श्रीलंकामा विष्फोट हुदा २९० जनाको मृत्यु

विश्व बैशाख ९ २०७६ ekhabarnepal
9890890

काठमाडौं वैशाख ९,
श्रीलंकामा भएको श्रृंखलावद्ध विष्फोटमा मृत्यु हुनेको संख्या २९० पुगेको छ । करिब ५ सय जना घाइते भएका छन् ।
इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला आइतबार चर्च र होटलहरुमा श्रृंखलाबद्ध विष्फोट भएका थिए । यो घटनामा विदेशी नागरिकसहित २९० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
आक्रमणलगत्तै श्रीलंकाभर लगाइएको कर्फ्यू सोमबार बिहानबाट हटाइएको छ । यद्यपि, घटनापछि सामाजिक सन्जालमा लगाइएको प्रतिवन्ध भने अझै कायमै छ ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले २४ जनालाई पक्राउ गरेर अनुसन्धान जारी राखेको छ । पक्राउ परेकाहरु सबै श्रीलंकाका नागरिक हुन् । उनीहरुको सम्पर्क अन्तराष्ट्रिय संगठनसँग छ कि छैन भनेर अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ ।
यद्यपि, अझैसम्म आक्रमणको जिम्मा कुनै पनि संगठनले लिएको छैन । केही स्थानमा आत्मघाती बम आक्रमण भएको अनुमान गरिएको छ ।
आक्रमणको विश्वव्यापी रुपमा आलोचना भएको छ । श्रीलंकामा सन् २००९ मा २५ वर्षे लामो गृहयुद्ध सकिएपछि भएको यो सबैभन्दा ठूलो आक्रमण हो ।
प्रधानमन्त्री रनिल विक्रमासिंघेले सम्भावित आक्रमणबारे प्रहरीलाई पूर्वसूचना रहे पनि यसको जानकारी मन्त्रिपरिषदलाई नदिइएको बताएका छन् ।
रक्षामन्त्री आर विजयवर्धनले यसलाई आत्मघाती आक्रमण भनेका छन् । उनले आक्रमणको योजना विदेशमा बनाइएको दाबी गरेका छन् ।
यसैबीच नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति सेरबहादुर देउवाले घटनाप्रति दुःख ब्यक्त गरेका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top