क्यान्सरसँग २० वर्ष लामाे पाैंठेजाेरी

स्वास्थ्य चैत्र १३ २०७५ ekhabarnepal
1

सुरेन कुँवर/रासस

रत्ननगर, चैत  
अर्वुद रोग (क्यान्सर) शब्द सुन्नेबित्तिकै जोकोही डराउँछन्। यसलाई निको नहुने रोगका रुपमा बुझ्ने धेरै भेटिन्छन्। तर, भरतपुर–७ कृष्णपुरका विष्णुप्रसाद पौडेल क्यान्सरसँग जुधेर सहज जिन्दगीमा रमाइरहेका छन्। उनी क्यान्सर सचेतनामा समेत सक्रिय छन्।

सरकारी सेवामा रोगकै कारण उनलाई लामो समय बिदा बस्नु परेन। पौडेल अहिले डिभिजन वन कार्यालय चितवनका प्रमुख छन्। यसअघि उनी नवलपरासी, मकवानपुर, चितवनमा वन अधिकृतका रूपमा कार्यरत थिए।

नवलपरासीबाट छुट्टीका दिन चितवन आइरहने पाैडेललाई सामान्य ज्वराेकाे उपचारका क्रममा क्यान्सर भएकाे पुष्टि भएकाे हाे। 'शुक्रबारको बिदामा घर आउँदा एकपटक निकै ज्वरो आयो', विगत सम्झँदै उनी भन्छन्, "निजी क्लिनिकमा गएँ, सामान्य औषधि लिएर फर्किंए, तर पछिसम्म निको भएन।' सुरुमा उनले धपेडीले बिरामी भएको अनुमान लगाए। पछि पुनः परीक्षण गर्दा ‘रगतमा खराबी छ’ भनेर चिकित्सले भनेपछि चिन्ता बढेको अनुभव सुनाउँछन् उनी।

'ठूलै रोग लागेजस्तो पीडा भयो', पाैडेलले उपचार प्रक्रियाबारे भने, 'नजिकै विपी मेमोरियल क्यान्सर अस्पताल थियो, त्यहीं गएँ। रगत परीक्षण भयो। ल्याबको रिपोर्टले क्यान्सर भएको देखियो। 'बोनम्यारो' नै 'ट्रान्सप्लान्ट' गनुपर्छ भनेर डा दामोदर गजुरेलले सुझाउनुभयो।'

मेडिकल अन्कोलोजीका डा गजुरेलले बेलैमा उपचार गर्न पटक–पटक सर्तक गराए। 'यहाँ ट्रान्सप्लान्टकाे सेवा थिएन, भारत नै जानुपर्ने भयो', पौडेलले भने, 'रोगबारे घरमा समेत भनिनँ, हिम्मत हारिनँ।'

रोग पहिचान भएका बेला उनी ३४ वर्षका थिए। विवाह गरेको ४ वर्ष पुगेको थियो, छोरी थिइन्। घरव्यवहार पनि आफैंले हेर्नुपर्दथ्यो। अरुलाई लुकाए पनि दाइलाई रोगबारे सबै खुलाए पाैडेलले। 'क्यान्सर लाग्यो भन्ने बित्तिकै डराउने समाज थियो, रोग लुकाउन बाध्य भएँ', उनले भने, 'तर, उपचार रोकिन, दुःख गरेरै भए पनि भारत पुगेर उपचार गराएँ।'

भारत जाने बेलामा बल्ल घरपरिवारले थाहा पाए। उनकाे मुम्बईको टाटा अस्पतालमा पुनः परीक्षण भयो। बोनम्यारो ट्रान्सप्लाण्ट परिवारका सदस्यबीच ‘म्याच’ नभएपछि घर फर्किन बाध्य हुनुपर्‍यो। बोनम्यारो नपाए पनि पाैडेल अनलाइनमार्फत औषधिको खोजीमा लागे।

६ महिनाको खोजीपछि उनकाे म्याक्स फाउण्डेशनसँग सम्पर्क स्थापित भयाे। फाउण्डेशनसँग औषधिका लागि फारम भरे। फाउण्डेशनमार्फत सम्पर्क भएकाे ६ महिनापछि मात्रै निःशुल्करुपमा 'ग्लिभेक' भन्ने औषधि आइपुग्यो। पाैडेल भन्छन्, 'नेपालमा पहिलोपटक क्यान्सरको औषधि ग्लिभेक खाने म नै हुँ। नेपालमा किनेर औषधि खानसक्ने अवस्था थिएन।'

त्यसरी संस्थाले ६ महिनासम्म उनको नाममा औषधि पठायो। त्यसपछि सन् २००४ देखि पाटन अस्पतालमै म्याक्सले औषधि पठाउन थाल्यो। अहिले उनले पाटनबाट औषधि लिने गर्छन्। पौडेलले ५ वर्ष ग्लिभेक, २ वर्ष निलोटिनिब, डासाटेनिब हु्ँदै बोसाटेनिब सेवन गरिरहेका छन्।

अहिले उनकाे एक मात्र असुल छ, 'जति खाली बस्नुहुन्छ। खाली दिमागमा सैतानको बास हुन्छ। काम गर्नुस्।'

नवलपरासी, चितवन, हेटौँडा हुँदै चितवनको डिभिजन वन कार्यालयका डिएफओ पौडेल अहिले ५४ वर्ष पुगे। उनकी एक छोरी र श्रीमती छिन्। पाैडेलले जागिरे जीवन थालेका पनि २४ वर्ष पुगिसकेको छ।

उनलाई हेर्दा कसैले पनि रोगी हुन भनेर विश्वास गर्दैनन्। उनी सधैँजसो फिल्डमै जान मन पराउँछन्। भन्छन्, 'निजामती सेवामा ५८ वर्षसम्म सेवा गर्ने प्रवाधन छ, अझै ४ वर्ष देशको सेवामा समर्पित हुन्छु।'

पाैडेलकै अगुवाइमा सन् २००४ देखि फाउण्डेशनले भरतपुरस्थित क्यान्सर अस्पतालमा रक्त र आन्द्रा क्यान्सरका बिरामीलाई ३ प्रकारका औषधि वितरण गर्छ। फाउण्डेशनले ग्लिभेक, निलोटिनिब र डासाटिनिब नामक औषधि उपलब्ध गराउँदै आइरहेको छ। यो औषधि अमेरिकाबाट नेपालका दुई अस्पताल पाटन अस्पताल काठमाडौं र भरतपुरस्थित विपी कोइराला मेमाेरियल क्यान्सर अस्पतालमा आउने गरेको छ।

अस्पतालका अनुसार हाल ६ सय ३० बिरामीले याे सेवा लिइरहेका छन्। पौडेलले हप्ताको एक दिन पाएकाे बिदामा पनि क्यान्सर अस्पताल भरतपुरमा गएर आफूजस्तै बिरामीलाई उत्प्रेरणा दिने गर्छन्। 'औषधिले बीचबीचमा काम गर्न छाड्छ', पौडेल भन्छन्, 'काम गरेन भनेर आत्तिनु पर्दैन। खाइरहको औषधिले काम गरेन भने दोस्रो औषधि आएको छ।'

क्यान्सरका अन्य बिरामीलाई उनले सधैँ भन्ने गर्छन्, 'रोग लाग्यो भनेर निरुत्साहित हुनुपर्दैन। चिकित्सक र अस्पतालको सम्पर्कमा बस्नुस्, औषधि नियमित खानुस्। २० वर्ष होइन ४० वर्ष पनि बाँचिन्छ।'

प्राप्त प्रतिकृयाहरू

To Top