'मुलुकको दीर्घकालीन लक्ष्य भेट्याउन संरचनामै परिवर्तन' गर्नुपर्नेछ

अर्थ चैत्र ११ २०७५ ekhabarnepal
34535

काठमाडौं चैत ११,
सांसदहरूले मुलुकको विकासको लक्ष्य हासिल गर्न नेपालको प्रशासकीय संरचनामै परिवर्तन आवश्यक रहेको बताएका छन् ।

 प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठमा सांसदहरूले राष्ट्रिय योजना आयोगले तयार गरेको दीर्घकालीन सोचसहितको १५औं योजनाको लक्ष्य हासिल गर्न मुलुकको प्रशासकीय संरचनामा परिवर्तन गर्नु आवश्यक रहेको बताएका हुन् ।
बैठकमा सहभागी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना आयोजनाको निरन्तरताले मात्रै आर्थिक विकासको लक्ष्य हासिल गर्न नसकिने बताए । “निश्चित क्षेत्रमा केन्द्रित भएर योजना छनोट, बजेट र उत्पादन र उत्पादकत्वमा वृद्धि गर्नेतर्फ लाग्नुपर्ने देखिन्छ,” उनले भने, “आगामी २५ वर्षभित्र मुलुक विकासशील अवस्थाबाट विकासोन्मुख र मध्यमस्तरीय हुँदै उच्च विकासको अवस्थामा पुग्न ‘टेक अफ’ उडान नगरेसम्म दुई अंकको आर्थिक वृद्धि लक्ष्य हासिल गर्न सकिँदैन ।”

 उनले समाजवाद उन्मुख अर्थतन्त्र भने पनि केही समय राष्ट्रिय औद्योगिक पुँजी निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गरेर मात्रै मुलुकको आर्थिक विकास लक्ष्य हासिल गर्न सकिने बताए । “आर्थिक विकासको पहिलो लक्ष्य कृषिको रूपान्तरण नै भएकाले अवको ध्यान त्यता हुनुपर्छ,” उनले भने । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले समयको ‘मोनिटरिङ भ्यालू’लाई आत्मसात् गर्दै राष्ट्रिय योजना विकास र कार्यान्वयनमा जोड दिनुपर्ने बताए । ‘सबै गर्छु भन्नु केही नगर्नु जस्तै हो । समयको महत्व बुझेर बरु केही विशिष्ट आयोजनालाई मात्रै फोकस गरेर अघि बढ्न सक्यांै भने मात्रै विकास लक्ष्यमा अघि बढ्न सकिन्छ,” उनले भने । उनले योजना आयोग र अर्थ मन्त्रालयबीच छलफल र सामञ्जस्य हुन नसक्दा विगतका केही योजना डकुमेन्टमा मात्रै सीमित भएको पनि बताए ।

सांसद मेटमणि चौधरीले सरकारको वार्षिक बजेट खर्च नहुनु, सरकारी निकायमा भ्रष्टाचार मौलाउनुललागतका कारणले विकासको लक्ष्य हासिल गर्न चुनौती रहको बताए । प्रक्रियामुखी कर्मचारी संयन्त्रलाई भत्काउन क्रमभंग गर्न आवश्यक रहेको भन्दै उनले कर्मचारी व्यवस्थापन गर्ने योजना ल्याउन आयोगलाई सुझाव पनि दिए । राष्ट्रिय योजना आयोगका तर्फबाट १५ योजनाका प्राथमिकता, बजेट र विकासका आधारबारे समितिलाई जानकारी गराइएको थियो । सन् २०३० सम्ममा प्रतिव्यक्ति आय ३१०० र दुई अंकको आर्थिक वृद्धिका रूपमा १५ योजनालाई रूपान्तरणकारी आधार वर्षका रूपमा लिइएको छ । समितिले आयोगका पदाधिकारीसँग १५औँ योजना र आउँदो वर्षको बजेटबारे जानकारी लिएको थियो ।

आयोगले २१०० सालसम्ममा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पु-याउने लक्ष्यका साथ आधारपत्र तयार पारेको छ । सरकारको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्यलाई सार्थक बनाउन आयोगले आगामी २५ वर्षे दीर्घकालीन सोचसहितको पञ्चवर्षीय योजना आउँदो आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउँदै छ ।

प्राप्त प्रतिकृयाहरू

To Top