प्रधानमन्त्री ओली आज रुपन्देहीमा:मुख्यमन्त्री पोखरेल सहित मन्त्रीहरुद्धारा स्वागत

राजनीति चैत्र ८ २०७५ ekhabarnepal
887896

बुटवल चैत्र ८ ,
 प्रधानमन्त्री केपी शर्मा ओली आज रुपन्देही आउनु भएको छ ।

तिलोत्तमा नगरपालिकामा स्थापना हुन लागेको बुटवल मेडिकल कलेज पूर्वाधार बिकास आयोजना कार्यालयको उद्घाटन र पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्डको सडक स्तरोन्नति कार्यको शिलान्यास गर्न प्रधानमन्त्री ओली आज बिहान  रुपन्देही आउनु भएको हो  ।प्रधानमन्त्रि ओली भैरहवा बिमानस्थलमा आउदा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहित प्रदेशका मन्त्री तथा नेकपाका नेताहरुले स्वागत गर्नु भएको थियो ।प्रधानमन्त्री ओलीले भैरहवा आएलगत्तै निर्माणाधिन गौतम बुद्ध अन्तरराष्टिय बिमानस्थलको निरीक्षण गर्नु भएको छ । बिमानस्थलको निरीक्षणकाक्रममा उहाले निर्धारित समयमा बिमानस्थलको काम पुरा गर्न निर्देशन दिनुभयो । बिमानस्थल निरीक्षण पश्चात प्रधानमन्त्री ओली तिलोत्तमा आउनु भएको छ।

 

प्रस्तावित मेडिकल कलेजका लागि वडा नं १ र ८ को वन क्षेत्रअन्तर्गतको झण्डै २०० बिघा जमीनको स्वामित्व हस्तान्तरण भइसकेको छ । हाल मासिक ३५ हजार रुपैयाँ भाडा तिर्ने गरी स्थापना भएको कार्यालयमा आयोजना प्रमुखसहित उपसचिव, शाखा अधिकृत, इन्जिनीयर, लेखा अधिकृत, चालक र कार्यालय सहयोगीसहित सातजना कर्मचारीको दरबन्दी रहेको उपसचिव  घिमिरेले बताउनुभयो ।
आयोजनाले मेडिकल कलेज स्थापनाका लागि इआइए, गुरुयोजना निर्माण, जग्गा प्राप्तिलगायतका कामहरु गर्नेछ । दुई सय बिघा जमीनमा कलेज निर्माणमा करीव रु १० अर्ब खर्च लाग्ने पूर्वानुमान गरिएको छ । कम्तीमा ३०० शय्या रहने यस अस्पताललाई तीन वर्षसम्म सञ्चालन ल्याएपछि मात्रै एमबिबिएस तहका विद्यार्थीको भर्ना लिइने छ ।
यस्तै, प्रधानमन्त्री अ‍ेलीबाट बुटवल–नारायणगढ सडकखण्डको स्तरोन्नति गर्ने आयोजनाअन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित बुटवल मण्डप नजीकै शिलान्यास गर्नुहुने कार्यक्रम रहेको छ ।


प्रधानमन्त्री ओलीले आजै शिलान्यास गर्ने बुटवल–नारायणगढ खण्डको सडक स्तरोन्नति आयोजना अन्तर्गत बुटवलदेखि नारायणगढसम्मको ११३ किलोमिटर सडकको स्तरोन्नति आगामी साढे तीन वर्षभित्र सम्पन्न गर्ने गरी काम अघि बढाइएको आयोजनाको पश्चिम खण्ड प्रमुख इन्जिनीयर सुरेश न्यौपानेले जानकारी दिनुभयो । उक्त सडक विस्तार भएपछि यात्रा दूरी अहिलेकोबाट झण्डै आधा घट्ने छ । बुटवलबाट नारायणगढसम्मको दूरी पार गर्न अहिले करीव तीन घण्टा लाग्छ । उक्त सडकको स्तरोन्नति भई चार लेन बनेपछि कम्तीमा १ घण्टा ३० देखि एक घण्टा ५० मिनेटभित्रै छिचोल्न सकिने छ ।


एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण ८५ प्रतिशत र नेपाल सरकारको १५ प्रतिशत लगानीमा झण्डै रु १७ अर्बको लागतमा सडक स्तरोन्नतिको काम हुनेछ । यसका लागि सडक विभागअन्तर्गतको एडिबी सडक निर्देशनालयले सडक स्तरोन्नतिका लागि कम रकम कबोल गर्ने चाइना स्टेट कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरेर काम अघि बढाएको छ ।
बुटवल–नारायणगढ सडक स्तरोन्नतिको काम दुई खण्डमा हुनेछ । पहिलो खण्डमा पूर्वी नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर र दोस्रोमा दाउन्नेदेखि बुटवल राजमार्ग चौराहासम्मको ४८ किलोमिटरको काम हुनेछ । पहिलो खण्डका लागि निर्माण कम्पनीले रु ९ अर्ब १३ करोड रुपैयाँ र दोस्रो खण्डका लागि पनि सोही कम्पनीले रु ७ अर्ब ८६ करोड रुपैयाँको आर्थिक प्रस्ताव गरेअनुसार सम्झौता सम्पन्न भएको इन्जिनीयर न्यौपानेले बताउनुभयो ।सम्झौता मुताबिक बुटवल–नारायणगढ सडकखण्डमा मर्मत सम्भारको काम चार वर्षसम्म ठेक्का लिएको कम्पनीले नै गर्नेछ । यसअघि सडक निर्माण गरेको एक वर्षसम्म मात्रै सडकको मर्मत सम्भार ठेक्का लिएको कम्पनीले गर्ने प्रचलन थियो ।


उक्त सडकखण्डलाई दुई लेनबाट विस्तार गरेर चार लेनको बनाइने छ । सडकको दुई÷दुई लेनको बीचको भाग हरियाली बनाउने गरी योजनाको नक्शाङ्कन गरिएको छ । तीन मिटरको यो भागमा बिरुवा रोपिने छ । विस्तारित सडकको दुईतर्फ ७÷७ मिटरको हुनेछ । एउटा लेन ३।५ मिटरको हुनेछ । उक्त सडकको झण्डै २८ किलोमिटर क्षेत्रमा मानव वस्ती रहेका ठाउँहरुमा सार्वजनिक सवारीलाई यात्रु ओराल्न र चढाउन दिने गरी नक्शाङ्कन गरिएको छ । तर, यसै सडकको दाउन्नेको उकालो र ओरालो रहेको झण्डै १२ किलोमिटर सडकखण्ड भने तीन लेनको मात्रै हुनेछ । तीनमध्ये उकालोतर्फ दुई लेनको हुनेछ भने ओरालोतर्फ जाने सवारीले एक लेन मात्रै प्रयोग गर्न पाउने छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top