एनसेलले तत्काल कर बुझाउन नपर्ने सर्वोच्चको आदेश

समाज बैशाख १२ २०७६ ekhabarnepal
Images cms image 000062808

काठमाडौँ,बैशाख १२
 सर्वोच्च अदालतले एनसेललाई तत्काल कर नबुझाउन अल्पकालीन आदेश दिएको छ।

एनसेललाई ठूला करदाता कार्यालयले कर, जरिवाना र ब्याजसहित साढे ६२ अर्ब जम्मा रकम निर्धारण गरेर वैशाख ३ गते सात दिनभित्र बाँकी ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार चुक्ता गर्न निर्देशन दिएको थियो।

ठूला करदाता कार्यालयको निर्देशनपछि एनसेलले पुँजीगत लाभकर बुझाउने तर ब्याज र जरिवान नबुझाउने भन्दै वैशाख ९ गते दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश वमकुमार श्रेष्ठकको एकल इजलासले कर नबुझाउन अल्पकालीन आदेश दिँदै दुवै पक्षलाई छलफलका लागि बोलाएको हो । एनसेलका तर्फले कानुन अधिकृत रमेश घिमिरे वारेशमाफर्त रिट दायर गरेका हुन्।

अन्तरिम आदेशबारे छलफल गर्न सर्वोच्चले वैशाख २४ गते दुवै पक्षलाई उपस्थित हुन र त्यस बेलासम्म ठूला करदाता कार्यालयको निर्देशन कार्यान्वयन नगर्न निर्देशन दिएको हो।

एनसेलले ठूला करदाता कार्यालयले समयमै कर निर्धारण नगर्दा कति रकम बुझाउने भन्ने निक्र्योल नगर्दा आफूले कर बुझाउन नपाएको जिकिर गरेको छ।

सर्वोच्चले चैत २६ गते एनसेललाई तीन महिनाभित्र पुँजीगत लाभकर बुझाउन आदेश दिएपछि ठूला करदता कार्यालयले ३५ अर्ब ९१ करोड ३४ लाख २६ हजार ५ सय रुपैयाँ कर निर्धारण गरेको थियो।

त्यसमा अहिलेसम्म कर नबुझाएका कारण मुख्य कर अंकमा थप ५० प्रतिशतले हुन आउने १८ अर्ब ३३ करोड ७ लाख ३६ हजार ७२३ रुपैयाँ जरिवाना र ८ अर्ब ३९ करोड ८ लाख १२ हजार ३४२ रुपैयाँ ब्याजसहित साढे ६२ अर्ब चुक्ता गर्न निर्देशन दिएको छ।

एनसेल यसअघि २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय र विलम्ब शुल्क बापत २ अर्ब २ करोड ६२ लाख ३४ हजार ८ सय ५१ रुपैयाँ ठूला करदाता कार्यालयमा बुझाइसकेको छ।

प्राप्त प्रतिकृयाहरू

To Top