श्रीलंकामा संकटकाल घोषणा: राष्ट्रिय शोक मनाइँदै

विश्व बैशाख १० २०७६ ekhabarnepal
77878

श्रीलंकामा अस्ति आइतबार चर्च र होटलहरुमा भएका श्रृंखलावद्ध बम विष्फोटमा मृत्यु हुनेहरुको संख्या बढेर ३१० पुगेको छ । प्रहरीका अनुसार ५ सय जना घाइते छन् ।

यसबीच गएरातिबाट श्रीलंकामा संकटकाल घोषणा गरिएको छ र आज राष्ट्रिय शोक मनाइँदैछ । कोलम्बोको उत्तरी क्षेत्रमा पर्ने नेगोमबोको सेन्ट सेबेस्टिएन चर्चमा मृतकहरुको सामुहिक अन्तिम संस्कार गरिएको छ, जुन आइतबार भएका आक्रमणस्थल मध्येको एक हो । अन्त्येष्टिका क्रममा तीन मिनेटसम्म मौनधारण गरिएको छ ।सरकारी अधिकारीहरुका अनुसार यो आक्रमण कुनै अन्तर्राष्ट्रिय नेटवर्कको मद्दतमा गराइएको छ । सरकारले यो घटनामा स्थानीय जेहादी गुट नेशनल तौहिद जमातको संलग्नता रहेको बताएको छ । यद्यपि कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

यसअघि प्रहरीका अनुसार एक चर्चको बाहिर फेला परेको विष्फोटक पदार्थ निष्कृय पार्ने क्रममा विष्फोट भएको थियो । त्यसपछि शहरका बिभिन्न चर्च र होटलहरुमा विष्फोट भएका थिए ।विष्फोट हुँदैछ भन्ने पूर्व सूचना प्रहरीलाई रहेको भन्दै प्रधानमन्त्री रनिल विक्रमासिंघेले प्रहरी अधिकारीहरुमाथि अनुसन्धान गर्नुपर्ने अभिव्यक्ति दिएका छन् । यसबाट राजनीतिक विवाद बढेको छ । कतिपयले विष्फोटलाई रोक्नका लागि कदम नचालेको भन्दै सरकारमाथि प्रश्न उठाएका छन् ।


श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाका सल्लाहकार शिराल लकथिलाकाले बीबीसीसँग कुरा गर्दै सरकार चुक्यो कि चुकेन भन्ने कुराको अनुसन्धान हुने अभिव्यक्ति दिएका छन् ।त्यसअघि श्रीलंका सरकारका एक वरिष्ठ मन्त्री रजित सेनारत्नेले अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सीले आक्रमणको चेतावनी प्रहरी अधिकारीलाई दिए पनि त्यो सूचना प्रधानमन्त्री विक्रमासिंघेसम्म नपुगेको बताएका थिए । यो घटनापछि सिर्जना भएको वादविवादले श्रीलंकाको राजनीतिमा हंगामा मच्चिएको बीबीसीले लेखेको छ ।


प्रहरीका अनुसार शंकास्पद ४० जना लाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरु सबै श्रीलंकाका नागरिक हुन् । तर, उनीहरुको परिचय खुलाइएको छैन । उनीहरुसँग सोधपुछ जारी छ । तर, आक्रमणमाकसको संलग्नता छ भन्ने कुरा अझै खुलेको छैन ।आक्रमणलगत्तै आइतबार देशभर कर्फ्यू लगाइएको थियो, जसलाई सोमबार बिहान हटाइएको थियो । यद्यपि सामाजिक सन्जालमा भने प्रतिवन्ध कायमै छ ।

प्राप्त प्रतिकृयाहरू

To Top