विश्वविद्यालयको 'थप रणनीति': विदेशबाटै औपचारिक अध्ययन

समाज बैशाख १७ २०७६ ekhabarnepal
34343

काठमाडौं । नेपालमा खुला परीक्षालाई थप उपयोगी बनाउन नेपाल खुला विश्वविद्यालयले विविध रणनीतिका साथ प्रक्रिया अघि बढाएको छ ।

यसअघि अध्ययन र परीक्षा सञ्चालन गरेका संकायसहित संकाय थप गरेर खुला विश्वविद्यालयले बीचमै पढाइ छाडेका, कक्षा लिन र परीक्षा दिन समय नमिलेका विद्यार्थीका लागि शिक्षा प्रदान गर्ने भएको हो । खुला विश्वविद्यालयको शिक्षामा प्राविधिक र व्यवसायिक विषयलाई समावेश गरी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ नेपाल खुला विश्वविद्यालय र नेपाल प्रेस इन्स्टिच्युट आमसञ्चार अध्ययन अर्न्तगत शैक्षिक कार्यक्रम सञ्‍चालन गर्ने सहमति भएको छ ।

“खुला विश्वविद्यालयको शिक्षालाई सरकारले मान्यता दिन्छ कि दिँदैन भन्ने प्रश्न धेरै विद्यार्थीहरुबाट आएको छ । हामी स्पष्ट जवाफ दिन चाहन्छौं । त्रिभुवन विश्वविद्यालयजस्तै खुला विश्वविद्यालयको शिक्षालाई पनि सरकारले मान्यता दिएको छ,” नेपाल खुला विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्माले भने, “नेपाल सरकारले छुट्टै ऐन बनाएर यसलाई नियमन गरिरहेको छ । नेपालमा अहिले यस्तो शिक्षा प्रणाली लोकप्रिय बन्दै गएको अवस्था छ । यसमा सहभागी हुने सबै विद्यार्थीलाई समेट्ने गरी थप कोर्सको डिजाइन र अनलाइन परीक्षा सञ्चालनको पूर्वतयारी भइरहेको छ ।”

उपकुलपति शर्माका अनुसार विविध कारणले प्रत्यक्ष कक्षमा सरिक हुन नपाएका जुनसुकै उमेर समूहका व्यक्तिहरुलाई उनीहरुकै अनुकूल समयमा इन्टरनेटको माध्यमबाट अध्ययन गराइने छ । हाल नेपालभित्रमात्रै प्रदान भइरहेको यस्तो शिक्षा केही वर्षमै विश्वको सुनसुकै देशबाट विद्यार्थीले पढ्न र परीक्षा लेख्न पाउने छन् । यसका लागि सम्बन्धीत देशको राजदुतावासमा गएर आवश्यक कागजपत्र मिलाउनुपर्ने हुन्छ ।

हाल काठमाडौंमा यस विद्यालयको केन्द्रीय कार्यालय र अध्ययन केन्द्र रहेको छ । यस्तै कैलाली, सुर्खेत, कोहलपुर, पोखरा, वीरगञज र इटहरीमा खुला विश्वविद्यालयबारे परामर्श र जानकारी लिन सकिने व्यवस्था मिलाइएको छ ।

“प्रत्येक प्रदेशमा एउटा विद्यालय स्थापना गर्ने हाम्रो लक्ष्य छ,” शर्माले भने । खुला विश्वविद्यालयमा विषयको प्रकृतिअनुसार हप्तामा १ दिन बेलुका ६:३० बाट ३ घण्टा वा दुई दिन डेढ घण्टा अनलाइनबाट विद्यार्थीलाई अध्ययन गराइने छ ।

यस्तै इन्टरनेटको पहुँच भएको स्थानमा डाउनलोड गर्न सकिने गरी वेवमा आधारित अनलाइन सिकाइ व्यवस्थापन प्रणालीमार्फत प्रत्येक विषयको सिकाइ व्यवस्थापन गरिन्छ । यसमा विद्यार्थीले सामाजिकशास्त्र तथा शिक्षा, विज्ञान, स्वास्थ्य तथा प्रविधि, व्यवस्थापन तथा कानून र आमसञ्चार विषय अध्ययन गर्न सक्नेछन् ।

खुला विश्वविद्यालयमा भर्ना हुनका लागि विद्यार्थीले प्लस टु अर्थात विद्यालयीय शिक्षा पुरा गरेको हुनुपर्नेछ । “हाल विश्वका विभिन्न खुला विश्वविद्यालयमा १८ देखि ४५ वर्ष उमेरका ४० प्रतिशत विद्यार्थीहरु अध्ययनरत छन् । हाल विश्वमा ६७ वटा खुला विश्वविद्यालय सञ्चालनमा छन् भने एशियामा मात्रै ४४ वटा विश्वविद्यालय सञ्चालनमा छन्,” उपकुलपति शर्माले भने, “यसरी हेर्दा विश्वमै खुला विश्वविद्यालयको लोकप्रियता बढिरहेको छ । नेपालको सन्दर्भमा पनि खुला विश्वविद्यालयप्रतिको रुचि बढ्दै गएको पाइन्छ ।”

खुला विश्वविद्यालयमा भर्ना अध्ययनका लागि तिर्नुपर्ने मासिक शुल्क त्रिभुवन विश्वविद्यालयकै हाराहारीमा पर्नेछ । विद्यार्थीले अनलाइन बैंकिङमार्फत नेपालका जुनसुकै स्थानबाट रकम बुझाउन सक्नेछन् ।

यसका साथै विद्यार्थीले डिजिटल हस्ताक्षर भएको मार्कसिट अनलाइनमै पाउने छन् ।  “मार्कसिट अनलाइनमै पाइएकाले मार्कसिट नक्कली हुने, बोकेर हिँड्नुपर्ने, च्यातिने, बिग्रिने वा हराउनेजस्ता समस्या रहँदैन,” शर्माले बताए । 

प्राप्त प्रतिकृयाहरू

To Top