग के क्षमता हो भन्ने कुरा पत्ता लगाउन नसक्नु विष्लेषकहरुकै कमजोरी हो । पौडेलसंग रहेको क्षमता भनेको संगठन सञ्चालन हो । ब्यक्तिलाई परिचालन गर्ने कुरामा उनलाई भेटाउने ब्यक्ति थोरैमात्र छन् । प्राय ः नेताहरु समूहमा वा भाषणमार्फत् आफूलाई प्रस्तुत गरेर अब्वल वनेको पाइन्छ । कुनै समय यस्तो पनि थियो । केही गर्न नपर्ने धारा प्रवाह भाषण गर्न सक्ने, विपक्षीलाई गाली गर्न सक्ने वा तर्कमा अब्बल भएपछि नेता हुने समय थियो । समय फेरिएको छ । अहिले काम नगरि कोही नेता वन्न सक्दैन । त्यसमा पनि समाजका, घरका, परिवारका, बाबुका, आमाका, छोराछोरीका सवैका काम गरेर चित्त वुझाउनु सामान्य विषय हैन । सैद्वान्तिक रुपमा यो कुरा गलत होला तर, ब्यवहारमा भइरहेको सत्य यही हो ।
 पौडेल त्यस्ता ब्यक्ति हुन् जसले एक एकजनासंग वार्ता गरेर सवैलाई उत्तिकै चित्त वुझाउन सक्छन् । यो भनेको संगठन चलाउने खुवी हो । एकपटक भेट भएपछि सितिमिति नभुल्ने, उसको नामै लिएर सम्वोधन गर्न सक्ने, हरेकप्रति उत्तरदायी हुन सक्ने विशिष्ट क्षमता छ उनमा । जतिसुकै ब्यस्त भएपनि कसैले मोवाइल गरेपछि तत्क्षण रेस्पोन्स गर्ने र यदि कुनै कारणवस त्यसो गर्न नसके फुर्सदमा कलब्याक गर्ने वानी थोरै नेतामा हुने गुण शायद उनमा छ ।  
त्यस्तै विवादको निरुपण गर्ने असाध्यै उपयोगी कला छ उनीसंग । अर्थात् समन्वय गर्नसक्ने  क्षमतामा उनी अब्बल छन् । सार्वजनिक रुपमा थोरै वोल्ने भएकोले उनी प्रायः विवादमा  आउँदैनन् । महासचिव हुनु अँघि उनको चर्चा वाहिर त्यति हुँदैनथ्यो । पछिल्लो पार्टी एकता प्रकरण देखि विभिन्न पार्टीकावीच सहकार्य गर्दै जाने कुरामा उनले आफूलाई स्थापित गरे । मधेसका केही नेताहरुलाई पार्टीको चुनावचिन्हमा उठाउनेदेखि सरकारको अदली वदलीमा पार्टीलाई केन्द्रमा राखेर अस्तित्व वचाउने काम यीनैले गरेका हुन् । सीके राउतलाई वार्तामा ल्याउने, वार्तालाई निष्कर्षमा पुर्याउने काम यीनैले गरेका हुन् ।  विशिष्ट क्षमता नभइकन ती जिम्मेवारीहरु उनले पूरा गरेका छैनन् । उनी कसैका नातागोता पनि हैनन् जसका कारणले काखी च्यापिएको होस् । दिएको जिम्मेवारी पूरा गरेर आफ्नै मेहनत र पौरखले मात्र उनी सो ठाउँमा पुगेका हुन् ।
 धेरैले थाहा नपाएको क्षमता पनि छ उनमा । गत निर्वाचनको समयमा घोषणापत्र तयार गर्ने सन्दर्भमा पौडेलसंग थोरै सहकार्य गर्ने अवसर मलाई प्राप्त भएको थियो । नगर र संसदीय दुवै पटक घोषणापत्र तयार गर्ने समूहमा म संलग्न भएको कारणले नेतृत्वसंग छलफल र मस्यौदा लेखनमा सहभागी भएको थिएं । त्यो पटक मैले पहिलोपटक थाहा पाएको थिएं कि उनको लेखन र सम्पादनमा त्यति धेरै दक्षता रहेछ । धेरै वर्षदेखि समाचारको सम्पादनमा आफूलाई दखल सम्झने गरेको कारणले पनि मैले यो काम त्यति कठिन मानेको थिइन । तर, शब्द शब्दमा खेल्ने विरलै नेतामा हुने गुण रहेछ पौडेलमा । हरेक शब्दको अर्थ खोज्ने र त्यसको औचित्य पुष्टि भएपछि मात्र त्यसलाई समावेश गर्ने अचम्मैको स्वभाव उनमा रहेछ । 
अहिले ललितानिवास प्रकरणले पौडेलको ख्यातिमा कस्तो असर पर्ला भनेर विभिन्न तर्कहरु गरिएको छ । एउटा लखेट्ने पक्षमा छ । यही मौकामा उनको हुर्मत काडेर एउटा सिंढी भएपनि चढ्न चाहन्छ । पौडेलको उचाई अप्राकृतिक ढंगले वढेकोले त्यसलाई निमोठ्नु पर्छ भन्छ । अर्को जे कुरा परिदृश्यमा आएको छ त्यो गलत हो । उनी यति सानो कुरामा लोभिएर आफ्नो ख्यातिलाई दाउमा राख्ने ब्यक्ति हैनन् भन्ने कुरामा विश्वास गर्छ । 
रुपन्देहीको राजनीतिक इतिहासमा जनस्तरवाट लोकप्रियताको शिखरमा पुग्न सजिलो छैन । जनताका काम नगरिकन त्यस्तो अपेक्षा गर्न सकिदैन । अहिलेको अवस्थामा विभिन्न प्रकृति, स्वभाव र स्वार्थमा रहेका जनतालाई एक्ला एक्लै उपचार गर्नसक्ने कोही छ भने त्यो विष्णु पौडेलनै हो । त्यति मात्र हैन रुपन्देहीको अहिले जुन स्थान वनेको छ त्यो पनि पौडेलकै कारण हो ।
रुपन्देही जिल्ला अहिले देशैभरी चर्चामा छ । विकासको हिसावले सकियो भन्ने हैन । प्रारम्भ सवै कुरामा भएको छ । विकासको मुख्य पक्ष सडक सञ्जाल हो । बुटवल–भैरहवा ६ लेन सडक र वीचवीचमा आकासे पुल अरु शहरमा देख्न सकिदैन । यो सडक वनेपछि पहिलोपटक रुपन्देहीमा आउने जो कोही पनि ट्वाँ परेर हेर्छ । जुँगाको ताउ लगाउँछ र जिव्रो टोक्छ । यो चमत्कार विष्णु पौडेल नभएको भए अहिलेनै आउने थिएन ।
 लुम्विनीलाई जोड्ने आधा दर्जन सडक वनिरहेका छन् । बृहत् लुम्बिनी चक्रपथ आयोजना अन्तर्गत वेथरी, मुर्गिया, रामापुर, वाँसगढी र अमवाको वीचवाट जाने सडकहरुले नयाँ रौनक ल्याएका छन् । वेलवास वेथरी सडक नेपालकै सन्दर्भमा नयाँ मोडल हो । वीचमा नहर वारि पारि एकतर्फी सडक साँच्चिकै पर्यटकलाई मनोरञ्जन दिलाउन सामथर््य राख्ने आकर्षक सडक हो । बुटवल–नुवाकोट शान्ति मार्ग पर्यटकीय मार्गको रुपमा वन्दै छ । यसरी हेर्दा शहर गाउँ सवैतिर ४÷४ लेनका सडक वन्ने भएकाले जग्गाको भाउ असोभनीय ढंगले वढेको छ । अथवा गरिव जग्गा धनीहरु एकैपटक धनी वनेका छन् । 
बृहत्तर लुम्बिनी क्षेत्रअन्तर्गतका रूपन्देही, नवलपरासी र कपिलवस्तु समेटिएको चक्रपथ अर्को महत्वाकांक्षी सडक हो । यसमा बृहत्तर लुम्बिनी क्षेत्रअन्तर्गत रूपन्देही, नवलपरासी र कपिलवस्तु समेटिएको छ । यसमा लुम्बिनीबाट भैरहवा हुँदै रोहिणी खोलाबाट परासीसम्मको ४ लेन सडक जोडिने छ । परासीबाट त्रिवेणी, दुम्कीबास, गैंडाकोट हुँदै पाल्पाको रामपुर जोड्ने छ । रामपुरबाट गुल्मीको रिडी तम्घास हुँदै अर्घाखाचीको सन्धिखर्कमा जोडिनेछ । सन्धिखर्कबाट कपिलवस्तुको गोरुसिंगे, तौलिहवा हुँदै लुम्बिनी जोडिनेछ । यसरी लुम्बिनी र आसपासमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य बोकेको चक्रपथ आयोजनाले लुम्बिनीको मुहार फेर्ने छ । 
अहिले तिनाउ नदीमा एक दर्जन पुलहरु वनेका छन् । यीनै पुलका कारण गाउँ र शहरको दुरी घटेको छ । शायद पौडेल नभएको भए दुइ चारवटा पुल वन्थे होला दर्जन पुग्दैनथे । यो कुरा साचो हो कि करिव चार वर्ष अघिसम्म निर्वाचन क्षेत्रका जनताले मात्र आफ्नो नेता मान्ने गर्दथे । खासगरि गत निर्वाचन यता उनी जिल्लाकै भरोसायोग्य नेता वन्न सकेका छन् ।
लुम्विनीको वृहत् विकास उनी विना सम्भव छैन भन्ने लागेको छ धेरैलाई । गौतमवुद्व अन्तर्राष्ट्रिय विमानस्थल जुन गतिका साथ वनेको छ त्यो गति यत्तिकै भएको हैन । विगतमा लुम्विनीका सांसदहरुको नेतृत्व गरेर उनलेनै अन्तर्राष्ट्रियस्तरको वनाउने पहल गरे । पछि शक्तिमा पुग्दा वजेटको ब्यवस्था गर्न उनकै योगदान छ । यी सवै काम अरु कसैको पहलवाट हुँदैनथे भन्ने हैन तर समय लाग्दथ्यो । यो कामको गुन पनि कसैले भुल्ने अवस्था छैन ।   
अहिले वन्दै गरेको अन्तर्रराष्ट्रिय सभाहल कसैको दिमागमा आएको विषय थिएन । काठमाण्डौलाई माथ गर्नेगरि भब्य अन्तर्रराष्ट्रिय सम्मेलन केन्द्र उनकै महत्वाकांक्षी परियोजना हो । कालीगण्डकी डाइभर्सनको सपना उनले देखेका छन् । यो सपना अरु कसैले पुरा गर्न सक्दैन । उक्त परियोजना सफल भयो भने ५ नं. प्रदेशकै भाग्य चम्कन्छ । यो प्रदेशमा विद्युत उत्पादन गर्ने विकल्प अर्घाखाँचीको नौमुरे र यही डाइभर्सनवाट मात्र सम्भव छ । धेरैलाई थाहा छ उनी कमजोर हुँदा यो परियोजना वन्नेवाला छैन । यो परियोजना नवन्दा यस प्रदेशमा विद्युत आपूर्तिको दीर्घकालिन ब्यवस्था हुन सक्दैन । 
सरकारीस्तरमा २ शय विगाहा क्षेत्रफलमा वन्ने शिक्षण अस्पताल पौडेलको अभावमा सम्भवनै थिएन । उनको अगुवाई नभएको भए वनिहालेपनि २०÷३० विगाहामा वन्न सक्थ्यो होला । उनको सपना पनि अलि वृहत् प्रकारको हुने गरेको छ । उनलाई लाग्यो कि त्यसको पछाडि दिलोज्यान दिएर लाग्ने स्वभावका कारण यस्ता दर्जनौं काम रुपन्देहीले अरुलाई पनि नमुनाको रुपमा देखाउन सकेको छ ।   
 मोतीपुरको ८ सय १४ बिघामा प्रदेशस्तरीय प्रस्तावित औद्योगिक क्षेत्र धेरै ठूलो मानिन्छ । सो ठाउँमा १ सय ५० वटा नयाँ उद्योग निर्माण गर्न सकिने छ । यसले धेरै हदसम्म रोजगारी सृजना गर्नेछ । उक्त जग्गाको द्रुत ब्यवस्थापन, नापजाँच र ब्यवस्थित करिडोर निर्माणमा संघीयताले अधिकार क्षेत्रको विषयले केही ढिला भएपनि जुन स्थानमा आइपुगेको छ, त्यो पौडेलको अभावमा सम्भव थिएन । 
निर्वाचन क्षेत्र, जिल्ला र साविक अञ्चलमा केन्द्रित हुँदा त उनले यतिविधि गरे भने राष्ट्रिय नेता वनिसकेको अवस्थामा अव के गर्लान् ? अहिले यो प्रश्न ५ नं. प्रदेशकै जनताको हो । राजनीति सोझो गतिमा हिड्दैन त्यसैले खुलेर सवैले भन्न सक्दैनन् । भन्न मिल्दैन । सत्य कुरा के हो भने पक्ष विपक्ष सवैका उनी साझा नेता वनेका छन् । वरु यदाकदा उनीमाथि लाग्ने गरेको आरोप के हो भने उनी आफ्नाप्रति भन्दा पराईप्रति किन लहसिन्छन् ? यो उनको कमजोरी हो कि विशेषता भविष्यले वताउला । 
अहिले पार्टीभित्रवाट आएका कतिपय विषयको सुक्ष्म अध्ययन गर्ने हो भने सवैको निष्कर्ष आफू केन्द्रित छ । अर्थात् मैले के पाएँ ? वजारमा आएका प्रतिक्रियाको अध्ययन गर्दा पनि कारणवस पद नपाएका वा जिम्मेवारी नपाएकै ब्यक्तिको वाहुल्य छ । यसको अर्थ उनका कमजोरी छैनन् भन्ने हैन परिवार ठूलो भएपछि आड भरोसा धेरैलाई गर्नुपर्छ । तिनका गुनासाको पनि ब्यवस्थापन गर्नैपर्छ । यसलाई उनले सहजतापूर्वक लिनुपर्छ । रचनात्मक आलोचनालाई आत्मसात गर्नुपर्छ । आलोचना नगिचकोले गर्छ भन्ने वुझ्नुपर्छ । प्रशंसाको पुलिन्दा गाँस्नेवाट सतर्क हुनुपर्छ । शक्तिमा हुँदा पछि लाग्नेको जमात वढ्नु स्वभाविक हो ।  तर उनीहरुको नियतलाई परिक्षण गर्नुपर्छ ।
जहाँसम्म ललितानिवासको प्रकरण हो यसमा माथि उल्लेखित तथ्यका आधारमा भन्न सकिन्छ कि गलत नियतकासाथ यो प्रकरणलाई उपयोग गरिएको छ । पुराना रीस इवी र आक्रोसलाई अभिब्यक्त गर्ने माध्यमका रुपमा यो प्रकरणलाई लिइएको छ  र आत्मकेन्द्रीत भएरनै धेरै विषयलाई उठाइएको छ । त्यस अर्थमा यी अफवाहको आयु धेरै लामो हुने वाला छैन ।  
 
 

प्राप्त प्रतिकृयाहरू

To Top