आइपीएल: पन्जावविरुद्धको खेलमा 'सन्दीपको उत्कृष्ट प्रदर्शन'

खेल चैत्र १९ २०७५ ekhabarnepal
66565 sandeep

काठमाडौं चैत १९,
 इन्डियन प्रिमियर लिग (आइपीएल) मा सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स विरुद्धको खेलमा किंग्स इलाभेन पन्जाव विजयी भएको छ ।

सोमबार राति भएको खेलमा दिल्लीलाई १४ रनले हराउँदै पन्जाव विजयी भएको हो । १६७ रनको लक्ष्य पछ्याएको दिल्ली ४ बल बाँकी छँदै १५२ रनमा अल आउट भयो । पञ्जाबका साम कुरानले ह्याट्रिक विकेट लिएपछि दिल्ली पराजित हुन पुग्यो । उनले १८ औं ओभरको अन्तिम बलमा हर्सल पटेललाई बोल्ड आउट गरेका थिए । त्यसपछि २० औं ओभरको पहिलो र दोस्रो बलमा विकेट लिँदै कुरानले ह्याट्रिक पूरा गरेका हुन् । दोस्रो बलमा कासिगो राबडा र तेस्रो बलमा सन्दीप लामिछानेलाई बोल्ड आउट गरेका थिए ।

रनको खाता नखोल्दै पृथ्वी शलाई गुमाएको दिल्लीका लागि शिखर धवन र श्रेयश अय्यरले ६१ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । शिखर ३० रनमा आउट हुँदा श्रेयस २८ रनमा पेभेलियन फर्किए । कोलिन इन्ग्राम र ऋषभ पन्तले उत्कृष्ट पारी खेल्दै टिमलाई जित नजिक पुर्याएका थिए ।

१४४ रनमा चौथो विकेट गुमाएको दिल्लीले बाँकी ८ रन जोड्दा बचेका ६ विकेट खेर फालेको थियो । दिल्लीलाई रोक्न कुरानले ह्याट्रिकसहित चार विकेट लिए भने मोहमद शामीले र रविचन्द्र आश्विनले दुई–दुई विकेट लिए । टस हारेर ब्याटिङको निम्तो पाएको पन्जावले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६६ रन बनायो । उसका लागि डेबिड मिलरले सर्बाधिक ४३, सरफराज खानले ३९, स्याम करनले २०, केएल राहूलले १५ र मन्दीप सिंहले नट आउट २९ रन बनाए ।

बलिङमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २७ रन खर्चिएर महत्वपूर्ण २ विकेट लिए । उनले स्याम करनलाई २० र सरफराज खानलाई ३९ रनमा आउट गरे । यस्तै, क्रिस मोरिसले ४ ओभरमा ३० रन खर्चिएर ३, कागिसो रबाडाले २ विकेट लिए ।

प्राप्त प्रतिकृयाहरू

To Top