खाद्य संस्थानले सहकारी मार्फत खाद्य वस्तु बिक्री वितरण  गर्ने

अर्थ चैत्र ७ २०७५ ekhabarnepal
2

काठमाडौं, चैत्र ७
  नेपाल खाद्य संस्थानले सहकारी मार्फत खाद्य वस्तु बिक्री वितरण गर्ने निर्णय गरेको छ । 
उपभोक्तालाई खाद्य वस्तुको सहज आपूर्तिमा लागि संस्थानले सहकारी संस्था तथा डिलहरुसँगको सहकार्यमा बिक्री वितरण गर्ने निर्णय गरेको हो । 
सहकारी मार्फत खाद्य वस्तु बिक्री वितरण गर्ने निर्देशिका संस्थानको सञ्चालक समितिले स्वीकृत गरेको छ । सोही अनुसार तत्काल संस्थानका डिपो, गोदाम तथा कार्यालयहरुबाट सहकारी मार्फत विभिन्न जिल्लामा सुपथ मूल्यमा खाद्य वस्तु बिक्री वितरणका लागि पसल सञ्चालन गर्ने निर्देशन दिएको छ ।  
सो निर्देशिकामा संस्थानले नै विक्रेता नियुक्त गर्ने, विक्रेता तोकिने सहकारी संस्था नियमानुसार दर्ता, नवीकरण भएको खाद्य वस्तुको बिक्री गर्न अनुमति प्राप्त गरेको हुनुपर्ने, बिक्री मूल्य, विक्रेता कमिसन तथा सहकारीले खाद्य वस्तु बिक्री गर्दा संस्थानले तोकेको मूल्यमा बिक्री गनुपर्ने व्यवस्था गरेको छ । 
 यस्तै, संस्थानले सहकारीलाई पायक पर्ने आफ्ना गोदाम, डिपो तथा कार्यालय मार्फत खाद्य वस्तु उपलब्ध गराउनु पर्ने प्रावधान छ । संस्थानको संरचना पर्याप्त नभएकाले काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा खाद्य वस्तुको सर्भसुलभ आपूर्तिका हुन नसकेको निष्कर्ष सहित संस्थानले यस्तो निर्णय गरेको जनाएको छ । 
मुलुक संघीयतामा गइसकेपछि संस्थानको हालको संरचना र मौजुदा जनशक्तिले उपभोक्तालाई खाद्य वस्तुको सहज रुपमा आपूर्तिमा समस्या भएकाले सहकारी मार्फत खाद्य वस्तु बिक्री वितरण गर्ने निर्णय भएको संस्थानका योजना विभाग प्रमुख एवं सूचना अधिकारी शंकर सापकोटाले बताउनुभयो ।
 खाद्य वस्तु भण्डारण, प्रशोधन तथा प्याकेजिङ, ढुवानी सुरक्षित नहुनु, गुणस्तरीय र दक्ष नहुँदा बिक्री प्रर्वद्धन हुन नसक्नु तथा निजी व्यवसायीसँग प्रतिस्पर्धा गर्न नसक्नु लगायत कारणले संस्थानले खाद्यवस्तु बिक्री वितरण सहकारी मार्फत गर्ने निर्णय गरेको जनाएको छ । खाद्य वस्तु खरिद गरी दुर्गम जिल्लामा समयमै सुपथ मूल्यमा बिक्री वितरण तथा ढुवानी गरी संस्थान आत्मनिर्भर हुन सक्ने आवस्था नरहेको संस्थानले जनाएको छ ।   

प्राप्त प्रतिकृयाहरू

To Top