इन्धनको ढुवानी 'लागत घटाउन १० वर्षे रणनीति' ल्याउदै नेपाल आयल निगम

अर्थ चैत्र १३ २०७५ रासस
45454

काठमाडौँ चैत  १३,
 नेपाल आयल निगमले इन्धनको ढुवानी लागत घटाउन र पूर्वाधार बढाउन १० वर्षे रणनीति ल्याउने भएको छ ।

निगमको विनियमावलीले १० वर्षे कार्ययोजना बनाउन भनेकाले सोहीअनुसार रणनीति तयार गर्न लागिएको हो ।वार्षिक रु डेढ खर्बभन्दा बढीको कारोवार गर्ने निगमले सूचना प्रविधिको अधिकतम् उपयोग गर्ने विषयसमेत सो रणनीतिमा समावेश गर्ने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

बजारमा इन्धनको खपत बढ्दै गए पनि निगमसँग इन्धन भण्डारण गर्ने क्षमता कम हुँदा आपूर्तिमा सामान्य अवरोध हुँदा इन्धन अभाव हुने अवस्थाको अन्त्यका लागि पूर्वाधार विकास अत्यावश्यक भइसकेको छ । यथास्थितिमा निगम चल्न नसक्ने भएकाले ९० दिनलाई पुग्ने इन्धन भन्डारणस्थल निर्माणका लागि संस्थाले प्रक्रिया अगाडि बढाएको छ । विभिन्न चार ठाउँमा जग्गा खरीद गरे पनि यसको निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन । निगमले पोखरा र विराटनगरमा रहेका डिपोको स्तरोन्नति गर्ने कार्ययोजना बनाएको पनि पौडेलले बताउनुभयो ।

निगमसँग हाल ७१ हजार किलोलिटर भण्डारण क्षमता छ । तर, वार्षिक इन्धन खपत १५ देखि २० प्रतिशतले बढ्दै गएको छ । निगमसँग काठमाडौँ, अमलेखगञ्ज, विराटनगर, जनकपुर, भैरहवा, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी र दिपायलका भण्डारणगृह गरेर ७१ हजार ६२२ किलोलिटर मौज्दात राख्ने क्षमता छ । यी स्थलमा पेट्रोल पाँच हजार १८४ किलोलिटर, डिजेल ४२ हजार ४०० र हवाई इन्धन आठ हजार ४०० किलोलिटर भण्डारण क्षमता छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top